४ असार २०८१ मंगलबार
image/svg+xml
कला

कुवेतको कहालीलाग्दो कहानी

बिदेशिनेकाे व्यथा

वैदेशिक रोजगारीमा ‘आकाशका तारा झारिदिने’ आश्वासन दिँदै एजेन्टहरू गाउँ पस्छन्। तिनका ठगीका कथा सुनिसकेका व्यक्तिले तिनलाई पत्याउँदैनन्। तर, आर्थिक भारले थिचिएका व्यक्ति भने तिनलाई प्रत्याउन र ठगिन अभिशप्त हुन्छन्।

एजेन्टका गुलिया कुरामा भर पर्दा धेरैजना बिदेसिनुअघि र पछि संकटको खाडलमा परिसकेका हुन्छन्। एकपटक यो खाडलमा परेपछि निस्किसक्दा कैयन् हन्डर र ठक्करले तिनलाई छियाछिया बनाइसकेको हुन्छ। यो त्यस्तै संकटमा फसेकी एक सुदूर गाउँकी युवतीको कथा हो।

वैदेशिक ठगीको माखे साङ्लोमा कसैले कसैलाई छाड्नैन। यहाँ आफन्त पनि कोही हुँदैन। जसले सक्छ, उसले अर्कोलाई भ्याउँछ– यो मत्स्यन्यायको अनुपम नमुना हो।

पार्वती परियार नाताले मितबहिनी पर्छिन्। यिनै मितबहिनीले नुवाकोटकी एक युवतीलाई काठमाडौंस्थित सामाखुसीमा आकाशबाबु बिकसँग भेट गराइन्। दुईचार पटक मात्रै उपत्यका झरेकी ती युवतीलाई मितबहिनीको इसारामा नाच्ने एजेन्ट आकाशले सामाखुसीस्थित लिंक स्टार म्यानपावरमा पुर्‍याउँछन्।

वनकी चरीलाई सहरको जालझेल के थाहा? तिनले काठमाडौंका गल्ली चिन्ने कुरै भएन। उनलाई म्यानपावर कम्पनीबारे कुनै जानकारी थिएन। त्यसले कसरी काम गर्छ भन्ने जान्नु त बेग्लै कुरा भइहाल्यो। बस्, उनलाई विदेश जाने एउटै सपना थियो, त्यसैमा उनी ढुक्क रहिन्।

एजेन्ट आकाशले म्यानपावरमा पुर्‍याएपछि कुराकानीका क्रममा त्यहाँका कर्मचारीले ‘भिजिट भिसा’मा कुबेत जाने बताए। ती युवतीलाई कुन भिसामा के हुन्छ थाहा हुने कुरा भएन्। भिजिट भिसामा भए पनि विदेश जान पाइन्छ भन्नेमा उनी ढुक्क भइन्।

तिनलाई कुवेतमा क्लिनरको काम पाइने आश्वासन दिइएको थियो। ‘सजिलो काम छ,’ म्यानपावर कम्पनीका कर्मचारीले ती युवतीलाई भनेका थिए, ‘कुवेती एक सय ३० केडी (नेपाली ५२ हजार दुई सय रूपैयाँ) हुन्छ। त्यो भनेको कमाइ धेरै राम्रो हो। यो नयाँ माग आएको हो। सोही कामका लागि नेपालबाट गएको पुरानो टोलीलाई ३५/४० हजार रूपैयाँ पनि दिइएको थिएन।’

कुवेतमा राम्रो काम पाइएको भनी म्यानपावरवालाले ती युवतीलाई आश्वासन दिए। ‘फ्रि भिसा फ्रि टिकट’ मा कुवेत पठाउने आश्वासन उनको थियो। त्यसमा अप्ठ्यारो नहुने आश्वासन पनि दिए। युवतीको राहदानी थिएन। त्यो पनि आफैंले बनाइदिने आश्वासन तिनले दिए। ‘चिन्ता केही लिनुपर्दैन,’ ती युवतीलाई भनियो, ‘ढुक्क भए हुन्छ। परिवारलाई पनि खुसीको खबर सुनाउनुस्, अब विदेश गएर टन्न पैसा कमाउने हो भनेर।’

त्यही म्यानपावरले खटाएका अर्का एजेन्ट राकेश सुनारले पनि कुवेतमा फ्रि भिसा फ्रि टिकटमा गएर त्यहाँ घरेलु कामदार बन्न प्रेरित गरे। त्यहाँ धेरै राम्रो कमाइ हुन्छ, भनेर आफूलाई उक्साएको जानकारी ती युवतीले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दिइन्।

ती युवतीलाई कुवेतमा कुनै शारीरिक शोषण नहुने, त्यहाँ जान पैसा नलाग्ने र राम्रो कमाइ हुने विश्वास दिलाएको थियो। त्यसैकारण उनी उडान भर्न तयार भइन्। आफ्नो नागरिकता र राष्ट्रिय परिचयपत्रको छायाप्रति एजेन्टलाई बुझाएपछि गत वर्ष फागुन ६ गते एजेन्ट राकेशले राहदानी विभागबाट राहदानी बनाइदिएको उनले बताइन्।

‘विदेश जाने सोचले राहदानी बन्दा धेरै खुसी लागेको थियो,’ उनले भनिन्, ‘राहदानी बनेलगतै उक्त म्यानपावरको एजेन्टले सामाखुसीस्थित नाम थाहा नभएको एक मेडिकलमा लगेर मेरो स्वास्थ्य परीक्षण गरायो। त्यसपछि राकेश सुनारले तपार्इंको भिसा १०/१५ दिनमा आउँछ। भिसा आउनेबित्तिकै खबर गर्छु भनेर मलाई घर पठाइदिए।’

ती युवतीले विदेश जाने चाजोपाजो सबै मिलाएसँगै अब केही दिनपछि विदेश जान्छु भन्ने खबर परिवारलाई गरेकी थिइन्। उनी विदेश जाने दिन गन्दै थिइन्। उनको १५/२० दिन कट्यो तर विदेश जाने अब पक्का भयो भनेर खबर आएन।

 राहदानी बुझाएको महिना दिनपछि एजेन्ट आकाशबाबु बिकले फोन गरेर भिसा लागेको जानकारी दिए। ‘ल बधाई छ, तपाईंलाई कुवेतको भिसा लागेको छ,’ एजेन्टलाई उद्धृत गर्दै ती युवतीले भनिन्, ‘अबको एक दुई दिनमा फ्लाइट हुन्छ। तयार भएर बस्नु है।’

एजेन्ट आकाशले फोन गरेको एक डेढ घण्टापछि लिंक स्टार म्यानपावरका कर्मचारी भनिने राकेशले पनि मोबाइलमा फोन गरेर सोही खुसीको खबर सुनाएको ती युवतीले बताइन्। उनको विदेश जाने सपना पूरा हुँदैगर्दा उनी धेरै खुसी थिइन्।

एजेन्टले भनेअनुसारकै तयारी गर्दै थिइन्। कुवेत उडान भर्ने मिति आइसकेपछि परिवारसँग बिदावारी भएर काठमाडौंस्थित बसुन्धारामा दुवै एजेन्टलाई भेटेलगतै सोही ठाउँकै एक होटलको कोठामा पुर्‍याएको उनी सुनाउँछिन्।

‘विदेश राम्रोसँग गएर पैसा कमाउँछु भन्दै परिवारलाई बाचा दिएर आएकी थिएँ,’ उनले भनिन्, ‘उनीहरूले मलाई होटल पुर्‍याएसँगै त्यहाँ अन्य ३/४ जना महिलालाई पनि विदेश लैजाने भनी राखेको रहेछ। त्यहाँ धेरै महिला भएकाले सुत्ने ठाउँ भएन। त्यसपछि मलाई अर्को बसपार्कमा रहेको ‘ग्लोबल’ नामक गेस्टहाउसमा लगी भोलि तिम्रो फ्लाइट हुन्छ भनी दुई रात राखे।’

उनले भन्दै गइन्, ‘उनीहरूले गत चैत २२ गते साँझको फ्लाइट हुन्छ भनेका थिए। तर, अघिल्लो दिन २१ गते नै प्लेनको सिट खाली रहेछ, आजै जानुपर्ने भयो भनी राकेशले खबर गर्‍यो। मसँगै तीन जना महिलालाई दुबईमा रिसिभ गर्न आउने मानिसलाई दिनु भनी पाँच हजार साउदी अरबियाको रियाल, प्लेन टिकट, भिसालगायतका कागजातहरू दिएर ट्याक्सीमा चढाई बसपार्कबाट एयरपोर्ट पुर्‍याए।’

विदेशमा कमाएको पैसाले परिवारको आर्थिक भारलाई सम्हालेको सपना देख्दै गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही दिन बिहानतिर दुबईको भूमिमा पाइला परेको बताइन्।

‘दुबई एयरपोर्टमा पुग्नेबित्तिकै नचिनेको एक जना नेपाली नै हामीलाई लिन आउनुभयो। नेपालमा हामीलाई एजेन्टले दिएको पाँच हजार साउदी रियाल र अन्य सबै कागजात बुझाएसँगै सात घण्टा ट्रान्जिटमा बसी पुनः हामीलाई दुबईबाट कुबेत पठाइयो,’ उनले भनिन्।

चैत २३ गते कुवेतको एयरपोर्टमा पुगेपछि भारतीय महिलाले लिएर एजेन्ट अफिसमा २/३ घण्टा राखेसँगै घरको काम गर्ने भन्दै एक अरबी साहुलाई जिम्मा दिएर पठाएको ती युवतीले बताइन्। त्यहाँ पुगेपछि सरसफाइ गर्ने, लुगा धुने र खाना बनाउने जस्ता काम उनको थियो।

‘सुरुको केही समय राम्रै व्यवहार गरे भने काम पनि सहजै थियो। तर, पछि उनीहरूले मेरो मोबाइल खोसी दिए,’ दुःखअनुसारको पैसा पाइन्छ भनेर कुवेत पुगेकी ती युवतीले भनिन्, ‘मलाई लिएर गएको अरबीका पत्नी र छोरीहरू धेरै बाहिर जान्थे। त्यसरी उनीहरू बाहिर जाँदा साँझ फर्किन्छन् भन्ने आसमा म हुन्थेँ। त्यो आसमा मात्रै सीमित हुन्थ्यो। उनीहरू धेरै दिनसम्म आउँदैनथे। त्यही मौका पारेर अरबीबाट ममाथि जबर्जस्ती यौन हिंसा र शोषण हुन थाल्यो।’

कुवेतमा कमाउने सपना बोकेर गएकी पीडित युवती ब्युरोसँग भनिन्, ‘परिवारको खुसी खोज्दै त्यहाँ पुगेकी थिएँ। नेपालमै हुँदा विदेशप्रति देख्ने गरेको सपनाको ठिक उल्टो भयो। मलाई अरबीले यौनदासी बनायो।

अरबीले झ्यालढोका र फ्यानसमेत नभएको कोठामा बन्धक बनाएर पटक पटक यौन शोषण गरेपछि एजेन्ट आकाशले आयुष अधिकारीको नाममा खोलेको ह्वाट्सएप र राकेशको समेत ह्वाट्सएपमा उद्धारको चित्कार गरे।’ यसरी अरबीको यौनकर्मी भएर बस्न नसक्ने खबर एजेन्ट आकाश र राकेशलाई सुनाउँदा पनि सुनुवाइ नभएको उती बताउँछिन्।

‘धेरै पटक म्यासेज गरेर अनुरोध गर्दा उल्टै एजेन्टले नै थर्काउँथ्यो। बल्लबल्न त्यहाँ जानुभएको छ। चुप लागेर काम गर्नुस् भन्थ्यो। तर, यता अरबी घरमा देख्नेबित्तिकै डर लाग्थ्यो। राति दैनिक हुने यौन हिंसाका कारण म बिरामी पर्न थालेँ,’ पीडित युवतीले भनिन्। अरबीको घरमा सिकिस्त बिरामी भएर ओछ्यानमै सुत्या सुत्यै भएकाले साहुले जुन एजेन्टको अफिसबाट ल्याएको थियो, त्यहाँ नै पुर्‍याइदिएको थियो।

एजेन्ट अफिसमा पुगेपछि स्वदेश फर्काइदिन आग्रह गर्दै उनी विदेश आउने रहर पुगेको बताउँछिन्। एजेन्ट अफिसमा पुग्दा आफ्ना कागजात र मोबाइलसमेत नभएको हुँदा उनले त्यहींबाट राकेशलाई फोन गरेर नेपाल फर्काउन अनुरोध गरिन्।

एजेन्टको अफिसबाटै फोनमा कुराकानी गर्दा राकेशले आफूलाई भनेको कुरा उनी सुनाउँछिन्, ‘त्यस्तो सजिलो काम तँलाई नपेचेको हो। नेपाल फर्किने भए तीन लाख पैसा खातामा जम्मा गर्नुपर्छ।’ एजेन्टको यस्तो जवाफ सुनेर उनी फोनमै रोइकराई गर्न थालिन्, ‘त्यत्रो पैसा मसँग छैन। बरु ५० हजार रूपैयाँ दिन्छु।’

यसरी ती पीडित युवती रोइकराई गरेको देखेर एजेन्ट राकेशले जगतबहादुर थापाको कुमारी बैंकको खाता नम्बर दिँदै पैसा छिटो हाल्दिनु भनेको सुनाउँछिन्।

पीडित युवतीलाई कहिले स्वदेश फर्किने भन्ने छटपटाहटले आफ्नै बहिनीलाई हारगुहार गरेर ५० हजार मागी एजेन्टले भनेअनुसार गरिन्। ती युवतीले परिवारसँग बेलिविस्तार लगाएसँगै उनका परिवारजनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा गएर निवेदनसहित उद्धारको याचना गरेका हुन्। यसरी ब्युरोमा दिएको उजुरीद्वारा गत वैशाख २७ गते ती पीडित युवती नेपाल फर्किन सफल भइन्।

‘विदेश सुन्दर हुन्छ भन्ने लाग्थ्यो। विकसित ठाउँका मानिस झन् धेरै महान् हुन्छन् भन्ने मेरो मनमा थियो,’ उनले अँध्यारो मुख लगाउँदै भनिन्, ‘हेर्दा विदेश जति सुन्दर देखिन्छ, त्यहाँ हुर्किएका मानिसको मानसिकता त्यत्तिकै कुरूप रहेछ। नेपालमा आर्यघाटमा मृतकको शरीरलाई जलाउँदा दाउराले घोचे पनि त्यहाँ उपस्थित मलामीको आँखाबाट आँसु झर्छ। तर, विदेशीमा त जिउँदो शरीरलाई घोच्दा पनि दया, माया समेत नहुने कस्तो विडम्बना।’

उनी नेपाल फर्किएलगतै स्वास्थ्योपचार गराइरहकी छिन्। ‘बेलाबेलामा उपचार गरिरहेकी छु,’ कुवेतबाट आजित भएकी ती युवती भन्छिन्, ‘कुवेतमा २९ दिन काम गरेबापत तलब पनि पाएकी छैन। एजेन्ट र उक्त म्यानपावरलाई कानुनी कारबाही हुनुपर्छ।’

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ३ विपरीतको कार्य गरेको हुँदा सोही ऐन बमोजिम हुने हदैसम्मको सजाय र क्षतिपूर्तिसमेत पाऊँ भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्। यो ती युवतीको मात्र कथा होइन। सुन्दर भविष्यको कल्पना गर्दै उनीजस्ता कैयन् युवा यतिबेला पछुतोमा परेका छन्। म्यानपावर एजेन्सीका दलालहरूले दिएका गुलिया आश्वासनभित्र लुकेको तिक्तता पुष्टि गर्ने प्रतिनिधि घटना हो यो। 

प्रकाशित: १ असार २०८१ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App