१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

प्रज्ञाप्रतिष्ठानमा 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता'बारे बहस

नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य (काव्य/पद्य) विभागले 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता' विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रमको उद्घाटन प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गरेका थिए। उनले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरू एकापसमा भेला भएर सातआठ हजार वर्षदेखि तीज मनाउँदै आएका छन्।

 पितृसत्ताविरुद्ध महिलाहरू तीज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन्। यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्नेमा जोड दिएका थिए। उनले सांस्कृतिक पर्व तीजको मौलिकता दलाल पुँजीवादको प्रभावमा फसेकोमा चिन्ता व्यक्त गरेका थिए।

प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले महिलाहरूको महान् पर्व तीजले नारी बिच एकापसमा भेला भई सुखदुख, अभाव र उत्पीडन व्यक्त गर्ने पर्व नै तीज हो भन्नेमा जोड दिएका थिए। उनले तीजका नाममा देखापरेका अशोभनीय तडकभडकप्रति सबै सजग रहनुपर्ने सुझाव दिएका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतले तीज पुरातन संस्कृति र परम्परामा आधारित भए पनि समयसापेक्ष नवीनशैली देखापरेको बताइन्। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तीज पर्व व्यापक भइसकेको छ। यसको मौलिकता र सांस्कृतिक मूल्य संरक्षण गर्नु हाम्रै दायित्व रहेको उल्लेख गरेकी थिइन्।

उनले तीज यसरी नै मनाउनुपर्छ भन्ने कसैको अधीनमा रहेको छैन। कुनै पनि विसङ्गतिबाट मुक्त हुँदै महिला मुक्तिका लागि तीज पर्वका गीतसङ्गीत प्रस्तुत हुनुपर्नेमा जोड दिएकी थिइन्।

कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा म‌ैनालीले 'बदलिंदो परिवेशमा तीज र तीज गीतको सान्दर्भिकता' विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले तीज र तीज गीतको परिचय, स्वरूप, समावेशीकरण, समाजशास्त्रीय दृष्टिकोण र तीजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रित गरेकी थिइन्।

उनले अवधारणापत्र प्रस्तुत गर्दै 'महिलाको भाषिक आवाज आफ्नै भाषामा बुलन्द बनाउने विषयहरू तीज गीतमा समावेश हुनुपर्छ। तीज गीत जीवनको वास्तविक अर्थ खोज्ने र महिला स्वतन्त्रता, विकास र समृद्धिका लागि चेतना छरी महिला र पुरुषको समान सत्ता निर्माण गर्न सक्ने हुनुपर्छ। जसले महिलालाई हेर्ने हेपाहा दृष्टिकोण र घृणित सामाजिक अपराधले भरिएको कठघराबाट बाहिरी स्वतन्त्र दुनियाँमा ल्याउन सक्नुपर्छ। महिलाले आफ्नै ठाउँ सिर्जना गर्न सक्नुपर्छ। आफ्ना समस्याको पहिचान गरी समाधान गर्न र निर्णय लिन सबल र सक्षम बनाउने खालका तीज गीत प्रयोगमा ल्याउनुपर्छ। यसका लागि आँसु ,रोदन, उत्तेजना र बजारमा बिक्री गर्ने महिलाको शारीरिक सुन्दरता बेच्ने गीत बन्देज हुनुपर्छ।' भन्ने धारणा व्यक्त गरेकी थिइन्।

उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्राडा ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तीज पर्वलाई अब महिलाले मौलिक संस्कृतिप्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताएकी थिइन्।

अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तीज पर्वलाई राम्रोसँग बुझ्नु शिव महापुराण' को अध्ययन गर्नुपर्ने र तिजका नाममा देखापरेका विकृतपक्ष चिन्ताको विषय भएको बताएकी थिइन्।

कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ, प्रभा बराल, देवकी तिमल्सिना र तारा बरालले आआफ्नो जिज्ञासा राखेका थिए। 'योजना तथा कार्यक्रम महाशाखा' प्रमुख लक्ष्मी गौतमले कार्यक्रमको सञ्चालन गरेका थिए।

प्रकाशित: २० भाद्र २०८१ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App