७ पुस २०८१ आइतबार
image/svg+xml
कला

चुरे पहाडमा सन्तानेश्वर दर्शन

पर्यटन

नेपालगन्जबाट पूर्वमा हुलाकी सडक हुँदै करिब २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ। सडकको यात्रापछि त्यहाँबाट करिब ६ किलोमिटर उत्तरतर्फ जंगलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्छ। त्यसपछि करिब दुई किलोमिटर पैदलमा उकालो (पहाड) चढेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुग्न सकिन्छ। चुरे पहाडको चुचुरोमा रहेको मन्दिर दर्शनसँगै प्राकृतिक मनोरमको दृश्यले जोकोहीको मनलाई आनन्दित बनाउँछ।

चुरे पहाडमा हाइकिङसँगै मन्दिरमा पूजाआजा गर्नेको बाह्रै महिना घुइँचो लाग्ने गर्छ। विशेषगरी हरेक वर्ष साउनमा धेरै दर्शनार्थीहरू आउने गर्छन्। व्रतालु महिलाहरू आएर शिवको पूजा र भाकल गर्छन्। नेपालसहित भारतका विभिन्न स्थानबाट चुरे हाइकिङसँगै मन्दिर दर्शन गर्नेहरू यहाँ आउँछन्।

पछिल्लो समयमा यो ठाउँ निकै चर्चामा रहेको छ। मन्दिरमा बर्सेनि धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ। सहरको ‘कोलाहल’ वातावरणभन्दा शान्त ठाउँ मन पराउनेहरूका लागि यो उपयुक्त स्थान मानिएको छ। त्यसैले यहाँ अन्य दिनको तुलनामा सार्वजनिक बिदाका दिन बढी भिडभाड हुन्छ। समय मिलाएर यहाँ नेपाल र भारतका विशिष्ट व्यक्तिहरू समेत पुग्ने गर्छन्।

छोटो समयमै मानिसको आकर्षण बढेकाले यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेको देखिन्छ। मन्दिरको संरक्षण बाबा योगानन्द गिरीले गरिरहेका छन्। मन्दिरनजिकै उनको आश्रम रहेको छ।

आवश्यक पूर्वाधार नबन्दा आश्रमको अवस्था दयनीय देखिन्छ। पूर्वाधार विकासका हिसाबले पछाडि परे पनि मन्दिरको महत्त्वका कारण यहाँ उल्लेख्य मात्रामा दर्शनार्थी आउने गरेको संरक्षक गिरी बताउँछन्। उनका अनुसार सन्तानेश्वर महादेव मन्दिरको महत्त्व बेग्लै रहेको छ।

यहाँ सन्तान नभएकाहरूले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास छ। सन्तानेश्वरमा ‘ओम आकार’को पहाडको चुचुरोमुनिबाट गंगा, जमुना र सरस्वती प्रवाहित भएको हुँदा विशेष महत्व र पुण्यभूमि रहेको गिरी बताउँछन्।

‘गंगा, जमुना र सरस्वती सन्तानेश्वरको पहाडको तलबाट तीनवटा गंगा प्रवाहित भएका छन्,’ गिरीले भने, ‘पूर्व एक, पश्चिम एक र दक्षिण एक। यहाँ तीन वटै चिज प्रवाहित भएकाले यो विशेष महत्त्वपूर्ण र पुण्यभूमि हो।’

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा मन्दिरसम्म सडकको सुविधा, बिजुली, खानेपानी र भक्तजनहरूलाई एक रातसम्म बसाल्न मिल्ने विश्रामस्थललगायतका पूर्वाधार आवश्यक रहेको उनी बताउँछन्। चुरे हाइकिङसँगै मन्दिर दर्शन गर्न पाउँदा यहाँ पुग्ने दर्शनार्थीहरू दंग पर्छन्।

हाइकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नका लागि यो ठाउँ एकदमै पवित्र छ,’ नेपालगन्जबाट पुगेका दर्शनार्थी यमबहादुर खड्काले भने, ‘पहाडको फेदसम्म पुग्नलाई बाटोको राम्रो सुविधा भयो भने माथि चुचुरोसम्म पैदल हिँडेर जानलाई समस्या हुँदैन,’ सन्तानेश्वर महादेव मन्दिर अवस्थित क्षेत्र निकै रमणीय रहेको उनी बताउँछन्।

मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थी बताउँछन्। ‘यो मन्दिर र धर्मशालालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ, बाहिरबाट आउने भक्तजनलाई बस्न र खाने सुविधाका लागि आवश्यक संरचना बनाइयो भने कम्तीमा पनि एक रात बसेर धार्मिक कार्य गर्ने दर्शनार्थीको बढी चहलपहल हुन्थ्यो,’ बर्दियाबाट आएका दर्शनार्थी मानबहादुर केसीले भने।

चुरे पहाडको चुचुरोसम्म पैदल हिँडेर मन्दिर दर्शन गर्दा बेग्लै खालको आनन्द मिलेको उनी सुनाउँछन्। स्थानीय, प्रदेश र संघीय सरकारले सन्तानेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थीहरूको सुझाव छ।

मन्दिरको विकासका लागि स्थानीय सरकारले केही प्रयास गरे पनि पर्याप्त छैन। नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य स्थानीय सरकारको एक्लो प्रयासले मात्र सन्तानेश्वर महादेव मन्दिरको समग्र विकास गर्न सम्भव नरहेको बताउँछन्। ‘हामीसँग भएको बजेटबाट मन्दिरको विकास गर्न असम्भव नै छ, यसका लागि प्रदेश र संघीय सरकारले ठुलो बजेट विनियोजन गर्न जरुरी छ,’ मन्दिर क्षेत्रमा धेरै पूर्वाधार निर्माण गर्न आवश्यक देखिएको वडाध्यक्ष मौर्यले सुनाए।

धार्मिक पर्यटनको सम्भावना

मेरो जन्म गोरखामा भएको हो। विगत चार वर्षदेखि म यहाँ सन्तानेश्वरको सेवामा उपस्थित छु। २०७० सालमा सन्तानेश्वरको मन्दिर बनेको हो। म पहिला भारतमा बस्थेँ। यो मन्दिरको प्राण प्रतिष्ठा मेरो हातले गरेको हुनाले यहाँ भगवान्को आरती चलाउने मान्छे नभएपछि ‘भोलेनाथ’ले मलाई सपना दिनुभयो र म यहाँ आएको हुँ।

भोलेनाथको सेवामा म यहाँ बसेको छु। भारतमा मैले चलाएको आश्रम अर्कैलाई जिम्मा लगाएर म यहाँ बसेको छु। यो ठाउँमा द्वापर युगमा यज्ञ भएको रहेछ। त्यसमा एउटा वेदी बनेको थियो। त्यही वेदीमाथि ‘वेदिया’ पहाड भन्ने यसको नाम थियो।

योगानन्द गिरी, संरक्षक, सन्तानेश्वर महादेव मन्दिर

पछि १९३५ मा नरैनापुर, मटेहियाका एक जना स्थानीय दयाराम यादव आफ्ना बुबासँग खर काट्न आउँदा यहाँ वेदी देखेर भगवान् यहाँ छन् भन्ने विश्वास गरेर उनले आफ्नो मनोकामना व्यक्त गरे।

उनको त्यो मनोकामना पूरा भएपछि उनले यहाँ साधुहरूलाई बोलाएर भण्डारा खुवाए। ब्राह्मणलाई बोलाएर होम गरेर मन्दिरको पताका गाडेको हुनाले अहिले पनि यहाँ हरेक वर्ष यादव परिवारका तर्फको भण्डारा हुने गर्छ।

द्वापर युगमा यहाँ यज्ञ भएको रहेछ। त्यही भएर यो भूमि पवित्र भयो। अर्को कुरा ओम आकारको पहाड भएको हुनाले मैले यसलाई ‘प्रणो क्षेत्र’ भनेर नाम राखेको छु। राप्ती अर्ध चन्द्रका रूपमा र सन्तानेश्वर विन्दुका रूपमा भएकाले प्राकृतिक छटा रहेको र यहाँ ८० प्रतिशतसम्म अक्सिजन पाइने भएकाले यसको थप महत्त्व छ।

यहाँ आउनलाई भरपर्दो यातायात सुविधा छैन। बाटो राम्रो छैन। बिजुली बत्ती छैन। खानेपानी त सबैभन्दा जटिल समस्या छ। यी तीन चिजलाई ध्यान दिएर सरकारले व्यवस्था गरिदिन जरुरी छ। यसलाई स्थानीय स्तरबाट धार्मिक पर्यटन क्षेत्र, धार्मिक पर्यटक वन भनेर नामकरण त गरिएको छ तर कार्यान्वयन भएको छैन।

सबैतिरबाट पहल भइदियो भने यहाँ धार्मिक पर्यटन विकासको राम्रो सम्भावना छ। कुनै पनि तीर्थस्थलमा तीर्थालु गएपछि एक रात बस्नुपर्ने हुन्छ। तर, यहाँ हामीले चाहेर पनि एकैपटक धेरै संख्यामा तीर्थालुहरूलाई बास बसाल्न सक्ने अवस्था छैन। बस्ने ठाउँ छैन। तर पनि मैले जति गर्न सक्छु, भक्तजनको सेवामा व्यस्त नै रहन्छु।

प्रकाशित: ८ भाद्र २०८१ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App