१) मुक्तक
यत्रो मान्छेको भिडमा खै किन एक्लै छु,
आफ्नैहरूले नचिनेपछि पक्कै नै बेग्लै छु।
कल्ले खोज्ने पैसा र पावरबिनाको जाबो,
यसैले आफ्नो कहानी आफैं पो लेख्दै छु।
२) मुक्तक
मिठो बोल्नु साथै चिप्लो घस्नु जान्दिनँ हजुर,
नबोल्ने मुर्तिझैं सधैं मौन बस्नु मान्दिनँ हजुर।
विश्वास राख्छु त आफैंमा, दुनियाँको के भर,
अस्तित्व मेटेर उल्काझैं खस्नु ठान्दिनँ हजुर।
३) मुक्तक
चुपचाप आफ्नै रफ्तारमा नदीजस्तै बग्नु मन छ,
छोई दुई किनारलाई पीडा सबै बगाएर लग्नु भन्छ।
यो भिडमा को नै पो छ र आफ्नो सुखदुःख पोख्ने,
पर्दैन बबुरो नै ठान्नु,हार्नु नजान्ने मेरो आफ्नैपन छ।
४) मुक्तक
सन्चो छौं कि बिसन्चो छौं भनेर यहाँ सोध्ने कोही छैन,
भोकै पो छौं कि तिर्खायौ कतै भनी खोज्ने कोही छैन।
दैव, विन्ती छ भनिदे कि यो धर्तीको म त मान्छे नै हैन,
मुसाफिरको पनि त दिल हुन्छ ठान्दै सोच्ने कोही छैन।
५) मुक्तक
हजुर,अनजानैमा कहीं कतै नाता गाँस्नु पर्दोरहेछ,
मुटुभरि व्यथा बोकेर पनि बाहिर हाँस्नु पर्दोरहेछ।
नियतिको खेल हो कि मेरो जीवन कथा नै यस्तो,
अभागीलाई दुख-पीडासँगै सधैं बाँच्नु पर्दोरहेछ।
६) मुक्तक
कता गएका हुन् उनी कसैले सुइँको पायौ कि,
मुख बन्द भने कानमा चै ठेडी रुईको लायौ कि।
खोज्यो यो कवि मनले भावानाको डुङ्गा चढेर,
कि मनमस्तिष्कको ढेरा बिर्सी तुइँको खायौं कि।
७) मुक्तक
यहाँ अनेक बुझी नसक्नु कै खेल खेल्छन्,
कुरा प्रस्टै छन् निर्धाहरूले जेलनेल झेल्छन्।
अचम्म भौवान् बोल्नु र गर्नुमा फरक रहेछ,
गफै गफले जनता पो पिन झैं तेल पेल्छन।
८) मुक्तक
जूनताराहरू सधैंलाई अस्ताई खसेका छन् कि,
हाँसो र खुसी पनि उस्तै मुग्लान पसेका छन् कि।
बोल्दैन केही आफन्तहरू नबोल्नमा के स्वार्थ छ,
सायद मेरो मृत्युको खबर कुरेर बसेका छन् कि।
९) मुक्तक
म जुन धरातलमा उभिएको छु त्यहाँभन्दा तल झर्नु छैन,
बाघको डम्बरु भई डराएर धाकधम्कीमा अन्तै सर्नु छैन।
बरु गुमनाम स्वीकार छ तर कुनै पनि अपमान सहदिनँ,
जे छु ठिक छु, गुलामीको फेरो समाएर चै नदी तर्नु छैन।
१०) मुक्तक
म त जिन्दगीको अर्थ खोज्दै डुलेको मान्छे,
घामपानीमा पहराको फूलझैं फुलेको मान्छे।
बेग्लै छु स्वार्थी दुनियाँमा फरक गुणैले होला,
आखिर मतलबी आफन्तहरूले भुलेको मान्छे।
-विवि याक्खा
प्रकाशित: २० भाद्र २०८१ १४:१४ बिहीबार