४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘गाईजात्रा’ मा दर्शक हँसाउदै हाँस्य कलाकार

फाइल तस्बिर

हाँस्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ।

काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिईरहेका छन्।

पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम भदौ १० गतेसम्म चल्ने जनाइएको छ। गाईजात्रामा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुती दिने गरेका छन्।

विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहेका  ‘जोगिन्दर’ उपनामले परिचित हाँस्य कलाकार शिवशङ्कर रिजालले आफ्ना लागि पर्व सुरु भएको बताए।

उनले भने, 'मैले कलाकारिता गरेदेखि  गाईजात्रामा सहभागिता जनाउनुका साथै यससम्बन्धी प्रस्तुति ल्याइरहेको छु। वर्षभर भएका विकृतिलाई व्यङ्ग्य गर्नु र सचेत गराउनु हाम्रो कर्म र धर्म दुवै हो।' यसपटक उनले नाचघरमा आफ्नो प्रस्तुति दिइरहेका छन्। उनीसँगै सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, राजा राजेन्द्र लगायतका कलाकारको समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्।

कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि  गाईजात्राका प्रहसनमा सहभागी भएका छैनन्। उनीसहित केदार घिमिरे, जीतु नेपाल यसपटक कुनै समूहसँग जोडिएका छैनन्।

राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने पर्वमा यसपटक हाँस्य कलाकार किरण केसीले पनि प्रस्तुति ल्याएका छैनन्। उनी केही समय अगाडि ‘मह जात्रा’ मा सहभागी भए। यसपटक तिहारको समयमा आफूसहित मह सञ्चारको प्रस्तुतिको तयारी गरिरहेको उनले जानकारी दिए।

'अहिले दुई समूहले दर्शकलाई मनोरञ्जन दिनुभएको छ। मसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले कार्यक्रम गरेनौँ । हामीले आफ्नो प्रसहनलाई मह जात्रामार्फत दर्शकसम्म लग्नेछौँ', उनले भने।

विसं २०६० ताका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रज्ञाप्रतिष्ठानमा एकै समयमा प्रहसन गरेको पनि उनलाइ स्मरण छ। 'उक्त समयमा एउटा कार्यक्रम सक्ने बितिकै अर्को पुग्ने गर्थे। हामीलाई दर्शकले प्रत्यक्ष हेरेर लिने मनोरञ्जन अनि हामीले उहाँहरुको हाँसो देखेर पाउने सन्तुष्टीलाई शब्दमा व्यक्त गर्न सक्दिन। अहिले नयाँ पुस्ताले यसलाई अगाडि बढाउनुभएको छ', हाँस्य कलाकार केसीले भने।

विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हाँस्य व्यङ्ग्यका प्रस्तुत गर्ने परम्परा छ। यसवर्ष भदौ ४ गते गाईजात्रा पर्व परेको छ।  

प्रकाशित: ३ भाद्र २०८१ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App