हामी धेरै भाग्यमानी जमिन छ नि हाम्रो,
यो जमिनमा सुन फल्छ काम गरे राम्रो।
अलगअलग भूगोलमा बसेका छौं हामी,
भूगोल चिने, उद्यम गरे हुनेछौं नि नामी।
यी पंक्ति म्याग्दीका किसान भूपेन्द्र शर्माका हुन्। दिनभरिको थकानपछि बिस्तारामा पल्टिँदै गर्दा आउने मनका उत्ताल तरंगलाई उनी यसरी भावनामा उतार्छन्। यसरी उतारिएका भावनाभित्र जिन्दगीका यथार्थ जोडिएका छन्।
हिजो वैदेशिक रोजगारीको खोजीमा विदेश पुगेका युवाहरू आज स्वदेशमा उद्यमी बनेका छन्। आज उनीहरूले घरपरिवारलाई मात्रै रोजगारी दिएका छैनन्, बेरोजगारीले थलिएका युवा समुदायलाई पनि नेपालमै रोजगारी दिएर थप गुन लगाइरहेका छन्।
भूपेन्द्रका भावनासँगै जिन्दगीको मेहनत जोडिएको छ। उनी एक दशकभन्दा बढी युएईमा काम गरेर स्वदेश फर्केका हुन्। अहिले उनी एक नमुना उद्यमी भएका छन्। २०६२ सालपछि देश ‘जनयुद्ध’ले आक्रान्त भएका बेला पढाइ बिचमै छाडेर उनी बिदेसिएका थिए।
मुलुकभित्रको अस्थिर अवस्थाले गाउँघरमा बस्न नसक्ने भएपछि बिदेसिनुपर्छ भन्ने मनको चाहनाले उनलाई उता पुर्यायो। आफ्नो पढाइको अवस्था, बुढेसकालका बाबुआमा र परिवारलाई केही गर्ने उद्देश्यले उनी वैदेशिक रोजगारीमा आकर्षित भए।
दुईवर्ष युएई बसेर छुट्टीमा घर फर्किएयता उनी विवाहबन्धनमा बाधिएका थिए। उनमा परिवारको जिम्मेवारी बढ्दै गएको थियो। घरमा नयाँ सदस्यको आगमनसँगै पत्नीको स्टाफ नर्स पढ्ने चाहनाले फेरि भूपेन्द्रलाई पुनः बिदेसिन बाध्य पार्यो। उनले खाडीमुलुकमा पसिना चुहाएर २०६५/६६ सालतिर तीन लाख रूपैयाँभन्दा बढी खर्चेर पत्नीलाई इच्छाएको शिक्षा दिन सफल भए।
‘मैले दुःख गरेर पढाएअनुसार उनी बेनी अस्पतालमा नर्सिङ अफिसर भएर काम गरिरहेकी छिन्,’ उनले भने, ‘त्यसमा म धेरै खुसी र गौरवान्वित भएको छु।’
दुई सन्तानका पिता हुन् उनी। दश वर्ष विदेश बेसेपछि परिवारले घरै फर्किएर केही गरे हुन्छ भन्ने चाहना राखेपछि उनले परिवारको चाहनाअनुरूप नै स्वदेश फर्किए। पैत्रिक सम्पत्तिलाई पहिचान गरेर उनले फलफूल खेती सुरु गरे। उनको त्यो कदम सही साबित भएको छ। अहिले उनी आफू मात्र सन्तुष्ट छैनन्, अरूलाई पनि प्रेरणा दिइरहेका छन्।
बिदेसिनुअघि अग्रजहरूले २०५५ सालमा लगाएका एक सय ५० वटा सुन्तलाका बोट दिए। २०७३ मा स्वदेश फर्किंदा त्यो सबै सुन्तला फाँड्नुपर्ने अवस्था थियो। पुरानो बोटलाई पुनः गोडमेल गरेर अरू चार सय बिरुवा रोपे उनले।
युएईबाट फर्केकै वर्ष खेतीपातीमा रमेका उनको वार्षिक आम्दानी १३ हजार रूपैयाँ मात्र थियो। यसमा उनी दुःखी भएर बसेनन्। थप संघर्ष गर्न उनलाई कठिनाइ भएन। उनले जीवनमा ऊर्जा भरे। त्यसपछि उनको वार्षिक आम्दानी बढ्न थाल्यो। उनको वार्षिक आम्दानी २५ हजार, ५२ हजार, ८० हजार रूपैयाँ हुँदै बढ्यो। चालु आर्थिक वर्ष २०८१-८२ मा चार लाख रूपैयाँभन्दा बढी आम्दानी हुने विश्वास उनको छ।
उनीसँग फलफूलमा सुन्तला मात्रै नभएर कागती सय बोट, बुद्ध माला सय बोट र २० भन्दा बढी पशुचौपाय रहेका छन्। यो सबै उनी एक्लैले धानेका छन्। अति आवश्यक काम परेका बेला मात्र बेरोजगारलाई रोजगारीमा लगाउने गरेका छन्। सुन्तला कागती र बुद्धचित्त माला टिप्नेबेलामा उनी गाउँका युवालाई काम दिन्छन्।
उनको १५ रोपनी जग्गा आबाद छ। जमिन कतै खाली छाडेका छैनन्। ‘म एक्लै संघर्ष गरिरहेको छु। कान्लामा पनि कागती लगाएको छु,’ उनी भन्छन्, ‘कागतीको बोटबाट वर्षमा ५-६ हजार रूपैयाँ आउँछ। अहिले त ड्रागन फल पनि फलेपछि हर्षिछ छु।’
धेरैले कृषिलाई दुःखी पेसा ठान्छन्। यसले उनीजस्ता मेहनती मानिसलाई समस्यामा पारेको छ। खेती गर्नेलाई हेप्ने गरिन्छ। छिमेकमा जागिर खानेको बढ्ता इज्जत छ, कृषि कर्मभन्दा बढी।
निरन्तर मेहनतले उनलाई एक सफल उद्यमी बनाएको छ। तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको हातबाट उनले राष्ट्रिय पुरस्कार पनि पाए। अहिले भने गाउँमा उनको इज्जत पनि बढेको छ। उनले भने, ‘निरन्तर आफ्नो कर्ममा खटे कहीं न कहींबाट देखिने रहेछ।’ परिश्रम गरेपछि जीवनमा फरक पर्ने रहेछ भन्ने उनलाई लागेको छ।
सात वर्षदेखि कृषिमा रमाएका कारण धेरैले रोजगारी पाउन थालेका छन्। यसले समाजमा टेवा र देशको सेवा भएको छ। केही समय विदेशमा अनुभव लिए पनि धेरै वर्ष बाहिर बिताउनुहुन्न भन्ने उनलाई लागेको छ। ‘परिवार र छोराछोरीका लागि विदेशमा कमाइन्छ। आफू टाढा हुँदा छोराछोरी बिग्रिए, उनीहरूको रेखदेख गर्न सकिएन भने विदेशमा दुःख गरेको के काम ? बरू देशकै माटोमा दुःख गर्ने, परिवारसँगै रमाउने त्यही हो आनन्द र सुख,’ भूपेन्द्रले भने।
आफ्नो प्रगतिमा खुसीको आँसु खसाल्ने आमाबाबु नभएकोमा उनी अत्यन्तै भावुक हुन्छन्। ‘यति धेरै मेहनतपछि मैले धेरै कुरा पाएँ तर बुबाआमा मेरो साथमा हुनुहुन्न। आफ्नै माटोमा फल फलाएर राष्ट्रिय सम्मानसहित पुरस्कार पाउँदा उहाँहरूको खुसीको कुनै सीमा हुँदैनथ्यो होला ? आज मैले जे पाएँ, उहाँहरूको आर्शीवादले पाएँ,’ उनी भावुक हुँदै भने।
आफ्नो कर्ममा खुसी भएसँगै भूपेन्द्रसँग केही गुनासो पनि छन्। आफ्नो बेथा तथा दुःखमा मलम लगाएसँगै गुनासो उनले कापीमा लेखेर मेटाएका छन्। कृषि कर्मले भनेजति उपलब्धि नदिनुको कारण यहाँको बिचौलिया प्रणाली पनि हो। काम गर्नेभन्दा बिचौलियाले बढ्ता फाइदा उठाएपछि उनलाई हुनसम्मको दुःख लागेको छ। न उत्पादक न उपभोक्ताले लाभ लिन पाएका छन्।
उद्यमी र उपभोक्ता सधैंभरि मारमा,
बिचौलियाले फाइदा लिन्छ बसेको भरमा।
वर्षभरि काम ग¥यो लाग्ने गर्छ आश,
बिचौलियाले पारिदिन्छ रोडमा हुन्छ बास।
आफूले मरीमरी दुःख गरेर उत्पादनमा आधाभन्दा बढी बिचौलियाको रजाइँ भएको उनको दुखेसो छ। ‘हामीले दुःख गरेको कुनै पनि फल प्रतिकेजी ७० रूपैयाँमा बेच्यौं भने बिचौलियाले १ सय ७० रूपैयाँमा बेच्ने गरेका छन्। बजारसम्म पुग्दा त्यसको मूल्य आकासिन्छ,’ उनले भने, ‘काम गर्ने कालु मकै खाने भालुजस्तै भएको छ। बिचौलियाले गर्दा हामी धेरै मर्कामा छौं।’
कृषकले गरेका उत्पादित वस्तु बरू राज्यले नै किनिदियोस् भन्ने उनको माग छ। यसो गरेमा अझै कृषकलाई निराशापनका दिन होइन, हौसलाका दिन सुरु हुने उनी सुनाउँछन्। आफ्नै कार्यव्यस्ततामा रमाएका उद्यमी भूपेन्द्रको कुनै ठुलो इच्छा छैन। छोरोछोरीलाई राम्रो शिक्षा दिएर स्वदेशमै अब्बल मान्छे बनाउने उनको सोच छ।
‘नेपालका सबै युवा बिदेसिएपछि यहाँका सेवा, सुविधा र अवसरहरू बञ्चित छन्। अबको केही समयपछि कुनै पनि कामका लागि श्रमिक हुँदैनन्,’ उनले भने, ‘यहाँका डाक्टर, नर्स र विभिन्न पेसामा बाँधिएका सबै युवा विदेश जान्छन्। अस्पताल तथा कुनै पनि ठाउँमा सम्बन्धित विशेषज्ञ नहुँदा मान्छेले भने झैं सेवा सुविधा पाउँदैनन्।’ जसले गर्दा छोराछोरीलाई उच्च शिक्षा दिएर स्वदेशमै केही गराउन पाए त्यसैमा खुसी हुने उनको चाहना छ।
उद्यमी भूपेन्द्रजस्तै जुम्लाका टक्कबहादुर नेपाली वैदेशिक रोजगारीका क्रममा २०६३ मा मलेसिया पुगेर स्वदेश फर्की उद्यमी बनेका छन्। उनको कथा पनि भूपेन्द्रका जस्तै छ।
कृषि औजारका नाममा जुम्लाका कृषकसँग धेरै पुरानो हलो, कोदालो र हँसिया छ। मार्सी धान, स्याउ ओखर उत्पादनका लागि उर्भरभूमि हुँदाहुँदै पनि वैदेशिक रोजगारीका निम्ति विभिन्न देश जानुपर्ने नियतिले अझै च्यापेको छ। कारण, परम्परागत खेती प्रविधि। ‘मानो छरेर मुरी फल्ने’ खेतीले ६ महिना समेत खान पुग्दैन। श्रम बढी उत्पादन कम भइरहेको छ।
गोरुको सहायताले खनजोत भइरहेको जुम्लामा यो निरन्तर चलिरहेन। गाउँमा पशुचौपाया पालन गर्ने मान्छे नहुँदा यो सबै सम्भव पनि छैन। जसले गर्दा अत्यधिक जमिन बाँझो छ तर यसमा केही सुधार भने आएको छ।
अहिले आधुनिक मेसिनमा आकर्षण बढेको छ। जसले गर्दा कम लागत, श्रम र समयभित्रै बढी काम हुने हुँदा यान्त्रिकीकरणमा ध्यान गएको छ। यसैलाई मध्यनजर गर्दै उद्यमी टक्कले इनोभेटिभ टेक्नोलोजी डेभलपमेन्ट उद्योग सञ्चालमा ल्याएका हुन्।
कम लागत, श्रम र जनशक्तिको प्रयोगबाटै बढी काम गर्न सकिने हुँदा मिनिटिलर जस्ता विभिन्न मेसिन प्रभावकारी भएको टक्कले बताए। २०७७ मा ‘राष्ट्रिय युवा प्रतिभा’ बाट सम्मानित उनले आफ्नो जिल्लामा कृषि यन्त्रका क्षेत्रमा काम गरिरहेका छन्। उनले जुम्लामै मिनिटिलर, धान, गहुँ, जौ चुट्नेजस्ता विभिन्न मेसिन बिक्री तथा मर्मत गरिरहेका छन्।
पाँच लाख रूपैयाँबाट सुरु गरेको व्यवसाय अहिले एक करोड रूपैयाँको पुँजीमा विस्तारित भएको छ। उनले प्रत्यक्ष रूपमा करिब १० जनालाई रोजगार दिएका छन् भने अप्रत्यक्ष रूपमा काम परेका बेला तुरुन्त काम दिने उद्यमी टक्कले बताए।
उनका अनुसार मेसिनहरूमध्य मिनिटिलरले राम्रोसँग खन्दैन भन्ने प्रायः मानिसमा भ्रम छ। यो सत्य होइन। यसले खन्दा माटो खुकुल्लो हुन्छ र डल्लासमेत फुटाएर अर्को बाली लगाउँदासम्म सजिलो हुने उनको भनाइ छ। कृषकले यान्त्रिकीकरणसम्बन्धी विभिन्न तालिम लिएपछि कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनीटिलर अत्यधिक रुचाएका टक्कबहादुरले बताए।
जुम्लामा मिनिटिलर भित्रिएको एक दशकभन्दा बढी भएको उनले बताए। ‘पुरुषले गोरुबाट खेत जोत्दा बचेको ठाउँमा महिलालाई कोदालोले खन्न निकै कष्ट हुन्छ,’ उनले भने, ‘तर मिनिटिलरले खेतको छेउकुनो सहजै खनजोत गर्न सक्छ। यसले महिलाको कार्यबोझसमेत हटाएको छ।’
जुम्लाका किसान परम्परागत खेती प्रविधिबाट आधुनिकीकरणमा आकर्षित हुन थालेको टक्कले बताए। समयको माग, सरकारी निकायको प्रयास र किसानको आकर्षणले जुम्लामा विभिन्न कृषि यन्त्रले गति लिन थालेका उनको अनुभव छ।
वैदेशिक रोजगारपछि परिवारसँग आफ्नो व्यवसायमा रमाएका उद्यमी टक्कले श्रम मन्त्रालयबाट राष्ट्रिय पुरस्कार पाउँदा उनको पूरै परिवार हर्षित भएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सरकारले प्रोत्साहनसहितको अन्य केही चासो नदेखाए पनि आफैंले गरेको दुःखको मूल्याङ्कन गरी सम्मान गरेकोमा उनी खुसी छन्।
उद्यमी भूपेन्द्र र टक्कको आफ्नो व्यवसायले सामाजिक क्षेत्रको योगदान, रोजगारी क्षेत्रमा योगदान, उद्यमी क्षेत्रमा पु¥याएको योगदानले गर्दा नै श्रम मन्त्रालयबाट केही समयअघि उत्कृष्ट कृषकको सम्मानका साथै राष्ट्रिय पुरस्कार पाएका थिए। श्रम मन्त्रालयबाट भूपेन्द्र र टक्कसहित आठ जनाले उत्कृष्ट कृषकका रूपमा राष्ट्रिय पुरस्कार पाएका थिए।
सरकारले केही साथसहयोग गरिदिए कोही पनि बिदेसिनु नपर्ने बिदेसिएका तथा विदेशबाट फर्किएका युवाको गुनासो छ। यसरी वैदेशिक रोजगारीको दुखाइपछि धेरै उद्यमीले आफ्नै देशमा सुखानुभूति गरेका छन्। यसरी नै हो, विदेशमा गएर उच्च शिक्षा लिएभन्दा पनि ठुलो ज्ञान प्राप्त गर्ने। यसैले तिनलाई उद्यमी बनाएको छ।
यसमा उनै भूपेन्द्रको कविता पंक्तिले यो भनाइलाई पुष्टि गरेको छ। उनी लेख्छन्-
समय धेरै बलवान् छ, फाल्नु हुन्न खेर,
धेरै पैसा कमाउन लाग्दैन नि बेर।
रोजगार दिने सोच राखी गरौं काम,
यसले देशलाई टेवा दिन्छ अनि चल्छ नाम।
प्रकाशित: ८ भाद्र २०८१ ०९:४९ शनिबार