अनौंठो लाग्छ, यो मानव संसार कस्तो थियो होला, जुन समयमा लेखनकलाको आविष्का भएको थिएन अनि आगोको आविश्कार भएको थिएन। आगोको आविश्कार गरेपछि पहिलो मानव कति खुसी भयो होला? भित्तामा चित्र बनाउने कला कसरी जान्यो होला अनि कसरी जान्यो होला आफ्ना भावना अरुसंग साट्न। धर्म, संस्कृति र संस्कारको जन्म अनि मानवको मस्तिस्कमा खानपान र बासस्थान, धर्म, संस्कृति र संस्कारको जन्म कसरी भयो होला? मानवशास्त्रको अध्ययनअनुसन्धानमा लागि रहेको, विद्यार्थी भएको नाताले मेरो मनमा कौतुहलता सधैं रहने गर्दछ। मेरा गुरु सुरेश सरसँग बारम्बार यस्तै प्रश्न गरिरहेकै हुन्छु।
इतिहास अघिको इतिहासबारे मानशास्त्रिय खोजअनुसन्धान गर्नु, बुझ्नु र लेख्नु आफैंमा कठिन कार्य हो। मानवशास्त्रका प्रोफेसर सुरेश ढकालले इतिहास अघिको इतिहास सांस्कृतिक उद्विकासको मानवशाशत्रीय वृतान्त नेपालीमा प्रकाशन गरेर म र म जस्ता मानवशास्त्रको खोजअनुसन्धानमा लागेका कैयौं विद्यार्थीलाई थप अध्ययन, अनुसन्धान गर्न ठूलो गुन लगाउनुभएको छ। यस अर्थमा आम पाठकलाई र शिक्षक र अध्येताहरूका लागि यो पुस्तक कोषेढुंगा बन्नेछ।
इतिहासभन्दा अघि अर्थात् प्रागैतिहासिक कालखण्डमा विकास गरिएका प्राविधिक दक्षताका अवशेष नै तत्कालीन संस्कृतिबारे जान्ने अधारभूत स्रोत हुन्। तसर्थ प्रागैतिहासिक सन्दर्भमा प्रविधि नै संस्कृतिको निर्धारक हो। त्यो समयलाई पाषाणकाल र संस्कृतिलाई पाषाण संस्कृति भन्ने गरिन्छ।
पृथ्वी कसरी बन्यो होला? यस धर्तीमा मान्छेको अवतरण कसरी भयो? दिनरात किन हुन्छ? किन पानी पर्छ? यस्ता अनेकौ कौतुहल मान्छेमा दशौं हजार वर्ष पहिले थियो र अहिले पनि छन्।
मानवशाश्त्र मानव जातिको विगत, वर्तमान र भविष्यबारे अनन्त जिज्ञासाले भरिएको विषय हो। यस विषयले मानव र उसको संस्कृतिको बृहत् समयावधि र समग्रता अध्ययन गर्दछ।
यो पुस्तकको विशेषता यो पनि हो कि पढ्न थालेपछि छोड्न मन नलाग्ने अनि अर्को अध्यायमा के होला भनेर कौतुहल जगाइरहने खालका विषयवस्तु छन्।
अध्याय १० र ११ मा रहेको पाक्इतिहासमा धर्म र महिला भन्ने पाठले धेरै सोचनीय बनाइदियो। धर्म, देउता, विश्वास परम्परा र प्राक् इतिहासमा महिला लुकाइएको पहिचान। नवपाषाणकालीन धार्मिक अवधारणामा उर्वरताका लागि मान्छेहरूले भाले र पोथी (देवदेवी) को परिकल्पना गरेका रहेछन्।
नव पाषाणकालीन भौतिक आकृति र संरचनाहरूमा पुरुष शक्ति र स्त्री शक्ति दुवैको विम्व देख्न सकिन्छ। कालान्तरमा ईश्वर छुन देख्न नसकिने अज्ञात अस्तित्वको भावभूमि प्रदान गरियो र धर्मको नाममा विभिन्न नियम बनाइयो र संस्थागत विकास गरियो। ईश्वर वा धर्म चिन्तनको वर्तमान स्वरूपमा समाज आइपुग्यो।
लेविस हेनरी मोर्गनको अनुसार पाषाणकालमा महिलाको स्थिति उच्च थियो। तर, कृषिको आविश्कारपछि सामाजिक तथा राजनैतिक हैसियतका हिसावले महिलाका लागि प्रतिक्रान्ति सावित भयो। पुरुषको स्वामित्वमा निजी सम्पत्ति र पुस्तान्तरण र वंश पम्परामा महिला नहुने व्यवस्था गरियो। त्यसपछिका अनेकौं क्रान्तिले यो परम्परा तोड्न सकेको छैन। जब मानवशास्त्र, पुरातत्व र इतिहास जस्ता कुरामा महिलाको उपस्थिति र हस्तक्षेप बढ्न थाल्यो र आजसम्मका महिलावादी दृष्टिकोण सबल बन्दै आए। त्यसपछि हालसम्म लेखिएका इतिहासमा प्रश्न गर्न थालियो।
लाखौं वर्षअघिको ढुंगे औजारको अध्ययनदेखि कृतिम बौद्धिकता एआईले थपेका चुनौतीको सम्भावना मानवशास्त्रमा पनि देखिएको छ।
यस पुस्तकमा भएका छ खण्ड र पन्ध्र अध्याय, अध्यायको अन्त्यमा रहेका सारांशले अझ प्रष्ट रूपमा पाठकका मनमा मानवशास्त्र विषयको फराकिलो र बृहत् अध्ययनको लागि पदचाप छोड्न सफल भएका छन्। अनुसूची एक र दुईले थप कुरा प्रष्ट पारेका छन्। अनुसूची तीनमा रहेका पाषाण शिल्पकृतिका केही नमुना रोचक लाग्दा छन्।
इनडिगो इन्क प्रकाशक रहेको २४० पेजको यो पुस्तकको मूल्य ५९९ रूपैयाँ रहेको छ।
प्रकाशित: १ भाद्र २०८१ ११:०८ शनिबार