२० मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

बेलाबेला यहाँ स्याल र बाघको मेल हुन्छ!

मुक्तक

१) मुक्तक

सपना बुन्दै क्षितिज पारि, यता बिरानो बन्दैछ टारी,

उता पासपोर्टमा छाप लाग्दा, यता बेचिंदैछ घरबारी।

अभावकाे अघि स्वाभिमान नि झुक्दो रैछ महाशय,

हेर दिन दुगुणा, रात चौगुणा थपिंदैछ ऋणको भारी।

२) मुक्तक

हाम्रा पुर्खा भन्थे गोरेटोको सबै चट्टान फोर्नुपर्छ,

भगवान् जपी के हुन्छ र भाग्य आफै कोर्नुपर्छ।

कस्ता परालम्बी सन्तान,घरमा एउटा फूल छैन १

भगवान् पुज्न सधैं छिमेकीकै फूलहरु चोर्नुपर्छ।

३) मुक्तक

घरीघरी झस्कारहने ती सपना खै किन आउँछन्!

दूर देशका अप्राप्य कुण्ठित वासना खै किन आउँछन्!

जुन दिन जुन ठाउँमा छोड्यौ तिमीले त्यही छु म अझै

एक्लैएक्लै सजाय भोग्नुपर्ने जमना खै किन आउँछन्!

४) मुक्तक

कोशी र कालीतिर बस्ती डुबेको छ,

हेर त नेतागणमा स्वार्थ लुकेको छ।

नारामा स्वाभिमानी र स्वतन्त्र भूमि,

सिमानामा चसक्क देश दुखेको छ। 

५) मुक्तक

नेता र झोलेको ध्यान सुनको साप्लोमा छ,

गरिबको चिन्ता साँझबिहानको राप्लोमा छ।

खान त मेरा पनि छोराछोरीले जागिर खाए,

खाएर के गर्नु उपभोग्य खर्च मेरै थाप्लोमा छ!

६) मुक्तक

थाह भो बाबाको लङ्गौटी झुत्रो रहे,

आमाको नि उही मइलो मजेत्रो रहेछ।

थुक्क नालायक! पैसापैसा भनिस्!

अन्तमा सँगै  लिने त त्यही कात्रो रहेछ।

७) मुक्तक

कोही भाषण त कोही कासन दिएर खान्छन्,

गरिेबहरूले साँझबिहान आँसु पिएर खान्छन्।

यो संसार यस्तै छ यहाँ बोल्नेको पिठो बिक्छ,

र त सरकारहरू समेत अनुदान लिएर खान्छन्।

८) मुक्तक

आँधीबेहरी जस्तै आन्दोलनको भेल हुन्छ,

बेलाबेला यहाँ स्याल र बाघको मेल हुन्छ।

हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै,

खानेबेला जनताका सामु कट्मेरो बेल हुन्छ!

९) मुक्तक

संघर्ष र आन्दोलन उठानको सिर्जना गर्‍यो,

आँधीबेहरीसँगसँगै तुफानको सिर्जना गर्‍यो।

भर्‍याङ चढ्यो, माथि उक्लियो,सबै बिर्सियो,

सेवासुविधा बढाउने रटानको सिर्जना गर्‍यो।

१०) मुक्तक

सधैं हक, अधिकार र जिम्मेवारीको भाग गर्नुहुन्छ,

देश र जनताका लागि आन्दोलनको माग गर्नुहुन्छ।

सिद्धान्त र व्यवहारको कसीमा सफल नेता उहाँ,

छोराछोरीहरूलाई विदेश पठाउँदै त्याग गर्नुहुन्छ।

प्रकाशित: ७ भाद्र २०८१ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App