जातीय विभेदविरुद्ध जतिसुकै चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि त्यसको प्रभाव समाजमा खासै सकारात्मक रूपमा पर्न सकेको छैन। अरूका लागि अर्ती–उपदेश दिने मेसो मात्रै भएको छ जातीय विभेदविरुद्धको चेतनामूलक कार्यक्रम। आफूलाई पर्दा जातको कुरालाई महत्त्व दिने प्रवृत्ति समाजमा अझै पनि व्याप्त नै छ। हाम्रो समाज पुरातन संस्कारमा जकडिएको छ। जातीय विभेद पनि त्यही संस्कारसँग जोडिँदै आएको छ।
मानिस जतिसुकै शिक्षित र सभ्य भए पनि सोच र संस्कार बदल्न कठिन रहेछ भन्ने प्रमाण हुन् पछिल्ला समय भएका जातीय विभेदका केही असामान्य र क्रूर घटनाहरू। बरु सरकार बदल्न सजिलो छ तर संस्कार बदल्न कठिन रहेछ भन्ने भनाइ समाजमा त्यसै चलेको होइन रहेछ भन्ने तथ्यलाई जातको विषयलाई लिएर २०७७ साल जेठ १० गते रुकुममा भएको नवराज बिक हत्या प्रकरण र हालै बारामा भएको कौशिला कुमारी हत्या प्रकरणले पुष्टि गरेको छ।
रुकुम घटनामा कथित दलित जाति भनिएका नवराज बिकले उपल्लो जाति भनिएका युवतीसँग प्रेम सम्बन्ध राखेको र विवाह गर्न लागेको निहुँमा केटी पक्षका आक्रोशित मानिसको भिडले निर्ममतापूर्वक प्रेमी नवराज बिकसहित अन्य पाँच जनाको हत्या गरी खोलामा फालिदिएका थिए।
हालै सार्वजनिक एउटा समाचारअनुसार दलित युवासँग प्रेम गरेको भन्दै बाराको फेटा गाउँपालिका–१ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी १५ वर्षीया कौशिला कुमारीको हत्या गरेका थिए। यति त्रूmरताको हदसम्म नपुगे पनि समाजमा अझै जातीय विभेदका यस्ता घटनाहरू प्रशस्तै भइरहेका छन्। अशिक्षित र असभ्य समाजमा मात्रै होइन, शिक्षित र सभ्य भनिएका मानिसहरूबाटै जातीय विभेदको अवशेषलाई कायम राख्ने काम भइरहेका छन्।
समयक्रममा जातीय विभेदविरुद्धका ऐनकानुनको तर्जुमा र विभिन्न संघसंस्था र सम्बन्धित दलितहरूकै अगुवाइमा हुँदै आएका जातीय विभेदविरोधी अभियानका कारण समाजमा यस्तो विभेदमा केही कमी आएजस्तो देखिएको छ। सार्वजनिक रूपमै हुने जातीय विभेदका घटनाहरू कम भए पनि समाजबाट जातीय विभेद निर्मूल भने हुनसकेको छैन। अहिलेको शिक्षित र सभ्य समाजमा पनि जातीय विभेदको क्रम त्यति क्रूरताको हदसम्म नपुगे पनि असहज, अस्वीकार्य र अमान्य स्थिति भने कायमै छ।
बाहिरबाहिर समाजको डरले जातीय विभेदलाई अस्वीकार गरेजस्तो गरे पनि भित्रभित्र भने त्यही जातीय विभेदलाई अस्वीकार गर्न नसकेका घटनाहरू यथेष्ट छन्। विशेषगरी शिक्षाको उज्यालोले संसार चियाएका शिक्षित र आधुनिक युवायुवतीले जातीय विभेदको बन्धनलाई तोडेर प्रेमको पवित्र बन्धनमा बाँधिने र अन्तरजातीय विवाह गरे पनि घरपरिवारको डरले त्यस्तो सम्बन्धलाई सहजै घरभित्रसम्म लाने हिम्मत गर्न सकिरहेका छैनन्।
कसैले यस्तो हिम्मत गरिहाले पनि घरपरिवारले यस्तो सम्बन्धलाई सहजै स्विकार्ने स्थिति अझै बनिसकेको छैन। परिणामतः दलित र गैरदलितबीच अन्तरजातीय विवाह गर्ने कतिपय जोडीहरू घरपरिवारबाटै विस्थापित भएका घटनाहरू पनि सार्वजनिक भइरहेका छन्। कोही–कोहीलाई गाउँबाटै विस्थापित गरिएका पनि छन्। बाध्यतावश त्यस्तो विवाहलाई स्विकारिए पनि घरवासको समस्या र नागरिकताको समस्याले धेरै महिला पीडित छन्।
गत वर्ष जुम्लाको तातोपानी–४ गिडीखोलाका मुकुन्द नेपाली र वसन्ती गिरीले अन्तरजातीय विवाह गरे। तर समाजले स्विकारेन। आक्रोशित गाउँलेले मुकुन्दको घरै जलाइदिए। समाजले ज्यानै मार्ने धम्की दियो। परिणामतः ज्यान जोगाउन त्यो जोडी गाउँबाटै विस्थापित भयो र बेखबर बन्यो।
यस्तै दुई वर्षअघि अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका–७ का प्रकाश विश्वकर्मा र मालती रावल समाजको डरले २१ दिनसम्म जङ्गलमा लुकेर घर फर्केका थिए, तर घर पुग्नेबित्तिकै मालतीका आफन्तले त्यो जोडीलाई छुटाइदिए र मालतीलाई जबरजस्ती लिएर गए।
यसरी दलित र गैरदलितबीच भएका अन्तरजातीय विवाहलाई समाजले नस्विकार्ने र कथित उपल्लो जाति भनिएका गैरदलितले दलितलाई प्रताडित गर्ने क्रम अझै रोकिन सकेको छैन। यी केही घटनाले देखाउँछ, समय जतिसुकै फेरिए पनि हाम्रो समाज अझै फेरिन सकेको छैन। क्रान्ति र परिवर्तनका जतिसुकै नारा अलापे पनि जातीय छुवाछुत र विभेदका सवालमा समाजमा खासै सकारात्मक परिवर्तन आएको छैन।
जातीय विभेदको अन्त्य गर्ने उद्देश्यले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेशस्तरमा प्रोत्साहन भत्तासमेत दिने घोषणा पनि गरिएका छन्। तर कानुनको भरभन्दा समाजको डर ठुलो भएकाले अझै पनि दलित र गैरदलितबीचको अन्तरजातीय विवाह त्यति प्रोत्साहित हुन सकेको छैन। मानिसको सोच र संस्कारमै परिवर्तन नआई समाजमा परिवर्तन आउने स्थिति देखिएको छैन।
यसो त महान् क्रान्तिको आह्वान गर्दै दशवर्षे युद्ध लडेको माओवादीले समाजमा धेरै सकारात्मक परिवर्तन आएको दाबी गर्दै आएको छ। तर उसले क्रान्तिको सुरुवात गरेकै जिल्लामा पनि उसले भनेजस्तो सकारात्मक सामाजिक परिवर्तन भएको छैन। माओवादी द्वन्द्वका क्रममा जातीय छुवाछुत र विभेदविरुद्ध ठूलो उपलब्धी हासिल गरेको भने तापनि समाजमा खासै त्यस्तो परिवर्तन गर्न सफल भएको देखिएको छैन। गाउँगाउँबाट यस्तो छुवाछुत र विभेदको अन्त्य गरेको भनिए तापनि अहिलेसम्म पनि गाउँमा त्यस्तो जातीय छुवाछुत र विभेदका घटना व्यापक रूपमा भइ नै रहेका छन्।
देशमा राजनीतिक क्रान्ति भए। सामाजिक क्रान्ति पनि भए। परिणामतः राज्य व्यवस्था फेरियो। कतिपय नियम–कानुन फेरिए। राज्यका विधिविधान पनि फेरिए। केही हदसम्म समाज पनि फेरियो। तर समाजको वास्तविक चरित्र भने अझै फेरिन सकेको छैन। समाजले अँगाल्दै आएको संस्कार अझै फेरिन सकेको छैन। संस्कारमा जकडिएको समाजमा हिजो जुन चरित्र थियो, आज पनि त्यो चरित्र बाँकी नै छ। त्यही चरित्रका कारण समाजमा बस्ने धेरै परिवर्तनका आकांक्षी युवायुवती प्रताडित छन्।
आखिर जातमा के छ? अथवा जात–विमर्श भन्दै जातीय छुवाछुत र विभेदविरुद्ध जतिसुकै चर्चा, बहस र वादविवाद गरे पनि त्यसको सकारात्मक प्रभाव समाजमाथि पर्न नसकेका उदाहरण हुन् समाजमा अझै पनि देखिँदै गरेका जातीय छुवाछुत र विभेदका घटनाहरू। संस्कारमा जकडिएको समाजमा त्यही संस्कारमा परिवर्तन नगरी जातीय छुवाछुत र विभेदमा पनि सकारात्मक परिवर्तन आउने देखिन्न। परिवर्तन भइसकेको भनिएको समाजमै पनि त्यस्तो विभेदको अवशेष सुषुप्त अवस्थामा अझै पनि छन्।
दलित र गैरदलितबीचको प्रेमसम्बन्ध र विवाहबन्धनको त कुरै छाडौं, समाजका उपल्ला जातिका मानिसमै पनि अझै जातीय विभेदको अवशेष बाँकी छ। दलित–दलितबीचमै जातीय विभेद कायम छ भने गैरदलित–गैरदलितबीच पनि जातीय विभेद कायम छ।
कथित उपल्लो जाति भनिएका बाहुन र क्षत्री अथवा क्षत्री र नेवार जातिबीचको प्रेमसम्बन्ध र विवाहबन्धन पनि सहजै स्वीकार्य हुन सकेको छैन। प्रेम र विवाहलाई बाध्यतावश स्विकारिए पनि घरपरिवार अथवा सार्वजनिक रूपमा सम्पन्न गरिने सामाजिक संस्कारलाई समान रूपमा स्विकार्न सकिएको छैन। अन्तरजातीय विवाह गरेकी युवतीलाई बुहारी स्विकारे पनि उसलाई घरको संस्कारजन्य कार्यमा सामेल नगराउने र उसैगरी अन्तरजातीय विवाह गरेको युवकलाई ज्वाइँ स्विकारे पनि उसलाई पनि घरको संस्कारजन्य कार्यमा सामेल नगराउने प्रवृत्ति अझै पनि छ समाजमा।
यो पङ्क्तिकारलाई हालै एउटा अन्तरजातीय विवाहमा सामेल हुने अवसर मिलेको थियो। नेवार केटा र क्षत्री केटीबीचको त्यो विवाह हिन्दु परम्पराअनुसार भएको थियो। विवाह हिन्दु परम्पराअनुसार भए पनि नेवार केटापक्षले पनि आफ्नो रीतअनुसारका प्रक्रिया पूरा गरेका थिए। अन्त्यमा छोरी बिदाइका क्रममा जब गोडा धुने क्रम सुरु भयो, त्यहीं देखियो जातीय विभेदको अवशेष।
अन्तरजातीय विवाहलाई राजीखुसीले नै स्विकारेका केटी पक्षका परिवारका सदस्यले गोडा धुने क्रममा भने केटाको जातलाई सहजै नस्विकारेको देखियो। हिन्दु परम्पराअनुसार विवाह संस्कारमा गरिने मुख्य कार्यमा स्वयंवर, वरण, गोडा धुने, सिन्दूर हाल्ने र बिदाइ गर्ने विधि पर्छन्। उक्त विवाहमा यी विधिअन्तर्गत गोडा धुने क्रममा केटी अर्थात् आफ्नी छोरीको मात्रै गोडा धोएको र केटा अर्थात् ज्वाइँको गोडा धुन अनकनाएको र अन्त्यमा केटाको गोडा नधोईकनै विवाहको संस्कार पूरा गरेको सो घटनाले सोच र संस्कार बदल्न सजिलो नभएको यथार्थलाई पुष्टि गरेको छ।
केटालाई ज्वाइँ स्विकारिसकेको परिवारले उसको जातलाई अस्वीकार गर्नुले जातीय विभेदलाई जीवित नै बनाएको देखिन्छ। सुखद अवसरको यो दुःखद अनुभूति निकै दुर्भाग्यपूर्ण छ र विडम्बनापूर्ण पनि। त्यस क्रममा अँध्यारिएको केटा अर्थात् दुलहाको अनुहारले अपमानबोध गरेको आभास हुन्थ्यो। यस्तो अपमानबोधले त्यो नवविवाहित जोडीको वैवाहिक सम्बन्धलाई दिगो र कसिलो बनाउन सघाउला र?
यति लामो गन्थनको एउटै निचोड के हो भने समाज बदल्नका लागि सर्वप्रथम मानिसको सोच र संस्कार बदल्नु जरुरी छ। तर जातीय विभेदका सम्बन्धमा मानिसको सोच र संस्कार अझै बदलिन सकेको छैन। यो बदलिन नसकेको सोच र संस्कारले गर्दा समाजका केही जातिले सामाजिक प्रताडना सहनुपरेको छ।
शिक्षा र सभ्यताले जतिसुकै सम्पन्न भए पनि मानिसको सोच र संस्कार बदलिन कठिन रहेछ। तर सत्य यो पनि हो कि मानिसको सोच र संस्कार बदलिएन भने समाज बदलिन सक्दैन। समाज नबदलिएसम्म समाजमा बाँच्नेहरूले कुनै न कुनै रूपमा जातीय विभेदबाट प्रताडित भइरहनुपर्ने हुन्छ। त्यसैले सबैभन्दा पहिले मानिसको सोच र संस्कार बदल्नुपर्छ। त्यसपछि समाज आफैं बदलिँदै जान्छ।
प्रकाशित: २२ असार २०८१ ०९:२४ शनिबार