७ पुस २०८१ आइतबार
image/svg+xml
कला

उपन्यासकार क्रान्ति पराजुलीकाे ‘प्रिय स्वप्नद्रष्टा’ को परिचर्चा तथा विमर्श

राजधानीमा उपन्यासकार क्रान्ति पराजुलीकाे उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ को परिचर्चा तथा विमर्श भएकाे छ। अग्रज साहित्यकार माया ठकुरीको अध्यक्षतामा कृतिकाे परिचर्चा तथा विमर्श भएकाे हाे।

कृतिकाे परिचर्चा तथा विमर्श कार्यक्रममा हेम भण्डारीले प्रमुख वक्ताकाे भूमिका निर्वाह गरेका थिए। उपन्यासमा पर्या लेखन, कृषि लेखन र सामाजिक साहित्यको मिश्रण भएको भण्डारीले उल्लेख गरेका थिए। राजनीतिक कुसंगत, राष्ट्रिय स्वाधिनता, सांस्कृतिक विषयहरूको गहन अध्ययनमा केन्द्रित रहेको यो उपन्यासले नेपाली साहित्यको क्षेत्रमा विकसित हुन नसकेको कृषि साहित्यको समेत उजागर गरेको बताए।

नेपाल एक कृषिप्रधान देश भएर धेरै पहिल्यै ‘मकैको खेती’ नामक कृति पछाडि कृषि साहित्यको लेखन कम भएको तर यस कृतिले त्यस विषयलाई उठाएकाले लेखकले औपन्यासिक धर्म निर्वाह गरेको महसुस भएको पनि उनले बताए।

उपन्यास देउमाईझैं सुललित भावमा बगेको, भाषाशिल्पी प्राञ्जल रहेको र बिम्बहरूको यथेष्ट प्रयोग भएकाले उपन्यास पढ्दा उपन्यासले ध्यान केन्द्रित गर्ने उनको धारणा थियो। उनले भने, ‘आदर्श प्रेम बोकेको उपन्यासमा प्रेमलाई उशृंखल रूपमा प्रस्तुत नगरी प्रेमलाई आवरणभित्र सजाइएको छ। समाजवादी यथार्थवादको चित्रलाई विभिन्न रङ्गहरू दिंदै एउटा सुन्दर तस्वीर बनाउने गरेको पाइन्छ। साथै उपन्यासका मुख्य पात्र डिपोषा र पोषित फरकफरक डुङ्गामा चढेर फरकफरक बहानाले खियाउँदै एउटै किनारामा अवतरण हुन खोजेको देखिन्छ। तर, मुख्य पात्र डिपोषा थोरै भाग्यवादी रूपमा प्रस्तुत नभएको भए सुनमा सुगन्ध हुने थियाे।’

लाेकप्रिय युवा कवि उमेश अकिञ्चनले प्रेमको बाछिट्टाले उपन्यास पढिरहँदा आफूलाई भिजाएकाे साथै उपन्यासमा प्रेममा कोही निवृत्त हुन नसक्ने कुरा मनपरेको बताए। उनले धेरै समयपछि पढ्न चाहे जस्तो उपन्यास पढ्न पाएको बताए। उपन्यासको भाषाशिल्प काव्यिक रहेको र पढ्दा कतिबेला सकौं जस्तो गरी कथाले तानेको उनको भनाइ थियो।

कवि तथा अधिवत्ता पेशलकुमार लुइँटेलले उपन्यासमा सपनाको आयतन र आदर्शशिल्पीको दूरी टाढा नभएको, सामाजिक न्यायलाई शक्तिले प्रतिरोध गर्ने क्रममा कथाका पात्रहरूको भूमिका यथोचित भएको बताए।

शब्दको शक्ति बम, बारुद र गोलागठ्ठाभन्दा लाखौं गुणा शक्तिशाली हुन्छन् र यस उपन्यासको शब्दसंरचना पनि उत्कृष्ट र शक्तिशाली छन्। न्याय प्रचलनको सिलसिलामा हुने गरेका विकृत प्रक्रियाहरूलाई लेखनको गोरेटो हुँदै मूलबाटोसम्म ल्याउन लेखक सफल भएको लुइँटेलले व्यक्त गरे।

त्यस्तै साहित्यकार तथा पत्रकार रेणुका भट्टराईले उपन्यासले समस्या मात्र होइन समाधानको बाटो देखाएको कुरा व्यक्त गरेकी थिइन्।

उक्त परिचर्चा तथा विमर्श कार्यक्रममा कवि शान्ता राई र कमला शाक्यले लेखकलाई शुभकामना दिएका थिए।

साहित्यकार रीता खत्रीले उपन्यासका हृदयस्पर्शी केही हरफ वाचन गर्दै कार्यक्रमलाई रोमाञ्चक बनाएकी थिइन्। कार्यक्रममा ललिता दोषी, प्रोल्लास सिन्धुलिय, भैरवी भुगोल, बलराम दाहाल, सविना सिन्धु, राज रजक लगायतको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: १३ आश्विन २०८१ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App