१) मुक्तक
ढुंगे युग नै छ अझै केही भएन सुधार उस्तै छ,
दुख-पीडा उस्तै छ जनतालाई मार उस्तै छ
कत्ति परिवर्तन भयो? सोध्नुहुन्छ प्रदेशी दाइले
गाउँ-समाजको हाल उस्तै छ समाचार उस्तै छ।
२) मुक्तक
वचन लाउने तिम्रो मन दुखाउने तिम्रै आफ्ना हुन्
तिमीलाइ दु:ख दिने रुवाउने तिम्रै आफ्ना हुन्
दु:ख परेको बेला तिम्रो अगाडि कठै भनेर गए पनि
पर पुगेर खुसी हुँदै हाँस्ने रमाउने तिम्रै आफ्ना हुन्।
३) मुक्तक
मेरो वचन अन्यथा नलिनु मुखिया बा भन्नुहुन्छ
सुध्रिरहेको छ घर सम्झिनु मुखिया बा भन्नुहुन्छ
वर्षौदेखिको इज्जत छ गाउँमा प्रिय लेखक भाइ,
म चोर हुँ तर चोर नभनी दिनु मुखिया बा भन्नुहुन्छ।
४) मुक्तक
गीत, संगीत,अभिनयमै भविष्य अडिएको देख्छु
हरेक मिडियाले समाचार सम्पाद लिएको देख्छु
आजभोलि माग पनि निकै बढेको रहेछ बजारमा
विज्ञापनमा समेत तिम्रा फोटोहरू छापिएको देख्छु।
५) मुक्तक
विकृति रोक्न नदिने कपुतको अन्त्य कहिले होला!
भेदभाव अनि यो छुवाछूतको अन्त्य कहिले होला!
नारीलाई छुनु हुन्न महिनावारी भएको बेला भन्ने गर्छन्!
प्रभु रिसाउँछन् भन्ने मन भूतको अन्त्य कहिले होला!
६) मुक्तक
देशबाट सुधार हराएर गयो बेहाल मात्रै बाँकी रह्यो
खडेरी पर्याे सुकिसक्यो पानी ताल मात्रै बाँकी रह्यो
हाम्रो देशमा भ्रष्टाचारी दलालहरूको विगविगी भो
नेपालको ने खाइसक्यो अब पाल मात्रै बाँकी रह्यो।
७) मुक्तक
कसरी जिउ विधुर भएर जीवन रुन मन लाग्छ
यी साना टुहुरा बच्चालाई देखेर झन् रुन मन लाग्छ
बुवा प्रदेश गएका बर्सौ भैसक्यो अत्तोपत्तो छैन
घरमा बुढी आमा बिमारी छन् रुन मन लाग्छ।
८) मुक्तक
हत्याहिंसा बारम्बार बढ्न लागेको देख्छु
ठालु घुसखोरी भ्रष्टाचार बढ्न लागेको देख्छु
दुर्घटना मात्रै हुन थाले दिनहुँ दिन यो देशमा
कारण बेथिति कुसंस्कार बढ्न लागेको देख्छु।
९) मुक्तक
सन्तानको लागि खुसी चाहाने चिन्ता गर्ने आमा मात्रै हुन्
बच्चादेखि ठूलो हुँदासम्म सुवास छर्ने आमा मात्रै हुन्
दुनियाँले त खुट्टा तान्न खेदो खन्नबाहेक केही जान्दैनन्
दुखकष्ट केही नभनी सन्तानकै लागिपर्ने आमा मात्रै हुन।
१०) मुक्तक
म यो खाडीमा बस्न सक्दिन आमाको फौन नआएपछि
एकैचोटि भए पनि म खुसी हुन्छु बाबु भन्दै बोलाएपछि
केही चाहिंदैन मेरो जिन्दगी त्यसै रंगीन भएर आउनेछ
बस आमाको न्यानो माया ममता, सधैं साथ पाएपछि।
पारस भट्ट प्यासी
प्रकाशित: १८ भाद्र २०८१ १३:४३ मंगलबार