२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

अन्तर विद्यालय ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने

पोखरामा आगामी साता हुने अन्तर स्कुल ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने भएका छन्। प्रतिस्पर्धा पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुनेछ।

धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए। ‘धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,’ उनले भने, ‘तर हाम्रो निर्णायक कमिटिले १९ स्कुललाई मात्र अन्तिम प्रतिश्पर्धामा सहभागिताका लागि छनौट गरेको छ।’

विद्यालयस्तरका कक्षा १२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने उनले बताए । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता आउँदो शुक्रबार शुरु हुँदैछ। प्रतियोगिता शनिबारसम्म चल्नेछ।

संघका अनुसार भदौ १४ गते शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन्। प्रतिश्पर्धी स्कुलका व्याण्डहरुले पहिलो दिन गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्नेछ। उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् ।

फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ। जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए। सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेता लगायतको घोषणा गरिने उनको भनाई छ।

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष टोपबहादुर खत्रीले जानकारी दिए।

प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ। प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए। ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो। यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन्,’ उनले भने।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ। प्रतियोगिताको उपाधि बिजेतालाई प्रथम, द्वितीय र तृतीय गरेर क्रमशः १ लाख ५० हजार र २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए।  

प्रकाशित: ९ भाद्र २०८१ १८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App