मानिसहरूका आचारविचारको शुद्धिका लागि धर्म र संस्कृतिको नाममा सनातन धर्म परम्परामा विभिन्न व्रत–अनुष्ठानहरूको व्याख्या गरिएको छ। तीजको हरितालिका र ऋषिपञ्चमी पर्व पनि शारीरिक स्वस्थता र स्वच्छताका लागि गरिने व्रत-अनुष्ठानमध्येको एक परम्परा हो।
प्रारम्भमा स्त्रीपुरुष दुवैले निरोगी बन्न र पापबाट मुक्ति पाउन यो पर्व मनाउँथे। तर कालान्तरमा महिलाको पर्वका रूपमा यस पर्वलाई मान्यता दिइन थालियो। आफूले सोचेजस्तो श्रीमान् पाउने र उसको लामो आयुको कामनामा हरितालिका तीजको व्रत बस्न थालियो। ऋषिपञ्चमीमा पनि महिलाले आफ्नो मासिक धर्मका बेला जानी नजानी गरेका पाप पखाल्न र देहको शुद्धीकरणका लागि व्रत बस्न र पूजा आराधना गर्न थालियो।
तीज पर्वले नेपाली नारीको आफ्नो धर्म र संस्कृतिप्रतिको अटुट आस्था, धार्मिक विश्वास एवं व्रत परायणप्रतिको समर्पण भावलाई राम्ररी परिभाषित गर्दै आएको छ। दरखाने दिन, तीज र ऋषिपञ्चमी गरी तीन दिन मनाइने नारीहरूको यो विशिष्ट पर्वभित्र अनेकौं किसिमका सामाजिक मूल्यमान्यताका साथै धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक पक्ष एकैसाथ समेटिएका छन्।
हरितालिकाको अघिल्लो रात भाद्र शुक्ल द्वितीयाको दिन पर्ने दर खाने चलन नेपाली नारीले पर्वकै रूपमा मनाउँदै आएका छन्। दर खाने दिनको भोलिपल्ट अर्थात् भदौ शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बस्ने दिन हो। जुन दिन महिलाहरू निराहार व्रत बसी महादेवको पूजा आराधना गर्ने गर्छन्।
यसमा विवाहित महिलाले आफ्नो पुरुषको लामो आयुको कामना गर्छन् भने आविवाहित महिलाले महादेवले पार्वतीलाई गरे जस्तै माया गर्ने वर पाउने कामनाले व्रत बस्छन्। व्रतको दिनमा सौभाग्यवती महिलाहरूले आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय जीवनको कामना गर्दै सोह्र शृङ्गार र गरगहनाहरूले सुसज्जित भई विभिन्न शिव मन्दिरहरूमा गएर पूजा उपासना गर्दै दिदीबहिनी मिली गीत र नृत्यमार्फत् आफ्नो मनको वेदना पोख्छन्। यस दिनलाई केही मात्रामा भए पनि नारी स्वतन्त्रताको दिनका रूपमा लिन सकिन्छ।
ऋषिपञ्चमीको दिन सप्तऋषिहरूको पूजा गरेर मात्र व्रत समाप्त हुन्छ। ऋषिपञ्चमीका दिन बिहानै नदी जलाशयमा गई विशेष स्नान गर्नुपर्ने हुन्छ। वर्षभरिका सबै अशुद्धिहरू हटाउन तीन सय पैंसट्ठी वटा दतिवन लगाउने, पञ्चगव्य आदिले स्नान गर्ने विधान छ। त्यसपछि सप्तर्षिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जमदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरूका साथै साध्वी, अरून्धतीसहितको विशेष पूजा, उपासना व्रत, दर्शन, यजन, पूजन, भजनकीर्तन गरिन्छ। यो दिन गणेश चतुर्थीको भोलिपल्ट पर्ने गर्छ।
ऋषिपञ्चमीमा गरिने यी संस्कारहरूले नारी रजस्वला हुँदा थाहा पाई नपाई हुने छोइछिटोको पाप पखाल्ने काम गर्छ भन्ने मान्यता रहेको छ। यस कुराको पुराणहरूमा पनि चर्चा गरिएको पाइन्छ। इन्द्रराजाबाट गरिएको ब्रह्महत्याको दोष हटाउन त्यहाँबाट झिकी विभिन्न चार स्थान- नदीको पहिलो छाल, जमिनको उँचो टाकुरा पर्वत भाग, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा राखेपछि ती स्थानहरू अपवित्र भएका हुन्।
यसरी ऋषिपूजनद्वारा प्रायश्चित गरिएर पवित्र पारिएका नारीहरू नै वर्षभरका व्रतपूजाहरूका अधिकारी बन्छन् भन्ने मान्यता रहेको छ। यो दिन पनि महिलाहरू सौभाग्यका प्रतीकहरू रातो गुन्युचोली, साडी, पोते, सिन्दूर, टीका, चुरा लगाई सोह्र शृङ्गार गरी आफ्नो अटल सौभाग्यको कामना गर्छन् र भक्तिरसमा डुबेर पूजा अर्चना गर्दै भाका हालीहाली गीतहरू गाउँछन् र नाचेर दिन बिताउँछन्।
यस दिन एक छाक मात्र खाना खान्छन्। खानामा नरोपी उम्रने अन्न सामा, कागुनो, कन्दमूल, कर्कलो आदिको प्रयोग गरिन्छ। ऋषिपञ्चमी व्रत अनुष्ठानले नारीहरूमा छुट्टै तेज वृद्धि हुने, दीर्घायु हुने, निरोगी हुने र पूर्ण सौभाग्यवती हुने कुरालाई धर्मशास्त्रहरूले चर्चा गरेका छन्।
वैज्ञानिक पक्षमा पनि ऋषिपञ्चमीको दिनमा लगाइने दतिवनको प्रयोगले महिलालाई पाठेघरसम्बन्धी रोग लाग्न नदिने र लागेमा पनि यसले धेरै नै फाइदा पुर्याउने कुरा लेखिएको छ। यसबाट कुनै पनि नारी रजस्वला भएपछि गर्नुपर्ने ऋषिपञ्चमीको कुरा महिलाको पाठेघरसँग सम्बन्धित रहेर गरिएको हाम्रा पुर्खाले गरिएको उपचार विधिको एउटमा माध्यम हो भन्न सकिन्छ।
यस हरितालिका तीज अत्यन्त प्राचीन व्रत हो। यस पर्वले श्रीमान्प्रतिको निष्ठा र भक्तिलाई दर्साउनुका साथै श्रीमान्सँग आध्यात्मिक सहकार्य गर्ने शुभ अवसर प्रदान गर्छ। यस व्रतको प्रतापले शिव र पार्वतीबाट वरदान पाई आआफ्नो दाम्पत्य जीवन सुखमय र सफल पार्ने सुअवसर प्राप्त गर्छन् भन्ने मान्यता रहेको छ।
यस अवसरमा महिला र पुरुषले समानरूपले आफ्नो अस्तित्व दर्साउन समभाव देखाउँछन्। महिला पुरुषका लागि निराहार व्रत बस्छन् भने पुरुष घरका सम्पूर्ण कामको जिम्मेवारी आफैंले लिएर उक्त दिन महिलालाई कामको जिम्मेवारीबाट मुक्त गर्छन्। तीजमा श्रीमान् र श्रीमतीको प्रेम गाढा हुन पुग्छ। तीज नारी–पुरुष समताको पर्व हो।
धर्म, संस्कृति र स्वास्थ्यका हिसाबले व्रत लिनु नराम्रो होइन। तर त्यसलाई हाउगुजी बनाउनु चाहीं नराम्रो हो। पतिको आयु बढ्ने विश्वासका साथ पानीसम्म नपिई व्रत बसेर आफ्नो स्वास्थ्य बिगार्नु, तीज व्रत हिन्दु नारीमा अनिवार्यजस्तो भएको हुनाले अशक्त र रोगी महिलाले समेत सकिनसकी व्रत बस्नु, आफूले व्रत बस्न नसक्दा ज्यालामा अर्काे व्यक्तिलाई व्रत बसाउनु, पत्नीले पतिलाई देवता मानेर गोडाको पानी खानु, व्रत बस्ने महिलाले पानी खाएमा पतिको रगत खाएजस्तो हुन्छ जस्ता रूढ मान्यतालाई प्रश्रय दिइरहने हो भने तीज पर्वले नेपाली महिला–पुरुषको सम्बन्धमा आघात पुर्याउने निश्चित छ।
हो, व्रत बस्नुपर्छ। ईश्वरको ध्यान व्रत गर्नु भनेको आफूभित्र सकारात्मक ऊर्जा ग्रहण गर्नु हो। आफ्नो शरीरले सक्ने हिसाबले व्रत चाहे महिलाले बसोस् या पुरुषले बसोस्, उसैका लागि राम्रो हो। श्रीमतीले व्रत बसेर कुनै पनि पुरुष दीर्घायु हुने होइन। जन्ममरण त लेखेर ल्याइसकेको हुन्छ।
यो समाजले समयको अन्तरालमा बनाएको एउटा भ्रम मात्र हो। एउटा कुरा निश्चित हो– घरको कुनै सदस्यको राम्रो भयो भने त्यस परिवारले केही सुखको महसुस गर्छ। त्यही सुखका लागि भगवान्को व्रतआराधना महिलाले गर्नु र त्यसका लागि पुरुषले सहयोग पुर्याउनु तीज पर्वको संस्कार बनेको छ। यसले महिला र पुरुषको प्रेमको आधार पनि खडा गरिदिएको छ।
हिजोआज केही महिला आधुनिकताको नाममा तीजको व्रतलाई पुरुषवादी चिन्तन र सामन्ती पितृसत्तालाई वैधता दिलाउने चाड मान्छन्। यो आफैंमा गलत कुरा हो। महिला र पुरुषबीचको प्रेमलाई एउटा विन्दुसम्म पुर्याउने काम यही तीजपर्वले प्रदान गरेको छ। यो पर्वको वीज विन्दु महिला-पुरुषको प्रेम नै हो।
समय परिवर्तनशील भएकाले समयसापेक्ष सुधार भने हरेक संस्कारमा भित्र्याइनु समयको माग हो। तर पनि व्यवहारमा लागु हुँदै आएका धर्म, संस्कृति र प्रथाहरूलाई भने एकपटक धर्मका कुरा मात्र हुन् भनेर पन्छिनुभन्दा हाम्रा पुर्खाले परम्पराका रूपमा स्विकारेका यस्ता संस्कारहरूभित्र रहेका कुराहरूको वैज्ञानिक तथ्य खोज्नु आजको आवश्यकता हो।
shashithapa221@gmail.com
प्रकाशित: २२ भाद्र २०८१ ०८:४९ शनिबार