१) मुक्तक
मलाई मन पर्ने चन्द्रमाकी जून हौ तिमी,
जिन्दगी स्वादिलो बनाउने नुन हौ तिमी।
तिमीलाई बिर्सन कहाँ सक्छु र म प्रिया,
मेरो जीवन सधैं टल्काउने सुन हौ तिमी।
२) मुक्तक
शङ्का गर्नु पर्दैन भनेको मैले मनैले हो,
मनसुनले हरियाली ल्याएको बनैले हो।
जम्मा भयो यसैले गर्दा सौन्दर्य मनमा,
म फुर्किएको त यस्तै सुन्दर धनैले हो।
३) मुक्तक
मिलेन केही बोलेर पनि,
बुझिनन कुरा खोलेर पनि।
नियत नै सफा र स्वच्छ नभए,
के होला र गोडा मोलेर पनि।
४) मुक्तक
मानिसको सबैभन्दा ठुलो हुन्छ है मन,
यसको दाँजोमा सधैं गौण हुन्छ धन।
सबैका मन र मुटु कहाँ मिल्छ र यहाँ,
वाल मतलव छैन जे जस्तो होस तन।
५) मुक्तक
तिमीले नै भने जस्तै मलाई पनि तिमीलाई नै हर्न मन लाग्यो,
खुल्लमखुला दिल खोलेर मायाको चौरमा चर्न मन लाग्यो।
मान्छेको इच्छ्या न हो एउटा पूरा भएपछि अर्को जन्मिन्छ,
हाम्रो निसानीको यहाँ नयाँ बिरुवाको बिउ छर्न मन लाग्यो।
६) मुक्तक
मलाई तिम्रो मुस्कान भए मात्र पुग्छ अरू चाहिन्न,
तिम्रा मुस्कानबाट पाए जति आनन्द अरूबाट पाइन्न।
फूल जस्तै फक्रिन्छेउ तिमी ह्रदय खोलेर हासिदिंदा त,
जस्लाई नि यसै भन्छ नठान्नु अरूका त केही खाइन्न।
प्रकाशित: १० भाद्र २०८१ ०८:१९ सोमबार





