१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

कहिले खुशी, कहिले दुःख बोकेर आउँछन् खबरहरू!

मुक्तक

१) मुक्तक

जिन्दगी हो नशा, मान्छेहरू मातमा रहन्छन्

एक्लो रहँदैन कोही, कसै न कसैको साथमा रहन्छन्

भुलिएका कुराहरू त भुलियो र सक्किइहाल्यो

नभुलिएका कुराहरू नै हाम्रो यादमा रहन्छन।

२) मुक्तक

आउँछन्, जान्छन्, कहिल्यै सकिंदैनन् समुद्रका लहरहरू

कहिले खुशी, कहिले दुःख बोकेर आउँछन् खवरहरू

जवरजस्तीको बल मात्र लगाउँदैमा के पो भैहाल्ला र

जति नै मुठारे पनि पलाइरहन्छन् जीवनमा अनेक रहरहरू।

३) मुक्तक

माटोलाई भन्दा बढी फूललाई लेख्यौं

पुललाई भन्दा बढी तुललाई लेख्यौं

यौटा पाटोलाई पूरै नजरअन्दाज गरी

प्राप्तिलाई भन्दा बढी भूललाई लेख्यौं।

४) मुक्तक

वर्षा लागेपछि आकाशमा बादल लाउनैपर्छ

जो कर्म गरेको छ त्यसको फल त पाउनैपर्छ

पुच्छर लुकाएर कहाँसम्म भाग्न सकिन्छ र!

परीक्षा दिन त एक न एकदिन अगाडि आउनैपर्छ!

५) मुक्तक

ख्यालख्यालमै गल्ती खेल्छन् खेलाहरू

टुप्पीको बलले भजन गाउँछन् चेलाहरू

सार्वभौम संसारको आँखामा छारो हाल्दै

चौतारीमा रजाइँ गर्छन् झेलाहरू।

६) मुक्तक

ऐले त मालिकको गाना बजाना गरौला

मौका छउन्जेल हरियो घाँस पनि चरौला

जब खुल्ने छ उस्को अपराधको पर्दा

ए दास, त्यसपछि तिमी कसो गरौला!

७) मुक्तक

सिक्नेले एउटै पाठबाट पनि फरकफरक कुरा सिक्छन्

समुद्रमा पौडने कसैले मोती त कसैले सिपी झिक्छन्

सत्यको मार्ग शाश्वत भए पनि हिंड्न अलि कठिनै हुन्छ

त्यसैले जहिले पनि ठगले बेच्ने सपनाहरू बढी बिक्छन्।

८) मुक्तक

डाँडामाथि झल्किरहेका वस्तु गजुरै थिए

केही अलि चर्का, केही अलि मधुरै थिए

कति बोलियो अनि कति लेखियो पनि होला

कति वाक्य पूर्ण भए पनि फेरि अधुरै थिए।

९) मुक्तक

दुवै हातले लुट्दो कै’छ वफादारले पनि

बहुनायकको फोहर व्यवहारले पनि

रुझाएर भिजाएर पिटीपिटीकन

निचोर्दैछ जनतालाई सरकारले पनि।

१०) मुक्तक

दूरदृष्टिविहीन यात्राको नाविक भएको छ

पूर्णबहादुर घट्दाघट्दा आंशिक भएको छ

बदल्दाबदल्दा हामीले यस्तो समय ल्याइदियौं

बिरालो पो दूधको कुँडेको मालिक भएको छ।

प्रकाशित: ३२ श्रावण २०८१ ०८:५७ शुक्रबार