नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० कविलाई पुरस्कृत गरिएको छ। प्रमुख अतिथि तथा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवास महाराजगञ्जमा आयोजित एक समारोहबिच बर्दियाका कवि अग्र आवाजको कविता 'माटोको उडान', मकवानपुरका कवि अनिता न्यौपानेको कविता 'अचेल कहाँ हराइरहेका छन्- बच्चाहरू?', नवलपरासीका कवि अन्जान प्रदीपको कविता 'फूलको पोस्टमार्टम', दाङका कवि छविलाल कोपिलाको थारु भाषाको कविता 'पस्नक बास', रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता 'मासन्सिउ छकाल्य', मोरङका कवि रुमानी कुलुङको कविता 'आमाको अनुहार', सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता बगरला दुङाल, सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता 'अर्दु युम प्योक', ललितपुरका कवि शर्मिला दुलालको कविता 'बग्नु एक नियति' र पाँचथरका कवि सुमन सहयात्री योङहाङको 'कविता बिर्सिजानेहरू' शीर्षकका उत्कृष्ट घोषित १० कविलाई जनही ३० हजार रूपैयाँ (अक्षेरुपी तिस हजार) र प्रमाणपत्र समर्पण गरेका थिए।
यस अवसरमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले कविता ज्ञान,अनुभव र अनुभूतिको भण्डारण भएकाले विचार निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताएका थिए। राष्ट्रपति पौडेलले २०२२ सालबाट सुरु भएको राष्ट्रिय कविता महोत्सवमा प्रत्येक वर्ष प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गर्ने प्रतियोगितात्मक स्वरूपलाई परिवर्तन गरेर समावेशी र सहभागितामूलक बनाउँदै विभिन्न मातृभाषाका कवितालाई समेटेर दस कविका उत्कृष्ट दश कवितालाई समान ढङ्गले पुरस्कृत गर्नु भनेको सबै भाषाभाषीको आत्मसम्मानमा बढावा पुगेको बताएका थिए।
समारोहमा राष्ट्रपति पौडेललाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक उपहार प्रदान गरेका थिए। विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय कविता महोत्सवको परम्परालाई बदलेर समावेशी ढङ्गले राष्ट्रिय कविता महोत्सव आयोजना गरेकाले पनि सबै भाषाभाषीका कविहरूको आत्मसम्मान बढेको र ऊर्जा थपिएको बताएका थिए। उनले कविता साहित्यको विशाल अग्रभागमा रहेको अन्तरआत्माको गुञ्जन भएकाले थप सिर्जनशील हुनुपर्नेमा जोड दिएका थिए।
सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले २०२२ सालदेखि एकल भाषाका रूपमा सुरु भएको राष्ट्रिय कविता महोत्सवको ढाँचालाई केही परिवर्तन गरेर नयाँ चिराबाट 'बहुभाषिक राष्ट्रिय कविता महोत्सव' को आयोजना गर्न थालिएको बताएका थिए। सोही लक्ष्य प्राप्तिका दिशामा अगाडि बढ्दै राष्ट्रिय कविता महोत्सवलाई सबैको साझा तथा समावेशी एवं सहभागितामूलक बनाउने हेतुले परम्परागत प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गर्ने निर्णय गरेको बताएका थिए।
देशको युगीन परिवर्तन, जनताको चाहना र भाषिक सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय कविता महोत्सव गत वर्षदेखि बहुभाषी बनाएर साँच्चै नै राष्ट्रिय र साँच्चै नै महोत्सवका रूपमा मनाउन सुरु गरेको उल्लेख गरेका थिए।
कुलपति राईले प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितात्मक स्वरूपलाई बदलेर थप सहभागितामूलक बनाउन उत्कृष्ट दशलाई पुरस्कृत गर्ने कार्यको थालनी गरेको बताएका थिए।
प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा' ले स्वागत मन्तव्यका क्रममा राष्ट्रिय कविता महोत्सवलाई समावेशी स्वरूप प्रदान गरेपछि झन् सबै मातृभाषाका कविमा काव्यमय वातावरण बनेको बताएका थिए।
प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रम सञ्चालन गर्दै भाषा,साहित्य,संस्कृति, समाजशास्त्र र दर्शन शास्त्रका क्षेत्रमा प्रज्ञाप्रतिष्ठानले महत्त्वपूर्ण कार्य गरिरहेको उल्लेख गर्दै राष्ट्रिय कविता महोत्सवको परम्परागत शैलीलाई फेरबदल गरेर विभिन्न मातृभाषामा रचिएका कविका कवितालाई समेटेर समावेशीमूलक बनाउनुको महत्त्वबारे चर्चा गरेका थिए।
महोत्सवका कार्यक्रम संयोजक, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (पद्य/काव्य ) विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव -२०८१ सम्बन्धी सङ्क्षिप्त प्रतिवेदन उक्त पुरस्कार समर्पण समारोहमा प्रस्तुत गरेका थिए।
प्रतिवेदनका अनुसार नेपालमा अस्तित्वमा रहेका १२४ भन्दा बढी मातृभाषामध्येबाट प्राप्त भएका चार दर्जन जति मातृभाषाका कविताहरू यस पटकको राष्ट्रिय कविता महोत्सवमा समावेश गरिएको थियो।
यसरी राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक या समावेशी बनाइएको थियो। राष्ट्रिय कविता महोत्सव २०८१ मा इमेल र प्रत्यक्ष गरी प्राप्त भएका ८०० कवितामध्ये एकजनाको एक कविता मात्र स्वीकार्ने नियमअनुसार ६०७ कविता दर्ता गरिएको थियो। जसमा ४४ वटा भाषाभाषीका कविता र २१ वटा छन्दकविता समावेश गरिएको थियो।
उक्त कवितालाई कोडिङ गरी मूल्याङ्कन समितिलाई उपलब्ध गराइएकोमा समितिले विभिन्न चरणको मूल्याङ्कन प्रक्रिया पूरा गरी उच्चाङ्कित २५ कविता वाचनका लागि छनोट गरिएको थियो। यिनै वाचित कवितामध्येबाट दश कविका दश कवितालाई उत्कृष्ट घोषित गरिएको थियो।
यस बिचमा प्राज्ञ बस्नेतले कविता कविका लागि सिङ्गो सृष्टि हो अनि जीवन हो। कविताले कुनै पनि युगको प्रतिनिधित्व गर्दछ र युगलाई नयाँ दिशा प्रदान गर्दछ। युगको ज्वलन्त आवाजलाई समसामयिक गतिमा समेटेर विचारको उचाइमा स्थापित गर्न सक्ने कविताले देशको अवस्था नै सुदृढ तुल्याउन सक्छ। पुरस्कार र सम्मानले प्रतिभाको कदर र हौसला बढाउने काम गर्छ, यसले स्रष्टालाई सशक्त र ऊर्जाशील तुल्याउने काम गर्छ। यही अवधारणाअनुरूप नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको बताएका थिए।
प्रकाशित: १० आश्विन २०८१ ११:५१ बिहीबार