बंगालको खाडीबाट उडेर आएको बादल हिमालमा ठोकिएपछि नेपालमा मनसुन सुरु हुन्छ। समुन्द्र र हिमालको संगमबाट निस्कने बर्सातको धुनलाई लिएर धेरैले गीत पनि लेखेका छन्। तर यसपटक बंगालको सागरबाट मनसुनको आँधी मात्र उठेन। आरक्षण विरोधी ‘जनसागरबाट’ आन्दोलनको आँधीसमेत उठेको छ। शासकलाई मुलुकबाट हुत्याउने त्यो आँधी हिमाल उक्लिसकेको त छैन तर त्यसका छड्के बाछिटाले मुलुक रुझेको छ।
बंगाल र बाछिटाको यो चर्चामा अचानक काठमाडौंका मेयर बालेन साहको नाम पनि जोडिन थालेको छ। कसैले यो नाममा आशाको आँधी देखेका छन् त कसैले विनाशको हुरी। जसले जे देखे पनि उनको चर्चा रोकिएको छैन।
विद्यार्थी आन्दोलनले बंगलादेशमा सत्ताको बागडोर हल्लाउँदै गर्दा ललितपुरमा युवा जमातको होस्टे–हैंस्टेले रातो मच्छिन्द्रनाथको रथ हल्लिँदै थियो। रथ यात्राको अन्त्यमा आइतबार भोटो जात्रा हेर्न आएका राष्ट्रपति र प्रधानमन्त्रीको अगाडि नै ‘बालेन–बालेन’को चर्को नारासमेत त्यही हुलमा लाग्यो। सम्भवत ‘नेताहरू’को मन पनि हल्लिएको छ।
बालेन न त हसिनालाई सत्ताच्युत गर्ने बंगाली आन्दोलनका नायक नाहिद इस्लाम हुन्, न त भोटो जात्रा हेर्न आएका राष्ट्रप्रमुख ‘सेख हसिना’ हुन्। तर सर्वसाधारणका आँखाले भने बंगालको आन्दोलनलाई नेपाली पीडासँग जोडेर हेरको प्रस्ट देखिन्थ्यो। त्यसैले ‘बालेन–बालेन’को नाराले फरक अर्थ राख्थ्यो।
दलहरूप्रति वितृष्ण बढ्दै जाँदा बालेनको क्रेज बढेको यो पहिलो पटक होइन। राजधानीमा आयोजना हुने अधिकांश जात्रामा बालेन–बालेनको नारा गुन्जँदै आएको छ। कार्यक्रममा अतिथि राष्ट्रपति हुन् या प्रधानमन्त्री, सर्वसाधारणको प्रमुख ध्यान भने बालेनले खिच्न थालेका छन्। उनी जात्रा हेर्न जाऊन् कि खेल हेर्न, आँखा उनीतर्फ केन्द्रित देखिन्छन्। त्यसैले बंगालको आन्दोलनसँगै त्यसको बाछिटामा बालेनको नाम पनि जोडिन थालेको हो।
नेताहरूको भाषणदेखि सामाजिक सञ्जालका भित्ताहरूमा बंगालको घटनासँग नेपालको स्थितिलाई जोडिएका अभिव्यक्ति सुनिन–देखिन थालेको छ। कसैका अभिव्यक्ति स्वाभाविक र कसैका अभिव्यक्ति बढी अस्वाभाविक देखिएको छ। ‘बंगलादेशको स्थिति एकाएक तयार भएको होइन, प्रेसर कुकुरमा खाँदिएकाजस्ता असन्तोषहरू विस्फोट भएका हुन्,’ सामाजिक सञ्जालमा नितिन चापागाईं लेख्छन्, ‘सम्भवत त्यही असन्तोष नेपालमा पनि जम्मा हुँदै छ।’
त्यसैले होला, माओवादी अध्यक्ष प्रचण्डले बुधबार एक कार्यक्रममा बंगालको आन्दोलनको प्रसंग कोट्याउँदै अहिले सरकारमा जानेहरूको मन हल्लेको प्रसंग उठाए। उनले आफ्नो डर लुकाएजस्तै गरी सत्तापक्ष डराएको धारणा राखे। ‘हामी सरकारबाट बाहिरिँदै गर्दा जितेको तथा गर्व गर्ने अवस्थामा थियौं,’ उनले भने, ‘अहिले सरकारमा जानेहरू थरथर कामेर गएका छन्। बंगलादेशको घटनाले त झन् के के गर्या छ।’
उनले आफूले भ्रष्टाचारीलाई समाउन खोज्दा सरकार परिवर्तन भएको धारणा राखेका थिए। सत्तारुढ दल नेपाली कांग्रेस र एमालेप्रति लक्षित गर्दै यस्तो धारणा राखे पनि नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पनि गल्ती गर्नेहरू डराउनुपर्ने बताउँछन्। सबै नेताहरू डराउनुपर्ने होइन, कमजोरी भएकाहरू चाहिँ डराउनुपर्ने उनको भनाइ छ। ‘गल्ती गर्नेहरूले डराउनुपर्ने हो,’ खतिवडाले भने, ‘गल्ती नगर्नेहरू अडेस लगाएर बस्छन्।’
उनले यसो भने पनि सर्वसाधारण भने कुनै एक पार्टी र व्यक्तिलाई भन्दा पनि सिंगो सिस्टमलाई दोष दिन्छन्। ‘यहाँ सत्तामा नपुगेका र राज नगरेका को छन् र?’ सामाजिक सञ्जालमा जीवन धिताल लेख्छन्, ‘अहिले एकले अर्कोलाई दोष दिँदै पन्छिन मिल्दैन।’ मुलुक बिग्रनुमा कुनै एक अमुक नेताको भन्दा पनि सबैको दोष देखिने उनले सुनाए।
सायद त्यसैले होला, दलहरूप्रति जनताको वितृष्णा बढ्दै गर्दा फेरि एकपटक सर्वसाधारण बालेनबारे चर्चा गर्न थालेका छन्। दुई वर्ष अगाडि प्रमुख दुई दलका ‘हेभिवेट’ भनिएका उम्मेदवारलाई हराएका स्वतन्त्र मेयर बालेन अहिले स्वतन्त्र धारणा राख्नेको मात्र होइन, दलमा आबद्धता भएकाको पनि रोजाई बनेका छन्।
‘अहिले एउटा आशाको किरण बालेन देखिएको छ,’ धिताल भन्छन्, ‘त्यसैले हरेक कार्यक्रममा उनी पुग्नेबित्तिकै सर्वसाधारणले नारा लगाउने गर्छन्।’ नेताहरूले आफ्नो कामकारबाहीलाई सुधार नगरे एक दिन यहाँ पनि बंगालको आँधी बर्सने उनले सुनाए।
बालेनबारे नेपाली मिडियामा खासै चर्चा नभए पनि अन्तर्राष्ट्रिय मिडियामा चर्चा चल्न थालेको धिताल सुनाउँछन्। भारतीय च्यानलमा त उनका कामबारे चर्चा गर्दै ‘बुल्डोजर बालेन’ भनेर रिपोर्टिङ हुन थालेको उनले सुनाए। ‘ऊ अन्तर्राष्ट्रिय रूपमा परिचित बन्दै गएका छन्,’ धिताल लेख्छन्, ‘त्यसैले ऊ धेरैको आशाको केन्द्र बनेका छन्।’
यता बालेन भने यस विषयमा करिब मौन छन्। ससाना कुरामा प्रतिक्रिया जनाएर लेखिहाल्ने बालेन यति बेला सामाजिक काममा व्यस्त छन्। उनले राष्ट्रिय भलिबल टिमका महिला खेलाडीको सम्मानमा चियापान मात्र गरेनन्, उनीहरूको खेल हेर्न गएर हौसला बढाए।
अनि महानगरपालिकाका तर्फबाट एक एक लाख इनामको घोषणा गरे। ‘बालेनको यही कामले धेरै युवाको मन जित्दै छ,’ खेलाडीलाई इनाम दिएको घोषणापछि रवीन्द्र महर्जनको प्रतिक्रिया छ, ‘अरू दलले ध्यान दिन नसकेको जमातमा उसले ध्यान दिन थालेको छ।’
त्यसबाहेक उपत्यकाको संस्कृति जगेर्नामा बालेनले देखाएको तत्परताले पनि धेरैको मन जितेको उनी लेख्छन्। ‘नेवार समुदायका बासिन्दामा भन्दा नेवारी संस्कृतिमा उनी बढी रुचि राख्छन्,’ महर्जन लेख्छन्, ‘एकाधले उनको विरोध गरे पनि अझै धेरैले उनलाई राम्रो मान्ने गरेका छन्।’ बंगलादेशको आन्दोलनलाई नजिकबाट नियालेका महर्जनले त्यो दिन नेपालमा पनि नआउला भन्न नसकिने रहेको सुनाए।
उनले यसो भने पनि डा. सुरेन्द्र केसी भने अझै त्यस्तो माहोल तयार भइनसकेको सुनाउँछन्। ‘एकाध वर्ष त्यस्तो स्थिति आउला जस्तो देखिन्न,’ उनी भन्छन्, ‘तर यहाँका नेताहरू बंगालका नेताभन्दा गतिला चाहिँ छैनन्।’ नेताहरू बेलैमा नसुध्रिए स्थिति सोचेभन्दा बाहिर जाने उनको विश्लेषण छ।
केसीले भनेजस्तै मुलुकका युवा बाहिर गएका कारण तत्काल यहाँ विद्रोह हुन नसक्ने कतिपयले भनाइ राखेका छन्। ‘आन्दोलन गर्ने युवालाई विदेश जान बाध्य बनाएर हाम्रा नेता सुरक्षित भएर बसेका छन्,’ सामाजिक सञ्जालमा निकिता थापा लेख्छिन्, ‘हाम्रो नेपालमा यस्तो आन्दोलन कसरी सम्भव हुन्छ?’ जबसम्म युवाको जमात देशमा हुँदैन तबसम्म नेपालमा बंगलदेशका जस्तो आन्दोलन सम्भव नहुने उनले लेखेकी छन्।
उनको भनाइसँग असहमत छन् कर्ण भुजेल। परिवर्तनका लागि कोही कतैबाट आउनु नपर्ने भएकाको चेतना खुले पुग्ने उनले बताए। ‘मल नपाएका किसान, पढ्न नपाएका विद्यार्थी, बेरोजगार र बिदेसिएका परिवारका सदस्य एकै पटक सडकमा निस्के कुनै सरकारले धान्न सक्दैन,’ उनले भने, ‘अनि असन्तोषले सीमा नाघ्यो भने आन्दोलन आह्वानको जरुरी पनि रहन्न।’
सायद त्यही भाव बुझेर होला, विश्लेषक अरूणकुमार सुवेदी पनि सरकारले तत्काल गम्भीर भएर अगाडि बढ्नुपर्ने सुझाउँछन्। आर्थिक र संवैधानिक अस्थिरताका कारण युवा वर्ग निराश भएको भन्दै तत्काल यी विषय सम्बोधन गर्न सरकार अगाडि बढ्नुपर्ने बताउँछन्।
मुलुकमा ‘असंगठित विद्रोह’को स्थिति रहेको बताउँदै त्यसलाई सम्बोधन गर्न सरकार अगाडि बढ्नुपर्ने उनको सुझाव छ। ‘आर्थिक स्थिति सुधार्न र संविधानका कमी कमजोरी सच्याई प्रगतिको बाटोमा बढ्नुपर्छ,’ उनी भन्छन्, ‘तत्काल आशाको किरण देखाउने काम गर्नुपर्छ।’ युवाहरूलाई आशावादी बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनको बुझाइ छ।
उनका जस्तै बुझाइ सर्वसाधारणको पनि छ। उनीहरूले सरकार बंगालबाट आएको आन्दोलनको बाछिटाबाट डराएर होइन, जनताको पक्षमा काम गरेर अगाडि बढ्नुपर्ने बताउँछन्। त्यस्तै उनीहरूले बालेन विद्रोहको आधार होइन, समाधानको साँघु भएको पनि बताएका छन्।
‘सहर, संस्कृति र सहरवासीका लागि उनले गरेको कतिपय काम अनुकरणीय छ,’ नवराज उप्रेती लेख्छन्, ‘उनको त्यही सुगम बाटो दलहरूले पनि पछ्याउने हो भने आगामी समयमा जनविद्रोह होइन, जनसहयोग मिल्ने छ ।’
प्रकाशित: २६ श्रावण २०८१ ०८:२१ शनिबार