१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला

जीवनसाथी खोज्ने नेपाली साइबर लमी

पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ। सिर्जनशील सोच भएका यहाँका केही युवाले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन्। कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको बताए।

“छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौं”, उनले भने, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेका हौं।”

उनका अनुसार फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रवद्र्धनको काम भइरहेको छ।

“इच्छुक युवा वा युवतीले हाम्रो पेजमा सन्देश पठाउँदासाथ उहाँकोमा फारामसहितको गुगल लिङ्क पुग्छ”, सापकोटाले भने, “फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबीचमा समन्वयको काम हामीले गर्छौं।”

उनले पूर्ण रूपमा व्यक्तिगत गोपनियता कायम गरिने बताए।

सम्बन्धित व्यक्तिले इच्छाएमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उनले बताए। तत्काल केही समय निःशुल्क सेवा दिइरहेको कम्पनीले पछि उक्त सेवाबापत न्यूनतम शुल्क कायम गरिने जनाएको छ।

हालसम्म ५० जना भन्दा बढी सम्पर्कमा आई व्यक्तिगत विवरण पठाएको सापकोटाले जानकारी दिए। व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन्। व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताए।

योसँगै काठमाडौँमा विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा सुरु गर्ने तयारी भइरहेको उनले बताए। कम्पनीमा बागलुङका सापकोटासहित छ युवा छन्। जीवनसाथी खोज्न सघाउने ‘बिहे नेपाल’लगायतका एप सञ्चालनमा छन्।

प्रकाशित: १९ श्रावण २०८१ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App