२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

इतिहास र राजनीति : इतिहासको राजनीति

पुस्तक अंश

‘राष्ट्रवादी वा जातिवादी वा कट्टरपन्थी सिद्धान्तका लागि इतिहास त्यसरी नै कच्चा पदार्थ हो, जसरी अफिम हेरोइनको नसाका लागि हुन्छ। विगत (इतिहास) त्यस्तो सिद्धान्त बोक्नेहरूका लागि सम्भवतः अनिवार्य तत्त्व हो। यदि उपयुक्त विगत (इतिहास) छैन भने तिनले आफैंले त्यस्तो इतिहास आविष्कार गर्छन्।’

एरिक हब्सवामको ‘अन हिस्ट्री’ (१९९८) पुस्तकको सार भन्न मिल्ने उपर्युक्त हरफ उनले इतिहासको उपयोग र दुरूपयोगबारेको छलफलका क्रममा व्यक्त गरेका हुन्। जनताको इतिहासको वकालत गर्ने इजिप्टमा जन्मिएका बेलायती प्राध्यापक हब्सवाम (१९१७–२०१२) इतिहासको सान्दर्भिकता र उपादेयताका बारेमा लेख्ने समकालीन इतिहासकारमध्ये अग्रणी व्यक्तित्व मानिन्छन्। उनको उपरोक्त भनाइ मानव विगतको राजनीतिसँगको सम्बन्ध वा राजनीतिकरणबारे बुझ्न उपयुक्त सन्दर्भ हुन सक्छ।

यस पुस्तकमा पनि अनेकौं सन्दर्भमा हामीले भनेका छौं कि पुरातात्त्विक अन्वेषण, उत्खनन र अध्ययन मानव इतिहासको महत्त्वपूर्र्ण आयाम हो। खास गरी  पुरातात्त्विक अनुसन्धान प्रागैतिहासिक विगत थाहा पाउने एउटै मात्र माध्यम हो। पुरातात्त्विक अध्ययनले हामीलाई त्यो समयको बारेमा विश्वासिलो जानकारी दिन्छ, जति बेला अहिलेको जस्तो राज्यको अवधारणाको विकास भइसकेको थिएन। कतिपय अवस्थामा विश्वका महान् सभ्यताहरू विकास भएका थिएनन्।

आज राष्ट्र वा राष्ट्रिय पहिचान सबैभन्दा महत्त्वपूर्ण बन्न गएको समयमा वा समुदायको अथवा सामूहिक पहिचान महत्त्वपूर्ण बन्न गएको समयमा विगतको बारेमा अनेकन् राजनीतिक सबकथन बन्नु/बनाउनु अस्वाभाविक होइन। तर, पुरातात्त्विक अन्वेषणबाट प्राप्त ज्ञानले मात्र स्वार्थप्रेरित राजनीतिको आधारमाथि प्रश्न खडा गर्न सक्छ।

जसरी इतिहास शासक वा शक्तिशालीहरूको स्वार्थ अनुरूप लेखिन्थ्यो वा लेख्न लगाइन्थ्यो, त्यसै गरी वर्चस्वशाली समूहहरू प्राक्–इतिहासको पनि आफू अनुकूल व्याख्या होस् भन्ने चाहन्छन्। मानव विगतको इतिहास आफू अनुकूल बनाएर ऊ वर्तमानमा राजनीतिक लाभ लिने अनेक प्रयत्न गर्छ। त्यसैकारण पुरातात्त्विक अन्वेषणहरूले सहजै राजनैतिक चरित्र र अर्थ ग्रहण गर्छन्।

धेरै दशक पहिलेदेखि नै नेपालीहरूको सरोकार रहने गरेको विषय हो, भारतीयहरूले गौतम बुद्धको जन्मस्थल वर्तमानको भारतीय सीमाभित्रै पर्छ भनी पटक पटक गरेको दाबी। यो दृष्टान्त खासमा शक्तिशालीहरूले गर्ने इतिहासमाथिको राजनीति नै हो।

शक्तिको आडमा विगतमाथि गरिएको दाबी हो। यस्तो (झुटो) दाबीका विभिन्न कारण हुन सक्छन्। तर, मुख्यतया राजनीतिक लाभ, आर्थिक फाइदा र संस्कृति समृद्ध देखाउने लालसा नै हो। यस्तो हेपाहा खाले दाबी उसले मात्र गर्न सक्छ, जोसँग शक्ति छ।

सबैभन्दा ज्वलन्त दृष्टान्त भारतको उत्तर प्रदेशस्थित अयोध्यामा ध्वस्त बनाइएको बाबरी मस्जिदको दुर्घटना हो। केही अपुष्ट पुरातात्त्विक अवशेषका आधारमा भारतमा बाबरी मस्जिदलाई जसरी भत्काइयो र त्यहाँ राम मन्दिर ठड्याइयो, त्यो धर्मको आवरणमा वर्चश्वशालीहरूले गर्ने विगतमाथिको राजनीति र बलमिच्याइँ नै थियो।

सन् २०२४ को सुरुवातमा गरिएको राम मन्दिरको उद्घाटनका क्रममा अयोध्यामा गरिएको राजनैतिक झाँकी हेर्नलायक थियो। सत्तारुढ दलको राजनैतिक स्वार्थ पूरा हुने गरी गरिएको उक्त कार्यक्रम विगतमाथिको हैकम स्थापित गर्ने क्रमको उत्कर्ष थियो। यसपछिका अनुच्छेदहरूमा यस घटनाको बारेमा विस्तारमा विमर्श गर्नेछौं।

सिन्धुघाँटीको सभ्यता संसारको महत्त्वपूर्ण सभ्यतामध्ये एक हो। पुरातात्त्विक प्रमाणहरू प्रशस्तै हुँदाहुँदै पनि र निरन्तर उत्खनन भइरहेको भए पनि त्यस सभ्यताबारे सम्पूर्ण सूचना तथा  पुरातात्त्विक प्रमाणमा आधारित व्याख्या अझै पर्याप्त मात्रामा बाहिर आउन सकेका छैनन्।

 यस क्षेत्रमा उत्खनन गर्न रुचि राख्ने विश्वका चर्चित विश्वविद्यालय र घाघडान पुरातŒवविद्हरूलाई समेत स्वीकृति दिइएको छैन। यी सबैको मूल कारण उक्त उत्खनन क्षेत्र भारत र पाकिस्तानको दुवैतर्फ पर्नु र ती दुई देशको बीचमा राजनैतिक प्रतिद्वन्द्विता रहनु नै हो।

सिन्धु सभ्यताको बृहत्तर स्थल दुवै देशको सीमामा परेका कारण समय समयमा हुने विवाद इतिहास वा विगतलाई राजनैतिक स्वरूप र चरित्र प्रदान गर्ने अभ्यासले गर्दा विश्वको एक प्राचीन र भव्य सभ्यताबारे पर्याप्त थाहा पाउन सकिएको छैन।

गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नभई भारतमा पर्छ भनी समय सयममा भारतीय नेता, बौद्धिक क्षेत्र र सर्वसाधारणले समेत अभिव्यक्त गर्ने गर्छन्। बुद्ध भारतमा जन्मिएका थिए, अर्थात् बुद्ध भारतीय थिए भनी जानीबुझीकन भारतीय पक्षबाट हुने गरेको आग्रहयुक्त प्रचारलाई इतिहासमाथिको कपटपूर्ण राजनीतिको उदाहरणका रूपमा लिन सकिन्छ।

 भारतीय पक्षको त्यस्तो आग्रहयुक्त दाबी भारतीय राजनीतिक, आर्थिक, सांस्कृतिक हितका लागि हो भनी बुझ्न कठिन हुँदैन। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भन्दा भारतीय उपस्थिति व्यापक हुने कारण उनीहरूको यस्तो आग्रहले नेपाललाई धेरै पक्षमा हानि गराउँछ।

एकाध उदाहरणबाहेक भारतीय पक्षको झुटो दाबीको प्रतिकार नेपालले शक्तिशाली ढंगबाट गर्न सकेको छैन। यद्यपि सन् २०२० अगस्ट ८ मा तत्कालीन भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतीय भएको आशयको भाषणको प्रतिकार नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत भोलिपल्ट नै गरेको थियो।

उक्त विज्ञप्तिमा भनिएको थियो कि बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको ऐतिहासिक र  पुरातात्त्विक तथ्यबाट प्रमाणित भएको स्थापित सत्य हो। संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले समेत नेपालको लुम्बिनीलाई विश्व सम्पदा सूचीमा उल्लेख गरेको तथ्य हुँदाहुँदै पनि भारतीय पक्षबाट यसरी समय समयमा हुने दाबीले विगतको राजनैतिक महत्त्व र अर्थ मात्र इंगित गर्दैन, कसरी इतिहास राजनीतिको विषय पनि बन्न सक्छ भन्ने उदाहरण नै प्रस्तुत गर्छ।

वशिष्ठ (२०७७) ले ‘लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन’ शीर्षक दिएर लेखेका छन्, ‘यस्ता उदाहरण विश्वका सबै क्षेत्रमा पाउन सकिन्छ। यो यस क्षेत्रको मात्र चरित्र होइन।’

मानव विगतको राजनीतिक सम्बन्ध

प्राक्–इतिहास अध्ययनका पुरातात्त्विक प्रमाणहरू, जो  पुरातात्त्विक सन्दर्भबाट उत्खनन गरिएका हुन्छन्, ती अमूक हुन्छन् र पूर्वाग्रही हुँदैनन् भन्ने मान्यताबारे हामीले सुरुको अध्यायमा नै चर्चा गरिसकेका छौं। यद्यपि पुरातात्त्विक प्रमाणको व्याख्या वा अपव्याख्या र त्यसमा आधारित वृत्तान्तहरू सधैं नै राजनीतिक प्रकृतिका हुन्छन्। त्यसैले त्यस्ता वृत्तान्तहरू विवादित पनि हुने गरेका छन्।

प्रागैतिहसिक अध्ययनले राष्ट्र वा अन्य कुनै सामूहिक पहिचानलाई ठोस आकार दिन सक्छ। तसर्थ तिनको स्वाभाविक राजनीतिक चरित्र हुने गर्छ।

हामीले अघिल्लो अनुच्छेदमा उदाहरणस्वरूप भनेका थियौं कि भारतले सधैं गौतम बुद्ध भारतीय भएको र उनको जन्मस्थल भारतमा रहेको भनेर प्रचारप्रसार गरिरहने गर्छ। तर, यसले केवल प्रचारप्रसार मात्र गरिरहेको छैन कि त्यसलाई स्वाभाविक रूपमा देखाउन अर्बाैं लगानी गरेर बुद्धको नक्कली जन्मस्थलको निर्माण गरेर विश्वलाई विश्वास दिलाउन भरमग्दुर प्रयत्न पनि गरिरहेको छ। भारतभित्र मात्र सीमित नरही उसले यस्तो आग्रह र प्रचारप्रसार विश्वस्तरमा गरिरहेको छ।

विश्व मञ्चहरूमा गौतम बुद्ध भारतको भएको भन्ने उसले जिरह हुने गर्छ। तर, दुःखद कुरा के छ भने हाम्रो देशको तर्फबाट त्यस्ता मञ्चहरूमा कुनै औपचारिक राजनीतिक प्रतिवाद हुने गरेको छैन।

नेपालको लुम्बिनी वास्तविक र प्रामाणिक बुद्धको जन्मस्थल हुँदाहुँदै पनि नेपालले भारतभित्र र विश्वस्तरमा भारतीयहरूले गरेको गलत प्रचारको भ्रम चिर्न सकेको छैन। यसको अर्थ यो शक्ति संरचना र सम्बन्ध तथा राष्ट्र वा समुदायको समृद्धिसँग जोडिएको विषय पनि हो।

हाम्रा अधिकांश ऐतिहासिक पक्षहरू मिथक, लोकोक्ति, पौराणिक कथन तथा कहानीबाट निर्मित छन्। इतिहास स्वाभाविक रूपमा शासकहरूको मर्जीले लेखिने परम्परा भएको ठाउँमा इतिहासको भ्रष्टीकरण स्वाभाविक हुने गरेको छ। लेख्य परम्पराभन्दा पहिलेको इतिहास अर्थात् मानव विगतबारे पर्याप्त अध्ययन, अनुसन्धान हुन सकेको छैन।

सिङ्गाे सांस्कृतिक मानवको विगतको फलक र त्यसको आयतनलाई विचार गर्दा हालसम्मका पुरातत्त्वविद्हरूले सिङ्गो विगतको करिब एक प्रतिशत जति मात्र खोज गर्न सकेका छन्। यद्यपि पुरातत्त्व अध्ययनको क्षेत्रमा भएको प्राविधिक र अन्य विकासले गर्दा उक्त एक प्रतिशत प्रमाणका आधारमा मानव विगतबारे भरपर्दो तवरले धेरै कुरा बताउन सक्षम भएको छ।

 यसको अर्थ यो पनि हो कि विश्वस्तरमा नै पुरातात्त्विक अध्ययन ज्यादै न्यून हुन सकेका छन्। नेपालको सन्दर्भमा त स्वाभाविक रूपले यो काम कम हुने नै भयो। आवश्यक स्रोत र ज्ञानको अभाव एकातिर छ भने अर्कातिर इतिहासप्रतिको मोह भएको तर महत्त्व थाहा नभएको जस्तो देखिन्छ।

तलका अनुच्छेदहरूमा केही प्रतिनिधि दृष्टान्तमार्फत थप छलफल गरिनेछ कि कसरी  पुरातात्त्विक विषय र प्रमाणले राजनीतिक चरित्र र स्वरूप ग्रहण गर्छ।

अयोध्या: भ्रम र यथार्थ

‘भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ।’ विक्रम संवत् २०७० को दशकको उत्तरार्धमा नेपाली पत्रपत्रिकामा सम्भवतः सबैभन्दा बढी यस्ता हरफहरू लेखिएका थिए। कतिलाई यो सामान्य रमाइलो मात्र लाग्यो होला, कतिपयलाई आर्कमिडिजको आविष्कार बराबरको विलक्षण उपलब्धि पनि लाग्यो होला।

नेपालका तत्कालीन प्रधानमन्त्रीको उपर्युक्त अभिव्यक्तिपश्चात् त्रिभुवन विश्वविद्यालयको एक अनुसन्धान केन्द्रलाई प्रधानमन्त्रीको उक्त दाबालाई सहयोग पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिइएको थियो।

नेपालको पुरातत्त्व विभागले उपर्युक्त दाबीपछि त्यस ठाउँमा उत्खनन गर्ने रहर उजागर गर्‍यो। सुन्नमा आयो, केही विद्वान्हरू अयोध्या भनेको वीरगन्ज पश्चिमपट्टिको ठाउँ हो भन्ने अनुसन्धान परियोजनाका लागि प्रस्तावना पत्रहरू तयार पार्न थालिसकेका छन्।  

शक्ति र ज्ञानबीचको सम्बन्ध बुझ्ने उपर्युक्त सन्दर्भ एउटा पहल र इतिहास पठनको राजनैतिक आयाम थाहा पाउने एउटा पाठ हुन सक्छ। त्यसैले प्राज्ञ, विश्वविद्यालय र पुरातत्त्व विभाग आदिको तत्पतरता अर्थपूर्ण बन्ने गरेको हो। कुन समय र सन्दर्भको गर्भगृहबाट यस्तो हुटहुटी जन्मिएको थियो भन्ने कुराले यसको अर्थ विस्तार गर्न सहयोग पुर्‍याउँछ।

धार्मिक उन्मादमा आधारित राष्ट्रवाद दक्षिण एसियामा अत्यधिक चर्चा भएको विषय हो। तर, त्यसको उद्देश्य र अन्तर्यबारे भने यथेष्ट बहस भएकै छ। हामीलाई थाहा छ कि यसको केन्द्रमा भारत हुने गथ्र्यो र निरन्तर छ। यद्यपि भनिन्छ कि धार्मिकताको जगमा ठड्याइएको राष्ट्रवाद निःसृत राजनीतिक अभीष्ट कसैका लागि पनि अनुकरणीय हुनु हुँदैन।

भ्रमित इतिहास र राजनीतिक लाभ

सन् २०१९ मा सम्पन्न भारतको १७ औं लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले अत्यधिक बहुमतले चुनाव जित्यो। सायद त्यो परिणाम भारतमा तत्कालीन समयमा जोडतोडले चलिरहको दक्षिणपन्थी उभारको उच्चतम विन्दु थियो। भारतीय विश्लेषक तथा प्राज्ञहरूबीच पनि प्रशस्तै बहस र विश्लेषण भएको थियो, त्यस परिणामबारे।

नेपालमा पनि त्यस्तो बहस र विश्लेषणको राम्रै लहर अवलोकन गर्न सकिन्थ्यो। नेपालकै चुनावी परिणामको सन्दर्भमा समेत त्यति बहस हुने गर्दैनथ्यो।

चुनावमा विजयी भाजपाको जितमा हिन्दुत्व र राष्ट्रवादको आधारभूमि बलियो थियो। यी दुवैमा समानता थियो त घृणा र पराईकरणको राजनीतिको। त्यस्तो घृणाको निसानामा पर्थे भारतीय मुसलमान। उनीहरू घृणाको मात्र सिकार हुनुपरेको थिएन, त्यसबाट सिर्जित त्रासदीको भय पनि उत्तिकै थियो।

दक्षिण एसियामा सन् १९९० को दशकको सुरुवाती वर्षसम्म भारतीय जनता पार्टीको यस्तो उभारको कमैले मात्र परिकल्पना गरेका थिए होलान्। यसको सुरुवात एक त्रासदीपूर्ण घटनाबाट भएको थियो। त्यसलाई नै यहाँ विगतको ऐतिहासिक उदाहरणको रूपमा छलफल गर्न खोजिएको छ।

मुगल सम्राट बाबरले सोह्रौं शताब्दीमा बनाएको उक्त मस्जिद हिन्दु कट्टरपन्थीहरूले ६ डिसेम्बर १९९२ मा ध्वस्त पारिदिएका थिए। उक्त मस्जिद हिन्दु महाग्रन्थ रामायणका नायक रामको जन्मभूमि ठानिएको भूमिमा बनेको थियो, जुन मन्दिर भत्काएर त्यस ठाउँमा मस्जिद बनेको थियो भन्ने अपुष्ट आग्रहका कारण त्यस्तो गरिएको थियो। धार्मिक उद्दण्डता विनासको प्रमुख कारकमध्ये एक हो भन्ने दृष्टान्त पनि हो, यो।

भारतीय पुरातत्त्वविद् बिबीलालले सन् १९७५–७६ मा उक्त स्थानमा उत्खनन गरेका थिए। उक्त उत्खननले कुनै चाखलाग्दो मध्यकालीन तथ्य फेला पार्न भने सकेको थिएन। तर, जुन १९९२ मा जमिनको सतहभन्दा १२ फुट तल केही कुँदिएका इँटाहरू फेला परे भनियो। केही भारतीय पुरातत्त्वविद्हरूले हतारमा ‘राम जन्मभूमि अयोध्या: न्यु आर्कियोलोजिकल डिस्कभरिज’ शीर्षकमा एउटा पुस्तिका प्रकाशित गरिहाले।

उक्त पुस्तिकाले के दाबी गर्‍यो भने एघारौं शताब्दीको हिन्दु मन्दिरको भग्नावशेषमा १६ औं शताब्दीमा बाबरी मस्जिद ठड्याइएको थियो। उनीहरूले उक्त मन्दिर बाबरले नै भत्काएका थिए भन्ने आग्रहपूर्ण तर्क गरे।

मस्जिद भारतीय जनता पार्टी, विश्व हिन्दु परिषद्, राष्ट्रिय स्वयंसेवक संघ आदिको कट्टरपन्थी धर्मन्धताको आवेगको निसानामा पर्‍यो। यसरी एउटा सम्पदा सखाप भयो। त्यस घटनाले भारतीय मुसलमानहरूलाई दुःखित र आक्रोशित तुल्याउनु स्वाभाविक थियो।

आम नागरिकका लागि सांस्कृतिक सम्पदा नष्ट गर्नु निन्दनीय कार्य थियो । धार्मिकता भन्दा धार्मिक व्यापार र रोष बढी भएको भारतमा धेरैले त यसको खुलेर विरोध गर्न पनि चाहेनन् वा सकेनन् । आश्चर्य, धेरैको ध्यान के कुरामा गएन भने साँच्चै त्यहाँ भनिएजस्तै एघारौँ शताब्दीको राममन्दिर थियो त ? के त्यहाँ पर्याप्त पुराताङ्खिवक प्रमाणहरु फेला परिसकेका थिए, जसले त्यस ठाउँमा राम मन्दिर भएको पुष्टि गरोस् ?

आजभन्दा एक दशकअघि नैे इतिहासविद् सुप्रिया वर्मा र जया मेननले ‘इकोनोमिक एन्ड पोलिटिकल विक्ली’ (डिसेम्बर ११, २०१०) मा आर्कियोलोजिकल सर्भे अफ इन्डियाको अयोध्यामा गरिएको उत्खनन विधि र प्रतिवेदनमाथि नै प्रश्न उठाई लामो बहस गरेका थिए र निचोड निकालेका थिए कि त्यहाँ प्राज्ञिक लगनभन्दा भत्काइएको मस्जिद राम मन्दिरको भग्नावशेषमा खडा गरिएको पूर्वाग्रही मान्यताबाट निर्देशित थियो र प्रतिवेदन सोही अनुरुप आएको थियो । त्यसअघि नै ‘अयोध्या ः आर्कियोलोजी आप्mटर डेमोलिसन’ (२००३) पुस्तकमार्फत प्राचीन इतिहासविद् धनेश्वर मण्डलले नयाँ र ताजा भनिएको उपरोक्त अन्वेषण  र उपलब्धिको खण्डन गरिसकेका थिए । उक्त पुस्तकको प्राक्कथनमा रोमिला थापरले लेखेकी थिइन् कि राजनीतिक अभीष्टका लागि अनुसन्धान र अन्वेषण लतारिनु हुँदैन । सर्वपल्ली गोपाल, रोमिला थापर, विपिन चन्द्रा, सब्यसाची भट्टाचार्य लगायत २५ जना ख्यातनामा इतिहास अन्वेषकहरुले बाबरी मस्जिद र राम जन्मभूमि विवाद इतिहासको राजनैतिक दुरmपयोग हो भनी उति बेलै वक्तव्य जारी गरेका थिए, जुन आज पनि उत्तिकै सान्दर्भिक ठानिन्छ ।

केही प्राप्त पुरातत्त्वतिक प्रमाणकै आधारमा केही थप बहस पनि नभएका होइनन् । जस्तो कि खासमा त्यो बुद्धस्थल थियो । अर्थात् बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल थियो, जसलाई नासेर राम मन्दिर बनाइएको थियो । तर, भारतमा बौद्ध धर्मावलम्बीहरुको त्यति ठूलो राजनैतिक हैसियत छैन कि उनीहरु त्यसका आधारमा केही दाबी गर्न सकून् ।विगतको बारेमा यस्ता दाबी प्रतिदाबीहरु पर्याप्त प्रमाणविना नै वा अन्वेषकहरुको निष्कर्ष आउनुअघि नै हुने गर्दछन् । यस्ता दाबीहरुलाई हो वा हो जस्तै बनाउनेकार्य चाहिँ शक्ति र सत्ताले गर्दछ । शक्ति र ज्ञानको सम्बन्ध यहीँनेर केलाउनुपर्ने हुन्छ । शक्तिले कसरी खास खाले ज्ञानको निर्माण गर्छ भन्ने बुझ्नलाई पनि विगतमाथिको खास खास समूह÷समुदायको दावा र त्यसमाथिको राजनीति सहयोगी बन्न पुग्छ । बाबरी मस्जिद विनाशको उक्त घटना राम्रोसँग नसेलाउँदै सन् १९९४ मा नयाँ दिल्लीमा ‘वल्र्ड आर्कियोलोजिकल कङ्ग्रेस’ को तेस्रो सम्मेलन भएको थियो । उक्त सम्मेलनमा कार्यपत्र प्रस्तुतकर्तामध्येकी एक थिइन्, वर्गेन विश्वविद्यालय, नर्वेकी प्राध्यापक ¥यान्डी हाल्यान्ड । उनी मेरो एमफिल शोध निर्देशक पनि थिइन् ।

ती प्राध्यापकले नेपालमा पनि केही पुरातत्त्वतिक अनुसन्धान सुरm गरेकी थिइन् । यस सन्दर्भको उनको अर्की प्रसिद्ध जर्मन पुरातङ्खवविद् गुड्रुन कोर्भिनससँगको विवादपछि उनले नेपालको अध्ययनलाई निरन्तरता दिन नपाएको वृत्तान्त यसभन्दा अघिल्लो अध्यायमा दिइसकिएको छ ।

म ती प्राध्यापकसँग विभिन्न सन्दर्भ, पुरातङ्खव, पहिचान र विगतको स्वामित्वको राजनीतिका बारेमा बहस गर्ने गर्थेँ । सधैं नै नयाँ दिल्लीमा सम्पन्न उक्त विश्व पुरातत्व सम्मेलनको किस्सा उनी प्रत्यक्षदर्शीको रुपमा रmचिपूर्ण तरिकाले सुनाउँथिन् । उनका अनुसार जब सम्मेलनमा अयोध्याको कुरा उठ्यो, भारतीय पुरातत्वविद्हरु यसरी बाझ्न थाल्थे कि मानौँ त्यहाँ अरु कोही छैनन् र सभाहल कुस्तीको मैदान हो । जब धोती र कुर्ताको पहिरनमा उपस्थित मोटाघाटा भारतीय प्राध्यापकहरु टेबल नाघेर एकआपसमा लाप्पा नै खेल्न तयार भए तब धेरै विदेशी सहभागीहरु

त डराएर हल नै छोडेर बाहिर निस्केका थिए । पछि कङ्ग्रेसको अन्तर्राष्ट्रिय कार्य समितिले उक्त विषय नै छलफलबाट हटाउने निर्णय गर्नुपरेको थियो । इतिहास, धर्म र राजनीतिको गलत अनुपातको मिसावटले निम्त्याउन सक्ने विनाशको मानक कथा थियो, बाबरी मस्जिदको विनाश । त्यहाँ केवल एक सांस्कृतिक स्मारक मात्र ध्वस्त भएको थिएन, हजारौँको ज्यान पनि गएको थियो । इतिहास र धर्म जस्ता संवेदनशील विषय जब राजनैतिक सत्ताको लहडका वस्तु बन्न पुग्छन् तब त्यहाँ कल्पना गर्न सकिने एउटै परिणाम भनेको विनाश मात्र हो । समकालीन घटना र नेपाली सन्दर्भमा सम्बन्धित गरेर बुझ्न सहज हुने ठानेर यो उदाहरण यहाँ प्रस्तुत गरिएको हो । उपर्युक्त भारतीय सन्दर्भ एक दृष्टान्त मात्र हो । त्यस्ता अनेकन दृष्टान्त छन्; भारत, नेपाल र विश्वका अन्य भूभागमा पनि । यो खास धर्म वा सम्प्रदाय वा राष्ट्रको स्वाभाविक वा अन्तर्निहित चरित्र होइन । वर्तमानमा राजनैतिक शक्ति र सत्ता निर्माण गर्न र मजबुत बनाउन जुन भूगोलमा जस्तो शक्ति हाबी भएको हुन्छ, उसले त्यस्तै चरित्र देखाउँछ । उपरोक्त दृष्टान्तको आधारमा पनि भन्न सकिने तथ्य के हो भने मानव विगत अर्थात् इतिहास निरन्तर लेखन तथा पुनर्लेखन गरिने विषय हो । प्राचीन इतिहास अर्थात् प्राक्–इतिहास झनै जटिल विषय हो । यसको बारेमा पुराताङ्खिवक प्रमाणभन्दा मिथक, धार्मिक विश्वास र लोक कथनहरु बढी प्रभावकारी हुने गर्दछन् । जब इतिहास, धर्म र राजनीतिको अस्वाभाविक घुलन हुन्छ तब त्यहाँ तर्कहरुको अन्त्य र उन्मादी हर्कतले शिर उठाउँछ । शक्ति र सत्तासँग सम्बन्धित भएर विशिष्ट उद्देश्यका लागि गरिने अन्वेषण वा लेखिने वृत्तान्तले मानव विगतको इतिहासलाई भ्रष्ट बनाउने गर्दछ ।

कमजोर इतिहास चेत र अप्रवीण प्राज्ञिक स्तर भएको समाजमा विगतको भ्रमपूर्ण वृत्तान्त नै बलियो हुने गर्छ । विगतमाथिको राजनीति विश्वव्यापी विशेषता हो ।

अध्याय सारांश

सामान्यतया विगतको राजनीति अतितमुखी राजनीति जस्तो सुनिने वा देखिने भए पनि विगतको राजनीतिको महङ्खव र अर्थ वर्तमान र भविष्यको राजनीतिका लागि उपयोग गरिन्छ । विगत वा पुराताङ्खिवक अध्ययनको वर्तमान र भविष्यमा राजनीतिक अर्थ रहने भएका कारण यस्ता पुराताङ्खिवक अध्ययनहरु सहजै

राजनैतिक विषय बन्दछन् । सामान्य भनाइ नै छ कि जसले विगतलाई आप्mनो बनाउन सक्यो, उसले भविष्य पनि आप्mनो बनाउन सक्दछ । विगतसँगको राजनैतिक सम्बन्ध हुने कारणले पुराताङ्खिवक अध्ययनहरु संवेदनशील पनि हुन्छन् । एरिक हब्सवामको उक्तिलाई यहाँ पुनः उद्धृत गरौँ, “राष्ट्रवादी वा जातिवादी वा कट्टरपन्थी सिद्धान्तका लागि इतिहास त्यसरी नै कच्चा पदार्थ हो, जसरी अफिम हेरोइनको नशाका लागि हुन्छ । विगत (इतिहास) त्यस्तो सिद्धान्त बोक्नेहरुका लागि सम्भवतः अनिवार्य तङ्खव हो । यदि उपयुक्त विगत (इतिहास) छैन भने तिनले आफैँले त्यस्तो इतिहासको आविष्कार गर्दछन् ।” कुनै पनि समाजमा वर्चस्वशाली शासकहरुले विगतलाई आप्mनो अनुरुप व्याख्या गराउन चाहन्छन् । यो इतिहास लेखनमा हुने आम अभ्यास नै हो । त्यसैले इतिहास वर्चस्वशालीहरुको नै हुने गर्दछ । नेपालको सन्दर्भमा पञ्चायतकालमा

पढाइने पाठ्यपुस्तक शाहवंशीय राजखलकको हितमा र उनीहरुको प्रशंसा गर्ने खालका हुन्थे । पाठ्यपुस्तकमार्फत एकाङ्गी वा एकपक्षीय इतिहासलाई नै पूर्ण सत्य र एक मात्र यथार्थको रुपमा प्रस्तुत गरिन्थ्यो, ता कि आम जनता उनीहरु र उनीहरुका पुस्ताप्रति नतमस्तक भइरहून् । यो कुनै पनि शासकको चरित्र हो । हाम्रो छिमेकी देश भारतमा बाबरी मस्जिद ध्वंस गर्ने कार्य होस् वा सिन्धुघाँटीको सभ्यताका उत्खनन र अनुसन्धानका परिणामहरुलाई पूर्ण रुपमा प्रकाशित नगर्ने राजनीति होस्, यिनलाई यसै सिलसिलामा बुझ्न सकिन्छ । त्यस्तै बुद्धको जन्मस्थल लुम्बिनी भारतमा पर्दछ भनी गरिएको वा गरिने प्रचार सोही इतिहासलाई आप्mनो बनाएर राजनीतिक लाभ लिने अभ्यास थियो र हो । नेपालमा पनि समय समयमा सतहमा आउने राम जन्मभूमि अयोध्या नेपालमा

नै पर्दथ्यो भन्नका लागि निर्माण गरिएको भाष्य पनि विगतलाई आप्mनो बनाउने त्यस्तै कमजोर प्रयासको एक संस्करण हो ।

वस्तुपरक र विगतको पूर्वाग्रही वृत्तान्तलाई सुधार्ने प्रशस्त अवसर भएका कारण नै मानवशास्त्रीय पुरातङ्खवको महङ्खव र अर्थ इतिहासको भन्दा बढी हुन्छ भनिन्छ । इतिहासअघिको इतिहास पनि इतिहास जस्तै निरन्तर खोज र पुनर्लेखन गरिने विषय हो । इतिहास लेखनमा वर्चस्वशाली वर्गको प्रभाव जति कम गर्न सक्योत्यति नै सही इतिहास लेखिने सम्भावना रहन्छ । प्राज्ञिकहरुले यस्तो कार्यकोजिम्मेवारी लिनुपर्दछ ।

मानवशास्त्री ढकालको यसैसाता बजारमा आउन लागेको पुस्तक ‘इतिहासअघिको इतिहास’ बाट साभार।

प्रकाशित: ५ श्रावण २०८१ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App