मैले ईश्वरलाई देखेको छैन। मलाई ईश्वरले हात समाएर डोर्याएको पनि मैलै देखेको छैन। म मन्दिर जान्छु गीता महात्म्य, पुराण सुन्छु, भजन कीर्तनमा नाच्छु। भगवान् जुरुक्क उठेर चमत्कार देखाएको पनि देखेको छैन। म कतिचोटि मन्दिर गएँ, मलाई नै थाहा छैन। मैले भगवान्सँग के के मागेँ, के के पाएँ, मलाई नै थाहा छैन। त धेरै मन्दिर आइस् भनेर ईश्वरले आफ्नो रूप देखाएका पनि छैनन्। ईश्वर न तरुनो भएको देखेँ, न बुढो नै भएको।
मलाई राता अबिर लगाएर बसेकाहरू मूर्ति हुन् कि जुनसुकै धर्मका भगवान्, सबै मालिक लाग्छन्। मेरो शिर निहुरिएको हुन्छ, चाहे भगवान्का मूर्तिहरू गल्लीमा बसेका हुन् वा भरिभराउ र सजिसजाउ भएको मन्दिरमा बसेका होऊन्। तर पनि म मौन भाषाबाट ईश्वरलाई सम्झी रहेको हुन्छु। किनकि मेरा पुर्खाले मलाई ईश्वरप्रति आस्था गर्न सिकाएको छ। त्यही आस्थाले मलाई अनुशासित पनि बनाएको छ, माया र प्रेम गर्न सिकाएको छ। म बिहान उठ्छु, ध्यान गर्छु, बत्ती बाल्छु अनि कर्म गर्न सक्ने वर माग्छु। मेरो पुस्ताले मलाई सिकाएको पनि यही नै छ।
पूजा गर्दा बत्ती निभ्यो भने हे भगवान् ! आज अनिष्ट हुनबाट बचाऊ भन्छु। सोही बत्ती चहकिलो भएर बल्यो भने भगवान् ! आज केही राम्रो समाचार पक्कै आउने छ भन्ने सोच्छु। यो ईश्वरप्रतिको आस्था हो मेरो।
म बिथोलिइरहन्छु भगवान् कस्तो छ होला। मैले भगवान्लाई भेटेँ भने के गर्छु होला? खुसी हुन्छु, नाच्छु वा होली खेल्छु। तर म भगवान्लाई कसोरी चिन्न सक्छु? म सोच्छु।
कति जना भन्नुहुन्छ– ढुगा खोज्दा देवता मिल्यो। आज त भगवान् नै फेला पर्यो बाबा! साक्षात् भगवान् नै अगाडि आएजस्तो भयो भन्ने धेरैचोटि सुनेको छु। यस्ता शब्दहरू सायद आफूले चाहेको पाएको कुरा पाएर पनि आएको हुन सक्छ।
म ईश्वरसँग धेरै नजिक छु जस्तो लाग्छ। पूजाकोठामा राखिएका भगवान् मेरो दुःखसुखका साथी हुन्। किनकि म हरेकपल्ट ऊसँग रोएको छु, उसैको नाम गाएको छु। उसलाई साक्षी राखेर नाचेको छु र रिस उठे गाली र गुनासो पनि निकै नै गर्छु।
मेरो साथीलाई न्युरोडमा गाडीले हानेर मारि नै दियो। त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ। एक जना काकीले छोरी बिरामी हुँदा हुँदै दिक्क थिइन। टिचिङ हस्पिटलमा उपचार गराइन्। उनकी छोरी निको भइन्। आज १३ वर्षपछि पनि मेलै भगवान् नै फेला पारेँ, त्यो डाक्टरले मेरी छोरीको रोग नै पन्छाइदियो भन्दै दिनदिनै सम्झिन्छिन्।
आपत्कालीन समयमा आफन्त गुमाएर रुवाबासी गरेकाहरूले भगवान्लाई पत्थर सम्झे, बाँचेकाहरूले मूर्ति सम्झिए। सबैको आआफ्नो अपेक्षा, रुवाइ छ भगवान्प्रति। हामी ससाना कुरामा खुसी हुन्छौं। हामी बाँच्ने ससाना आधार छन्।
कार्यालय, विद्यालय अर्थात् जुनसुकै ठाउँ जाँदा बाटो सहज होस्, जाम नपरोस्, दुर्घटना नहोस्, चाहेको काम सहज होस्, घरमा पुग्दा बत्ती होस्, इन्टरनेट चलेको होस्, मिठो खान पाइयोस्। यस्तै सोच्छौं हामी। आमाबा हाम्रो काम देखेर खुसी होऊन्, आफ्नो सन्तानको सफलताका कथाहरू सुन्ने इच्छा हुन्छ आमाबालाई। भगवान्को आशीर्वाद सधैं रहोस्, हामी यही कामना गरिरहन्छौं।
छोरीहरू राम्रो घरमा परे भने ईश्वरको कृपा राम्रो भयो, गलत घरमा परे भने भाग्य नै नभएको, भगवान्ले पनि रक्षा गर्न सकेन भनिन्छ। अरूका सन्तानले नामदाम कमाएको देख्दा ईश्वरले कति हरेको भनिन्छ।
आफ्ना सन्तानले प्रगति गर्न सकेन भने मेरो त कर्मै यस्तै, भगवान् पनि छ जस्तो लाग्दैन, कति दुःख गर्नु भन्न थाल्छन् सबै। परिणामका लागि अरूले कति मिहिनेत गरेको छ भन्ने चाहिँ हामीले देख्दैनौं ।
कलाले जीवन बाँच्न सिकाउँछ। हामीले मह काढ्न मौरीको पीडा सहनै पर्छ। सिकार गर्न जंगलमा छिर्नैपर्छ। कर्म गर्न नसक्ने अनि घरमै बसेर ईश्वरलाई धिकारेर बसेकासँग दिक्क लाग्छ।
घाटमा जलिरहेको लास देख्दा ‘केही चाहिँदैन भगवान् ! के रहेछ र जिन्दगी’ भन्छौं तर घाटबाट बाहिर आएपछि सबै चिज चाहिन्छ जस्तो लाग्छ। यो मान्छेको स्वभाव नै हो। आर्थिक रूपमा सम्पन्न एक दिदीले भनिन् -भगवान्ले तीन पुस्तालाई सम्पत्ति दिएका छन्। किन मेरा सन्तानले मरिहत्ते गर्नुपर्यो? पुगिहाल्छ। अर्कातर्फ पढाइ पूरा गर्न काठमाडौं छिरेका बच्चाहरू घरभाडा र खान बस्नका लागि ईश्वरसँग जागिर माग्छन्। मान्छेहरू विवेक बेचेर चाहिने नचाहिने अपराध गर्दै हिँड्छन् अनि कस्तो सजाय मैले भोग्नुपर्यो भन्दै ईश्वरसँग गनगन गर्छन्।
एउटै घरका दुई छोरालाई अंशबन्डा गर्दा आमाबाबुले त बराबर नै भाग लगाउँछन् तर एउटालाई चित्त बुझे पनि अर्कालाई नबुझ्न सक्छ। सायद ईश्वरको लीला पनि यही होला।
खोलाको डिलमा बसेर गिट्टी कुट्नेले पनि गास, बास, कपासका लागि मेहनत गरेको छ। महलका व्यापारीले पनि यसैका लागि नै मेहनत गरेका छन्। फरक यत्ति हो कि कोही सुटबुट लगाएर मेहनत गर्छन्, कोही नाङ्गो भएर। म मान्छु भगवान्, तपाईं पनि मान्नुहुन्छ। नास्तिक कोही छैन तर घरमै बसेर कुनै भगवान्ले केही दिँदैनन्।
उनले पनि कर्म खोज्छन्। कर्म खोइ? कर्म मात्र कहाँ हो र, असल कर्म खोइ ? भगवान्सँग कर्म पनि जोडिएको छ। एक दिदीकी छोरीले आत्महत्या गरिन्। उनका उत्तरदायित्व धेरै थिए। वृद्ध भएका बाआमालाई पनि सम्झिनन्। कर्म अधुरो फल पूरा खोजेर कहाँ पाइन्छ?
ईश्वरप्रति सबैको गुनासो हुन्छ। ईश्वरलाई हामीले देखेका नै छैनौं, कल्पनाका भरमा उनीसँग अनेक माग राख्छौं। हामीलाई आस्था र विश्वासले जीवन्त बनाएको छ। जीवनको यात्रा सहज छैन तर यात्रा गर्दै जाँदा सहज हुँदै जान्छ।
हामी विश्वास लिएर डाँडाकाँडा, गल्लीगुफामा रहेका मन्दिरमा पुग्छौं महिनौं लगाएर। धेरै खर्च गर्छौं ईश्वरका नाममा। हुन त आज मान्छेहरू चन्द्रमा पुगे, चन्द्रमामा जग्गा किने भन्छन् तर पनि चन्द्रमासँगको आत्मिक आस्था कायम नै छ। आस्था, विश्वास मनको दरिलो पात्र हो। विश्वास कायम हुनु जरुरी छ तर विश्वासको आडमा मात्र जीवन चल्दैन। कर्म गर्नु अनिवार्य छ।
प्रकाशित: १५ भाद्र २०८१ ११:२६ शनिबार