अमेरिकाको मेरिल्यान्डमा नेपथ्यसँगै दर्शक झुमेका छन्। आइतवार बेलुकी ‘दी हल एट लाइभ’ को भुइँतलामा आयोजना गरिएको नेपथ्यको कन्सर्टमा अमेरिकीसहितका दर्शक झुमेका हुन्।
कार्यक्रम सुरु भएसँगै अमृत गुरुङले दर्शकलाई झुकेर अभिवादन गरेका थिए।
ब्यान्डका सार्वकालिक हिट गीतहरू ‘भेँडाको ऊन’ र ‘छेक्यो छेक्यो’ जस्ता गीतसँगै कार्यक्रममा नयाँ–पुराना गीतको लस्कर थियो।
कन्सर्ट हेर्न आएका थुप्रै दर्शकले साथमा राष्ट्रिय झन्डा पनि बोकेरै ल्याएका थिए भने ढाकाटोपी अनि भादगाउँले टोपी लगाएर उपस्थित भएका पनि जताततै देखिन्थे।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा अघिल्ला छ वटै कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ लाग्दै छ। ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’ मा सेप्टेम्बर ७ तारिख शनिवारका दिन नेपथ्यको कन्सर्ट आयोजना हुनेछ।
अबको सातौँ कन्सर्टसँगै यसपटकको डेढ महिना लामो नेपथ्यको अमेरिका यात्राले विश्राम लिनेछ।
अमेरिकाका सबै कन्सर्टमा दर्शकले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ।
प्रकाशित: १८ भाद्र २०८१ १०:२७ मंगलबार