१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:२२ अपराह्न
कला

आफैंबाट सुरु गरौं परिवर्तन यात्रा

व्यङ्ग्य

चार्टर एकाउन्टेन्ट पढिरहेकी एक विद्यार्थीले भनिन्, ‘म देखावटी सोअप गरेर विवाह गर्दिनँ, सामान्य विवाह गर्छु ।’ विवाहमा लाग्ने खर्च पढाइमा लगानी गरेर एउटा सानो बिजनेस गर्ने उनको योजना छ।

धेरै केटाकेटी पढ्ने, कमाउने र जीवनमा एकचोटि गर्ने विवाह सानसँग देखाएर गर्ने रहर गर्छन्। श्रेया शर्मालाई पनि यो रहर नभएको भने होइन। उनले यसो सोच्नुमा पनि आफ्नै बाध्यता रहेछ। उनलाई लाग्छ, यो योजना भविष्यमा राम्रो र फलदायी हुनेछ। समय सधैं एकैनासको हुँदैन। जीवनमा गाह्रो र अप्ठ्यारो पर्दा यस्ता योजनाले निकै बलियो बनाइदिँदो रहेछ र अघि बढ्न पनि सजिलो हुँदो रहेछ भन्ने उनलाई लाग्छ।

अनिताकी दिदीको कथा पनि उस्तै छ। समयअनुसार राम्रो केटो, लन्डनमा बसेको, रामै कमाइ भएको, राम्रो घरपरिवार आयो भनेर दिदीको विवाह गरियो। दिदीको विवाहमा लाखौं खर्च गरेर धुमधामले विवाह भयो। बाबाममीले विवाहमा दिदीका लागि आफ्नो पुँजी नै दाउ लगाए। विवाहमा केही कमी थिएन।

समाजमा देखाउने रीतिरिवाजदेखि दिनेलिनेसम्मको तामझाम सबै थियो। तर दिदीको विवाह सात महिना पनि टिक्न सकेन। दिदीको हालत यस्तो भयो कि अहिले घरको न घाटको भएकी छिन् यतिखेर। विवाह गरेको महिना दिनभित्र नै लन्डन बोलाउँछु भनेका भिनाजुले विवाह गरेको चार महिनामा नै उतै विवाह गरे। दिदीलाई धोका त भयो नै। यसबिच उनको पढाइ छुट्यो र लगानी पनि डुब्यो। मेरा आमाबाबालाई त कति हो कति कति पिर ! डिभोर्स गर्दा मोटै रकम पायौ भनेर व्यङ्ग्यसम्म गरे।

अर्की एक प्रतिनिधि पात्र दिया पन्त बताउँछिन्, ‘उनको पनि वैवाहिक जीवन बिचमा नै टुंगिएको थियो। उनका श्रीमान् कपडा व्यापार गर्थे। देशविदेश गइरहन्थे। थाइल्यान्ड जाँदाजाँदै थाई केटीको प्रेममा फसे र लगनगाँठो पनि कसे। उनी एक कर्मसियल बैंकमा जागिरे छिन्। उनलाई लाग्छ, यतिफेर यो खर्चले मेरो बाबाआमा आरामको जीवन बिताउन सक्थे। मेरो त सबै बर्बाद भयो।

यस्ता घटनाहरू अहिले धेरै केटाकेटी दुवैलाई नै परिरहेको देखिन्छ। अर्को एक सन्दर्भ। एक्लो छोरो, विदेशमा पढेको, खान्दानी लोहोनी परिवारको सदस्यसँग एउटी चेलीको वैवाहिक सम्बन्ध जोडियो। परिवारले पनि सुरुमा बुहारीलाई छोरीजस्तै बनाएर राखेका थिए। नेदरल्यान्ड पढ्न जाने अनुमति पनि दिए। श्रीमान् नेपाल आएपछि भने उनले घरेलु हिसां भएको भन्दै मुद्दा हालिन् र मोटै रकम लिएर पूर्वपे्रमीसँगै पुनः विदेश उडिन्। अहिले त्यो परिवारले बुहारीलाई हेर्ने नजर फेरिएको छ।

धुमधामसँग विवाह गरिन्छ। हाम्रो यस्तोउस्तो भन्दै सामाजिक सञ्जालमा फोटाहरू राखिन्छ तर सम्बन्ध लामो समय टिकेको देखिँदैन। फेरि उही सामाजिक सञ्जालमा रोएका कराएका भिडियोहरूको ओइरो लाग्न थाल्छ। यहाँ कसैको भर छैन। यो मेरी बुहारी हो भनेर अनुहारमा पनि लेखेको हुँदैन। मेरा ज्वाइँ देवता हुन् भनेर नथाक्ने धेरैका घरहरू अलपत्र परेको देखेका छौं हामीले।

चाहे सेलिबे्रटी होस्, चाहे आम सामान्य नागरिक, जो कोहीलाई पनि यो समस्या आइरहेको छ। एक सेलिबे्रटीले मेरो विवाह यस्तो उस्तो भन्दै अन्तर्वार्ता भनेकी थिइन्। श्रीमान्को हात समातेर अन्तर्वार्ता दिँदै एकअर्काको खुब तारिफ गरिरहेका थिए तर केही महिनामा नै उनीहरूको सम्बन्धविच्छेदको खबर मिडियामा आयो।

लगभग नौ महिनाअघि विवाहको निम्तो मान्न एउटा होटल पुगेको थिएँ। अस्ट्रेलियाबाट आएको जोडीको विवाह धुमधामले भएको थियो। विवाहमा पैसा खोलोझैं बगाइएको थियो। केटा उतै जन्मेहुर्केको भएर केटीले पनि नागरिकता त्यागी अस्ट्रेलियन नागरिक भएर बस्ने उनको योजना थियो। तर त्यो विवाह पनि महिना दिनमा नै छरपस्ट भएको सुनियो।

कतै महिलाका कारण त कतै पुरुषका कारण सम्बन्धहरू बिग्रिएका छन्। कतै शंकाका कारण त कतै मोह, लालचका कारण सम्बन्धमा समस्या आएको छ।

अब त विवाहको सिलभर जुबली भनेर मनाएको कमैको मात्र देख्न पाइन्छ। छोराछोरीको विवाह गर्ने उमेरमा आमाबाबाको सम्बन्धविच्छेद सामाजिक सञ्जालबाट खबर आउन नपाउँदै पुनः विवाह गरेको खबर आउँछ। फेरि उनीहरूकै दाशनिक र ठुला ठुला कुराले दर्शकश्रोता दंग पर्छन्। आज समाजमा यस्ता घटनाहरू बढ्दै छन्। कतिले जानी जानी आफ्नो घर बिगारेका छन् भने कतिको बाध्यता हुन गएको छ।

एक महिला पत्रकार भन्छिन्, ‘पहिला पहिला महिलाहरू शिक्षा र आथिक पक्षबाट कमजोर थिए। डर धम्कीकै कारण बन्देज भएको धेरै देखिन्थो र सुनिन्थो। संकुचित सोचहरूले गर्दा धेरै मौन बसेको पाइयो।

यो त महिलाको हकमा रह्यो भने अर्को पक्ष भने महिला पुरुष दुवैले भविष्यका लागि परिवार त्यागेको पनि देखियो। सबैभन्दा ठुलो कुरा यहाँ वैवाहिक जीवनपछि विवाहित साथीबाहेक अरूलाई मन पराउनु। सम्पत्ति वा पैसालको लालचका कारण पनि सम्बन्ध बिग्रिएको पाइयो। यसमा महिला पुरुष दुवै नराम्री चुकेका छन् जस्तो लाग्छ।

सामाजिक सञ्जालमा देखिने र देखाइने रंगिन दुनियाले पनि निकै प्रभाव पारेको देखियो। श्रीमान्लाई डिभोर्स दिएर पचास वर्षकी युवती तीस वर्षको केटासँग रिलेसनसिप रे, अनि तीस वर्षकी केटी श्रीमती छोडेका साठी वर्षको पौढसँग रिलेसनसिप रे। यस्ता दृश्यहरूले पनि वास्तवमा सम्बन्धहरूमा आँच आएका देखिएका छन्।

सबै आमाबाबालाई लाग्छ, बुहारी असल परोस्। सबैलाई लाग्छ, ज्वाइँ आँखामा राखे पनि नबिजाउने होस्। तर चाहँदा नचाहँदै पनि कहिल्यै पनि सबै भनेजस्तो हुँदैन।  

विवाह समाजको मुख्य परम्परा हो। यो चलन बिस्तारै देखावटी बन्दै गयो। आज चाहिनेभन्दा बढी खर्च र देखावटी गरेकै भरमा चलिरहेको छ।

सम्पन्नता र विपन्नताबिच पनि यो विवाहको चियोचर्चा बढी नै हुने गर्छ तर आज धेरै केटाकेटी भन्छन्– हामी सामान्य विवाह गर्छांै र विवाहमा लाग्ने खर्चलाई सही उपयोग गर्ने सोच छ।

आर्या थापाले भनिन्, ‘मैलै पनि विवाह सामान्य नै गरेँ। समाजले के भन्ला ? के गर्ला ? भन्ने डर लागेन। मैले विवाहमा लाग्ने खर्च कम गरेर अरू रकम आफ्नो इन्जिनियरिङ पढाइ पूरा गरेँ। बाबाआमालाई पनि पैसाको लोड कम भयो भने मेरो करियर पनि राम्रै चल्दै छ ।’

मेरा श्रीमान्ले विवाहमा लाग्ने अलिकति खर्च आफ्नो एकल आमाको नाममा मुद्दती खातामा राखिदिनुभएको छ। विवाहमा लाग्ने खर्च सामान्य ग¥यौं, पछुतो छैन। आज हामी दुवै मिलीजुली राम्रै कमाउँछौं।

समाजले के भन्ला ? के गर्ला ? भन्दा पनि आफ्ना लागि आफैंले सोच्ने हो। लाखौं रूपैयाँको कपडा र सुन लगाएर देखाउनुभन्दा साधारण जमघटसाथ विवाह गरेर बाबाआमालाई ऋणी हुनबाट जोगाउनु नै हामी सन्तानको उत्तरदायित्व हो।

विडम्बना, अधिकांश छोराछोरी सस्तो विवाह गर्न चाहँदैनन्। फलानाको त भव्य विवाह भयो, म पनि त्यसरी नै गर्छु, लाखौंका कपडा र गहना लगाउँछु भन्ने सन्तानको आकाङ्क्षाले धेरै आमाबाबाहरू ऋणी भइरहेका छन्।

कहिले छोराछोरीहरूको पढाइको ऋण, विदेश जाँदाको ऋण, विवाहको ऋण। सबै छोराछोरीले राम्रै कमाउँछन् भन्ने छैन। कमाएर ऋण तिर्छन् भन्ने पनि छैन।

धेरै छोराछोरीले आफैंले कमाएर पनि धुमधामसँग विवाह नगरेका पनि होइनन्। आमाबाबालाई सहयोग गरेका पनि छन्। विवाह व्यक्तिगत कुरा हो तर खर्च गर्दा आफूले कसरी कमाएको छ र कहाँ खर्च गर्दा राम्रो हुन्छ भन्ने सोच्ने बेला आइसक्यो। हैसियतभन्दा ठुलो भारी बोक्नु र पछि फल राम्रै पाइन्छ भनेर सोच्नु पनि गलत हुन जान्छ। विचार आफैं परिवर्तन गर्ने हो। 

प्रकाशित: १९ श्रावण २०८१ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App