१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

खुकुरीभन्दा कर्दमा धार

काठमाडौं- छ वर्ष अघि फिल्म ‘लुट’ प्रदर्शन हुँदा दर्शकले फिल्मका प्रमुख पात्र सौगात मल्लभन्दा सह–पात्र दयाहाङ राईलाई बढी रुचाए । दर्शकले ‘हिरो’को रुपमा फिल्ममा प्रस्तुत सौगात अर्थात ‘हाकु काले’सँगै  दयाहाङको ‘गोफ्ले’को चरित्रलाई ‘मार्क’ गरे । सौगातको चर्चित संवाद ‘बल हैन पासा, दिमाग लगा दिमाग’ दर्शकको मुखमा झुण्डिए पनि दर्शकले दयाहाङको चर्चा पनि उत्तिकै गरे।

हास्य कलाकारको समूहले निर्माण गरेको फिल्म ‘छ एकान छ’ देखि पछिल्लो फिल्म ‘छक्का पन्जा २’सम्म आइपुग्दा केहीमा ‘हिरो’ र केहीमा ‘भिलेन’ चरित्रमा देखिएका कलाकार दीपकराज गिरीसँगै  अन्य सहायक कलाकार दर्शकको रोजाइमा परे । ती फिल्ममा दर्शकले जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, बुद्धि तामाङ ‘हैट’लाई सरोबरी मनपराए।

फिल्म ‘जात्रा’मा प्रमुख भूमिकामा विपिन कार्की देखिए पनि दर्शकले रविन्द्र झालाई कम मन पराएनन्। ‘पशुपतिप्रसाद’मा उस्तै अवस्था दोहोरियो । फिल्मको केन्द्रमा खगेन्द्र लामिछाने थिए तर भष्मे डनको रुपमा खलनायकको अवार्ड विपिनले पाए ।    फिल्म ‘छड्के’बाट ‘विन्दु’ नाम चरित्रबाट फिल्मी अभिनयमा डेब्यु गरेका अभिनेता विपिन फिल्म फ्लप भए पनि दर्शकको मनमा हिट भएका थिए । नेपाली फिल्ममा पछिल्लो समय सहअभिनेताका रुपमा रुचाइएका कलाकारमा सलोन बस्नेत अगाडि छन्।

फिल्ममा कमेडी फ्लेबर दिन खप्पिस सलोनको अभिनयले प्रमुख कलाकारलाई समय–समयमा छायाँमा पार्ने गरेको छ । बाल कलाकार हुँदै नायक र सह–नायक बनेका सलोनले फिल्मी अभिनयबाट राम्रो तारिफ पनि पाएका छन् । नायक अनमोल केसी अभिनित फिल्म ‘होस्टेल’, ‘गाजलु’ होस् या झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ यी फिल्ममा लाइमलाइट सलोन नै छिनेका थिए । झरनाको फिल्ममा सलिनमान बनियाँको डेब्यु अभिनय रहे पनि दर्शकले सलोनलाई नै रुचाए।

फिल्म ‘होस्टल रिटर्नस’मा नायक सुशिल श्रेष्ठ प्रमुख भूमिकामा रहे पनि सह–अभिनेता नाजिर हुसेनको अभिनयलाई दर्शकले रुचाए । फिल्ममा मधेसी युवाको चरित्रमा देखिएका नाजिरको फिल्मी बोलीले पनि दर्शकको ध्यान तानेको थियो । फिल्ममा मधेसी चरित्रमा रविन्द्र र नाजिर पछि कामेश्वर चौरासिया, रमेश रञ्जन झा दर्शकले रुचाएका कलाकारमा पर्दछन् । जसको अभिनयले लिड कलाकारलाई छायाँमा पनि पार्ने गरेको छ।

 फिल्ममा नायकको चरित्र बोक्ने कलाकारलाई आजभोलि सहायक कलाकारले कडा चुनौती दिन थालेका छन् । फिल्ममा मुख्य चरित्र एउटाको हुन्छ तर दर्शकले सहायक भूमिकामा देखिने कलाकारको काम रुचाउन थालेका छन् । यसमा लेखकसँग सहायक कलाकारको आफ्नै खुबीले पनि ठूलो काम गरेको छ ।

फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेत स्क्रिप्टले फिल्मको चरित्रलाई बलियो बनाउने भए पनि दर्शकको आँखा कुन चरित्रमा बढी पर्छ भन्ने थाहा नहुने बताउँछन् । ‘फिल्ममा कलाकार फाइनल भइसकेपछि उनीहरुले कस्तो काम गर्छन् त्यसमा भरपर्छ । फिल्ममा मुख्य चरित्र भन्दा पनि सहायक चरित्रलाई उत्कृष्ट काम देखाउन बढी मेहनत गराउनुपर्छ,’निश्चलले भने,‘फिल्म लुटको कुरा गर्दा सबैलाई समान भूमिका दिइएको थियो । तर जसले राम्रो अभिनय गर्यो , ऊ नै सबैको नजरमा पर्‍यो । फिल्ममा रहेका पाँच चरित्रमध्ये  कोही कसैलाई पनि भूमिकामा थपघट गरिएको थिएन।’

उनले हरेक चरित्रलाई आफ्नो भूमिका सम्झाएरै काम गरेको स्मरण गर्दा को माथि आउने को तल जाने भन्ने विषय कलाकारको काममा भरपर्ने बताए । ‘राम्रो फिल्म बन्नका लागि कलाकारले पनि राम्रो अभिनय गर्नुपर्छ,’उनले भने,‘सबैले राम्रो अभिनय गरिरहँदा पनि को चाहिँ दर्शकको मार्कमा पर्छ भन्ने थाहा हुँदैन । त्यसकारण कलाकारलाई जस्तै निर्देशकलाई पनि कलाकारको अभिनयको सन्तुलन मिलाउन चुनौती नै छ।’

हाल प्रदर्शनरत फिल्म ‘शत्रु गते’मा ‘हिरो’का रुपमा पल शाह रहे पनि दर्शकले उनको अभिनयभन्दा अर्का दुई कलाकार हरिवंश आचार्य र दीपकराज गिरीको चरित्रलाई रुचाएका छन् । फिल्ममा पलको पिताको भूमिकामा रहेका हरिवंश र युट्युब पत्रकारको भूमिकामा दीपकको चरित्र दर्शकको नजरमा परेका छन्।

दीपकराज फिल्मको स्क्रिप्टदेखि नै आफ्नो ‘राहुल’चरित्रमा दर्शकको ध्यान जानेमा ढुक्क रहेको दाबी गर्छन् । ‘शत्रु गतेको स्क्रिप्ट लेख्दा नै मेरो चरित्रमा दर्शकको ध्यान जान्छ भन्ने लागेको थियो । किनकि यो चरित्र अहिलेसम्मको फिल्ममा देखिएको थिएन,’उनले भने,‘फिल्ममा हरि दाइ र मेरो चरित्रलाई दर्शकले रुचाइदिनुभएको छ । तर कहिलेकाँही यो चरित्रप्रति दर्शकको चासो होला भन्ने लागे पनि त्यसको परिणाम ठिक उल्टो पनि भएका उदाहरण छन्।’

अघिल्लो फिल्म ‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’मा दीपक शीर्ष भूमिकामा रहे पनि दर्शकले सहायक कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई ‘मार्क’ गरे । ‘माग्ने बुढा र मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा माग्ने बुढा नै आकर्षणका पात्र बनेका छन् । अर्थात उसको चरित्रलाई दर्शकले निकै रुचाएको मैले पाएको छु,’उनी भन्छन्,‘कुन कलाकार हाइलाइटमा आउने भन्ने उसको चरित्रको मूल्यमान्यताले भरपर्दछ । त्यही कारण कहिलेकाँही खलपात्रको कामलाई दर्शकले फिल्मको हिरोझैं तारिफ पनि गर्छन्।’

दीपकको बुझाईमा फिल्मको प्रमुख कलाकार र सहायक कलाकारको विषय मानिसले खानासँग खाने ‘अचार’ जस्तै हो । ‘हामीले खाना खाइरहँदा सबै कुरा भित्र पसिसक्छ । तर अचारको स्वाद जिब्रोमै रहन्छ,’उनी प्रष्ट्याउँछन्,‘फिल्ममा अचार भनेको सहायक कलाकार हुन् भने अन्य खाद्यपदार्थ भनेको प्रमुख चरित्र हुन् । अचार स्वादिलो हुने भएकाले पनि दर्शकलाई त्यसको तितो, अमिलो, नुनिलो र पिरो स्वाद मन परिरहेको हुन्छ।’

प्रकाशित: १५ चैत्र २०७४ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App