६ पुस २०८१ शनिबार
image/svg+xml
कला

‘सी चिनफिङ’ का समाजवादी सिद्धान्त

पुस्तक

जनगणतन्त्र चीनबाट सन् २०१४ देखि निश्चित समयको अन्तरालमा महŒवपूर्ण ग्रन्थको एउटा खण्ड प्रकाशित हुने गरेको छ। ग्रन्थको नाम हो ‘चीनको शासन व्यवस्था’ अर्थात् ‘दि गभर्नेन्स अफ चाइना’। ग्रन्थमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, पार्टीको केन्द्रीय सैनिक आयोगका अध्यक्ष तथा जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङका लिखित वा बोलिएका रचनाहरू सङ्गृहीत छन्।

उक्त ग्रन्थमा सङ्गृहीत सी चिनफिङको चीनको राजनीति, नयाँ जनवादी क्रान्ति तथा त्यसको समाजवादी रूपान्तरण, चिनियाँ विशेषतायुक्त समाजवादको पहिचान तथा निर्माण, त्यसको निरन्तर सुधार र खुलापनको कार्यान्वयन, चिनियाँ कम्युनिस्ट पार्टीको निर्माण, इतिहास, योगदान, सफलता, असफलता तथा तिनको समीक्षा एवम् वर्तमानमा त्यसका कार्यभारहरू, चिनियाँ जनताको खुसियाली, राष्ट्रिय पुनरुत्थान गर्ने चिनियाँ जनताको सपना साकार पार्ने दायित्वसँग सम्बन्धित रचना छन्। त्यहाँ चीनको विदेश नीति, विश्वको शान्तिपूर्ण विकास र साझा भविष्य भएको मानव समुदायको निर्माणसँग सम्बन्धित रचना छन्।

महासचिव सीबाट प्रस्तुत साझा भविष्य भएको मानव समुदायको निर्माणको लक्ष्य अत्यन्त महत्त्वपूर्ण र भविष्यद्रष्टा सोच भएको सिंगो मानव समाजको विकासलाई डोर्‍याउने लक्ष्य हो। वैश्विक विकासको पहल, वैश्विक सुरक्षा पहल र वैश्विक सभ्यताको पहल उपर्युक्त लक्ष्यप्राप्तिका महत्त्वपूर्ण माध्यम हुन्। यीसम्बन्धी रचनाले यस ग्रन्थमा महत्त्वपूर्ण स्थान पाएका छन्। त्यसमा विश्व–राजनीतिमा दोस्रो शीतयुद्ध, एकपक्षीयता, प्रभुत्ववाद, हस्तक्षेप, सङ्कीर्णता एवं द्वन्द्वविरोधी रचना छन्। त्यसमा विज्ञान तथा प्रविधिको विकास, पर्यावरणको रक्षा, जनता–केन्द्रित हरित–विकास, उच्च गुणस्तरीय विकास, वैश्विक संयोजक सञ्जालको विकास, देश देशको र समग्रमा विश्वकै औद्योेगिकीकरण र मुलुकहरूबीच आपसी साझा लाभका आधारमा सहकार्य गर्ने विषय पक्षधर रचना छन्।

उक्त ग्रन्थमा सङ्गृहीत सी चिनफिङका रचनाहरू सार्विक सिद्धान्तहरूलाई स्थानीयकरण गर्ने र तिनलाई स्थानीय संस्कृतिका राम्रा पक्षसँग जोड्ने प्रकृतिका रचना छन्। चिनियाँ नयाँ जनवादी क्रान्ति र त्यसको समाजवादमा रूपान्तरणको समयमा चीनमा माक्र्सवाद–लेनिनवादको चिनियाँ रूप ‘माओ चतुङ विचारधारा’को विकास र संस्थाकरण भयो। त्यसरी नै चिनियाँ विशेषतासहितको समाजवादको पहिचान र निर्माणको क्रममा तङ स्याओफिङ सिद्धान्त, तीन प्रतिनिधित्वको सिद्धान्त तथा विकासप्रति वैज्ञानिक दृष्टिकोण लिनेजस्ता समाजवाद निर्माणका सिद्धान्तहरू विकसित भए।

२१ औं शताब्दीको दोस्रो दशकदेखि चीन समाजवादी विकासको नयाँ युगमा प्रवेश गरेको छ। यस युगमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको सी चिनफिङ विचारधारा विकसित भएको छ। यसले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणका दुई शतवार्षिकी लक्ष्यहरू अघि सार्दै राष्ट्रिय पुनरुत्थानको चिनियाँ सपना साकार पार्ने अठोट लिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन (अक्टुबर, २०१७) ले यसलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार र संस्थागत गरेको छ। यो विषयसँग सम्बन्धित रचनाहरू पनि सर्वोपरि महत्त्वका साथ यस ग्रन्थमा समेटिएका छन्।

‘चीनको शासन व्यवस्था’ नामक ग्रन्थको पहिलो र दोस्रो खण्ड चीनको राज्य परिषद्को सूचना कार्यालयले तथा तेस्रो र चौथो खण्डचाहिँ चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभाग तथा राज्य परिषद्को सूचना कार्यालयले मिलेर सम्पादन र प्रकाशन गरेका हुन्।

यस ग्रन्थको ‘पहिलो खण्ड’को पहिलो अंग्रेजी संस्करण सन् २०१४ मा पेइचिङबाट प्रकाशित भयो। यसमा नोभेम्बर २०१२ देखि जुन २०१४ सम्मका सी चिनफिङका ७९ वटा लिखित र बोलिएका रचनाहरू उपशीर्षकहरूका आधारमा १८ अध्यायमा व्यवस्थित गरिएका छन्।

‘दोस्रो खण्ड’को पहिलो अंग्रेजी संस्करण सन् २०१७ मा पेइचिङबाट प्रकाशित भयो। यसमा अगस्ट २०१४ देखि सेप्टेम्बर २०१७ सम्मका सी चिनफिङका ९९ वटा लिखित र बोलिएका रचनाहरू उपशीर्षकहरूका आधारमा १७ अध्यायमा व्यवस्थित गरिएका छन्।

‘तेस्रो खण्ड’को पहिलो अंग्रेजी संस्करण सन् २०२० मा पेइचिङबाट प्रकाशित भयो। यसमा अक्टुबर २०१७ देखि जनवरी २०२० सम्मका सी चिनफिङका ९२ वटा लिखित र बोलिएका रचनाहरू उपशीर्षकहरूका आधारमा १९ अध्यायमा व्यवस्थित गरिएका छन्।

‘चौथो खण्ड’को पहिलो अंग्रेजी संस्करण सन् २०२२ मा पेइचिङबाट प्रकाशित भयो। यसमा फरवरी २०२० देखि मई २०२२ सम्मका सी चिनफिङका १०९ वटा लिखित र बोलिएका रचनाहरू उपशीर्षकहरूका आधारमा २१ अध्यायमा व्यवस्थित गरिएका छन्।

पुस्तकले समाजवादी चीनको उदयको ऐतिहासिक प्रक्रिया, संघर्षको गाथा, चालक शक्ति र सही सिद्धान्त, विचारधारा, दर्शन तथा कार्यदिशालाई पस्केको छ। यस प्रकाशनको निरन्तरताले विश्वको दोस्रो आर्थिक शक्ति बनिसकेको र विश्वभरि नै परिवर्तन, समृद्धि निर्माणका साझा प्रयत्नलाई क्रियाशील बनाउने, प्रभुत्ववाद र हस्तक्षेपहरूको विरोध गर्दै विश्वशान्तिको रक्षा गर्ने, प्रकृति तथा पर्यावरणको संरक्षण गर्ने, मानवसेवी उद्देश्यका साथ विज्ञान तथा प्रविधिको विकास गर्ने, बहुध्रुवीयता तथा बहुपक्षीयतामा आधारित नयाँ न्यायपूर्ण विश्व–व्यवस्थाको निर्माण गरिने तथा साझा भविष्य भएको मानव समुदायको निर्माण गरिने सन्देश प्रवाहित गरिरहेको समाजवादी चीनलाई विश्व–जनताबिच परिचित बनाउँदै लानेछ। यसले मानव सभ्यताको निरन्तर विकास र सुन्दर भविष्य निर्माणका सकारात्मक कार्यलाई प्रोत्साहित गर्ने छ। यसले विश्वमा माक्र्सवाद तथा समाजवादको सान्दर्भिकता, अपरिहार्य र समयको गतिसँगै तिनमा आउने गतिशीलता, परिवर्तन र विकासलाई उद्घाटित गर्दै जानेछ।

चिनियाँ कम्युनिस्ट पार्टीले यस अघि पारित गरेको दुई समीक्षात्मक प्रस्ताव हुन् ः (१) चिनियाँ कम्युनिस्ट पार्टीको छैटौं केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकले १९४५ मा पारित गरेको ‘हाम्रो पार्टीको इतिहासमा उठेका निश्चित प्रश्नहरू सम्बन्धी प्रस्ताव’ र (२) पार्टीको १९ औं केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकले सन् १९८१ मा पारित गरेका ‘जनगणतन्त्र चीनको स्थापनापछि हाम्रो पार्टीको इतिहासमा उठेका केही प्रश्नहरूसम्बन्धी प्रस्ताव’ माथि उल्लिखित शीर्षकको विगत एक (सन् १९२१ देखि २०२१ सम्मको) शताब्दीको पार्टी–कार्यहरूको समीक्षा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीद्वारा अनुमोदित प्रस्ताव चाहिँ उस्तै प्रकृतिको तेस्रो प्रस्ताव हो भनी उल्लेख गरिसकिएको छ।

संघर्षद्वारा प्राप्त गरिएका उपलब्धीहरूको कारणले मात्र चिनियाँ कम्युनिस्ट पार्टीले जनताको विपुल समर्थन पाएको होइन भन्दै सीले भन्नुभएको छ, ‘चिनियाँ कम्युनिस्ट पार्टीले निष्कपटतापूर्वक आफ्ना कमजोरीहरूलाई स्विकार्ने, आफैंलाई सुधार्न हिम्मत गर्ने र सधैं आफ्नो प्रगतिशील र स्वस्थ चरित्र कायम राख्ने हुनाले नै यसले जनताबाट समर्थन प्राप्त गर्दै आएको हो। आफ्नो सिर्जनात्मकता, संघटनात्मकता र कार्यक्षमता बढाएका कारणले नै चिनियाँ कम्युनिस्ट पार्टीले माक्र्सवादी राजनीतिक पार्टीका रूपमा आफ्नो चरित्रलाई जोगाउन सकेको हो ।’ (पृष्ठ ३८)

यस रचनाबाट महासचिव सीले कम्युनिस्ट पार्टीले महत्त्वपूर्ण उपलब्धी वा हानी भएपछि विगतका आग्रहहरूबाट मुक्त हुँदै तथ्यहरूबाट सत्य खोज्ने र माक्र्सवादका आधारभूत मान्यताहरूका आधारमा तिनको समीक्षा गर्नुपर्छ, निष्कपटतापूर्व गल्तीहरूलाई सच्याउनुपर्छ, जनभावना, वस्तुस्थिति तथा राजनीतिक परिवेशका आधारमा आगामी कार्यभारलाई निश्चित गर्नुपर्छ भनी जोड दिनुभएको छ।

पार्टीले विगतमा गरेका कामहरूको सही समीक्षा पार्टीलाई वर्तमानका जिम्मेवारीहरूलाई पूरा गर्दै पार्टीको रणनीतिक लक्ष्य प्राप्ति गर्न दीक्षित, उत्साहित र सक्षम बनाउने अत्यन्त महत्त्वपूर्ण सामग्री हो भनी सी चिनफिङले सही समीक्षा एवं इतिहासको निर्माण र तिनको निरन्तर अध्ययन गर्ने विषयमा जोड दिनुभएको छ।

यस्तो गर्ने क्रममा नै नयाँ जनवादी क्रान्तिकालमा माओ चतुङलाई केन्द्रमा राखी चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो पुस्ताको सामूहिक नेतृत्व र माओ चतुङ विचारधाराको स्थापना भएको थियो। यही प्रक्रियाबाट जनगणतन्त्रको स्थापनापछिका कैयौं महत्त्वपूर्ण प्रश्नहरूलाई समाधान गर्ने दोस्रो प्रस्ताव चिनियाँ कम्युनिस्ट पार्टीद्वारा १९८१ मा पारित भयो, चीनमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको ढोका खुल्यो, ‘तङ स्यायोफिङ सिद्धान्त’, ‘तीन प्रतिनिधित्वको सिद्धान्त’ र ‘विकासप्रति वैज्ञानिक दृष्टिकोणको सिद्धान्त’ नामक समाजवादसम्बन्धी चिनियाँ सिद्धान्तहरू निर्माण हुँदै नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादको निर्माण गर्न सी चिनफिङ विचारधाराको विकास भयो, जुन पार्टीमा मार्गदर्शक सिद्धान्तका रूपमा संस्थागत भएको छ। साथै सी चिनफिङलाई केन्द्रमा राखेर नयाँ युगमा पार्टीको सामूहिक नेतृत्वको स्थापना भएको छ।

–मैनाली नेकपा (माले) का महासचिव हुन्। 

प्रकाशित: १२ आश्विन २०८१ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App