२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पत्रकार श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा स्थापित ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यस वर्ष वरिष्ठ पत्रकार, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ।

स्व. गौतमको दोस्रो स्मृति दिवस असोज २ गतेकाे अवसरमा यो पुरस्कारका प्रदान गरिने भएको हो। सोही अवसरमा  गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र प्रदान गरिने करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ।

सेन्टरकी अध्यक्ष प्रदिपा गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार पुरस्कृत हुने वरिष्ठ पत्रकार श्रेष्ठ ५ दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्यमान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

तत्कालीन पञ्चायती निरंकुश सत्ताबाट नेपालपोष्टको प्रकाशनमा रोक लगाउँदा श्रेष्ठले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ नेपालपोष्टका सम्पादक प्रकाशकलाई सहयोगस्वरूप प्रकाशन गर्न दिएका थिए।

नेपालपोष्टको सहयोगसाथ प्रकाशन भएको मायालुको पनि प्रकाशनमा रोक लगाइएको थियो। नेपाली छापा प्रकाशनको इतिहासमा गेहेन्द्रमान अमात्य बिर्सन नसकिने व्यक्तित्व रहेको सेन्टरले जनाएको छ।

उनले सरकारी सेवा सूचना विभागमा कार्यरत भए पनि निजी तवरमा पत्रपत्रिकामा छापिने तस्वीरका जिंकब्लक बनाएर उपलब्ध गराएका थिए।

उनकोबाट क्रान्तिकारी नेता रामराजाप्रसाद सिंहको ब्लक ल्याएर देवेन्द्र गौतमले पत्रिकामा छाप्दा प्रहरीले उनको कारखानामा पनि छापा मारेको थियो। सरकारी कर्मचारी भएकाले उनलाई प्रहरी कारवाहीबाट जोगाउन उनका छोराले गिरफ्तारी दिएर हिरासतमा बसेका थिए।

यस्तै रघु घिमिरेले करेन्ट प्रकाशनहरूका लागि शहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्त्वपूर्ण घटनाहरूको रिपोर्टिङ उपलब्ध गराएको उल्लेख छ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशि एक लाख रूपैयाँ छ भने प्रशंसापत्रका साथ जनही पचास हजार रुपियाँ रहनेछ।

प्रकाशित: ७ भाद्र २०८१ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App