डा. दामोदर पुडासैनीको उन्नाइसौं कृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित भएकाे छ। रत्न पुस्तक भण्डार, काठमाडौंले डा. पुडासैनी ‘किशोर’ को उक्त कवितासङ्ग्रह प्रकाशन गरेको हाे।
डा. पुडासैनीले सन् २०२३ मे २० देखि जुलाई २८ सम्म ५३ कविता रचेका थिए। यी सबै कविता अमेरिकी भावभूमि, मिथक र बिम्वमा आधारित भएर वैज्ञानिक विकासको उपलब्धि समेटेर, अमेरिकी समाजको मनोभावना समेटेर र अमेरिका र बाहिरी विश्वको मानसिकता समेटेर रचिएका नवीन ढङ्गका सिर्जनाहरू हुन्। यसबाहेक डा. पुडासैनीले यसअघि पटकपटक अमेरिकाको भ्रमण क्रममा रचेका कृतिहरू प्रकाशनको पर्खाइमा छन्।
उक्त कृतिको प्रकाशन संस्था रत्न पुस्तक भण्डारले भनेको छ, ‘मेन स्ट्रटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहमा संगृहीत कविताहरूले नेपाली काव्य लेखन परम्परामा विलकुल नयाँ मोड ल्याएको छ। यी कविताहरूले जीवन र जगतलाई नयाँ ढङ्गले खोज्न उत्प्रेरित गर्दछन् र नवीनपथतिर अग्रसर बनाउने सूत्रहरू समेत प्राप्त गर्न मद्दत मिल्दछ। यो सङ्ग्रह नेपाली काव्य जगतको नयाँ विषय र नयाँ शैलीको अति उत्तम नमूना भएर नै हामीले प्रकाशमा ल्याएका हौं।’
पश्चिम बङ्गाल युनिभर्सिटी, भारतका प्राडा कृष्ण घतानीले लेखेका छन्, ‘कवि दामोदरको कविताकृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ अहिलेको जल्दोबल्दो युगको प्रतिच्छामा बोकेको विम्व हो।
अमेरिकी कवि वाल्ट हिटमनले रचेका कवितासङ्ग्रह लिभ्स अब ग्रासमाभन्दा डा. पुडासैनीले अझ आधुनिक दृष्टि दिएर विश्व वैभव सम्पन्न अमेरिकाको ऐश्वर्य, शक्ति, सामर्थ्य उजागर गर्न अमेरिकी विम्ब र प्रतीकको आधारमा विश्व मानव जीवनको वास्तविकता एकिन गरेका कविता रच्न सफल छन्। हिटमनका कविताको भाषाबारे इमर्सनले भनेजस्तै कवि दामोदरका कविताको भाषा पनि साधारण मान्छेले बोल्ने भाषा छ।
अझ दामोदरका कविता यति जीवन्त छन्, जसलाई काटे रगत आउँछ। यी कविताहरू आधुनिकोत्तर युगका गतिशीलप्रति कृतिहरू हुन्। अमेरिकी पृष्ठभूमिमा युग यथार्थको यति सजीव रूपाङ्कन सायदै कुनै नेपाली कविले आजसम्म गरेका होलान्। यो कृति डायस्पोरिक जीवनशैलीको सुन्दर प्रतिविम्व हो, प्रतिकृति हो।’
यसैगरी भाषा आयोग नेपालका सदस्य, समालोचक एवं कवि डा. अमर गिरीले यस पुस्तकबारे लेखेका छन्, ‘कवि पुडासैनीका कवितामा आत्मसङ्घर्ष र साधनाको परिणाम नियाल्न सकिन्छ। उनका कविताहरू अन्तर्वस्तु र रूपका दृष्टिले अत्यन्त राम्रा छन्।
अमेरिका बसेर गरिएका अनुभूतिहरूको कलात्मक प्रकाशनका कारण कविताहरू जीवन्त बनेका छन्। अमेरिकामा बस्नेहरूले गर्ने डायस्पोरिक अनुभूति, उनीहरूको पीडा र मनोविज्ञान, उनीहरूको स्वप्न र विरोधाभासको चित्रण पनि पुडासैनीका कवितामा राम्रोसँग गरिएको छ।’
वर्तमान समयमा अमेरिकालाई कर्मभूमि बनाइरहेका प्रसिद्ध कवि एवं लेखक गोविन्द गिरी ‘प्रेरणा’ ले लेखेका छन्, ‘यो कवितासङ्ग्रहले कवि दामोदरलाई ऊर्जाशील कविका रूपमा पुनः प्रमाणित गरेको छ। कवि पुडासैनीले अमेरिका भ्रमणलाई पाइलापाइलामा कविता टेकेर, कविता सोचेर, कविता चिन्तन गरेर र कविता मनन गरेर कवितामय यात्रा बनाउन सफल भएका छन्। अमेरिकी विम्ब, अमेरिकी प्रतीकहरू यी कविताका पानाहरूमा छताछुल्ल देख्न र महसुस गर्न सकिन्छ।’
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे डा. दामोदर पुडासैनी ‘किशोर’ को उन्नाइसौं कृति हो। यसअघि उनका दश कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह र एक दर्शन कृति समेत प्रकाशित भैसकेका छन्।
जीवन र जगतलाई अनुभव र अनुभूतिका माध्यमबाट हेर्न, बुझ्न र विस्तार गर्न सकिने दर्शनलाई आत्मसात् गर्दै रचिएका डा. दामोदर पुडासैनीका सबै कृति आम पाठकको छनौटमा पर्दै आएका छन्।
यसअघि २०७९ सालमा प्रकाशित उनको नियात्रासङ्ग्रह डोल्पो! ओ डोल्पो!! लाई साहित्य संगम मकवानपुरले केही समयअघि ‘वर्षभरिको सर्वोत्कृष्ट कृति पुरस्कार’ प्रदान गरेको थियो। त्यसबाहेक उनका कृतिमध्ये ग्रीष्मको नीलो बतासलाई ‘पवन आलोक नियात्रा पुरस्कार, २०७९’, सहर बिनाको सहरलाई ‘बादलभित्रको घाम सर्वोत्कृष्ट पुरस्कार, २०७५’, नमेटिएका चित्रहरूलाई ‘अन्तर्राष्ट्रिय नेपाली सर्वोत्कृष्ट पुस्तक पुरस्कार, सन् २०१५ र ‘उत्तम शान्ति पुरस्कार, २०७०’ प्राप्त गरेका छन् भने त्यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सयौं सम्मान तथा पुरस्कार पाउन सफल भएका छन्।
उनका २०७२ मा प्रकाशित सिमानाका रङ्ग: सिमानाका तरङ्ग र २०७८ मा प्रकाशित ग्रीष्मको नीलो बतास नियात्रासङ्ग्रहहरू मदन पुरस्कार गुठीबाट प्रकाशित वर्षको सर्वोत्कृष्ट सूचीमा परेका थिए। विभिन्न विश्वविद्यालयका विद्यार्थीले पुडासैनीका कृतिहरूमा आधारित रहेर दर्जनौं शोध पूरा गर्न सफल भएका छन्।
डा. पुडासैनीले लामो समयसम्म नेपाल सरकारको नायव महालेखापरीक्षकको रूपमा कार्य गरे। उनी अडिटिङ विषयमा विधावारिधि (पीएचडी) पूरा गर्ने पहिलो नेपाली पनि हुन्।
डा. दामोदर पुडासैनी ‘किशोर’ को मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे कवितासङ्ग्रह रत्न पुस्तक भण्डार, बागबजार र भुँडीपुराण प्रकाशन, बागबजारमा उपलब्ध भैसकेको छ। चाँडै देशका प्रमुख विक्रेतामार्फत उपलब्ध गराइने कुरा उक्त पुस्तकका प्रमुख वितरक भुँडीपुराण प्रकाशनका कशेव पराजुलीले बताए।
त्यसैगरी प्रकाशक रत्न पुस्तक भण्डारका प्रमुख गोविन्द श्रेष्ठ र सुरेश श्रेष्ठले अमेरिकी परिवेशमा रचिएका कविताहरूको यो सङ्ग्रह विश्वका सबै पाठकको मागअनुसार युरोप र अमेरिकामा समेत उपलब्ध गराइने कुरा बताए।
प्रकाशित: १५ भाद्र २०८१ १४:०० शनिबार