म सानो छँदा आमाले मलाई आफ्ना पीडा सुनाउँथिन्। अलिकति फुर्सद भयो कि उनी आफ्ना वेदना र पीडाका बमहरू मसँग पड्काउँथिन्। आमाले आफ्ना कारुणिक कथा हामीमाझ सुनाउँदा उनको मन हलुङ्गो हुन्थ्यो या आफ्ना कथालाई ताजै राख्ने चाहना हुन्थ्यो भन्नेमा म अनभिज्ञ थिएँ। तर पनि उनको कथा कथामात्र नभई यथार्थ थियो। उनको जीवन दुःखले ठडिएको पहाड थियो।
यौवनावस्था पनि नपुग्दै उनको विवाह भएको थियो। आमा नभएकी टुहुरी थिइन् उनी। खाऊँखाऊँ र लाऊँलाऊँ भन्ने उमेरमा नै अपरिचित व्यक्तिसँग उनलाई जिम्मा लगाइएको थियो। त्यस दिनदेखि उनको नयाँ जीवन सुरु भयो। उनले शान्त र सुखद जीवन चाहेकी थिइन् तर यसको ठिक विपरीत भइदियो। उनको जीवन झन् झन् कठिन बन्दै गयो।
कुनै न कुनै बहानामा हरेक दिन उनले तुच्छ व्यवहार सहनुपर्थ्याे। घरका सदस्यले उनीमाथि एउटा न एउटा खोट लगाइरहन्थे। कहिले दाइजोमा गाग्री–खड्कुलो नपाएका कारण उनले अनेक अपमान सहनुपर्थ्याे। कहिले श्रीमान्को लाचारीका कारण तिरस्कृत हुनुपर्थ्याे, कहिले ठालु पल्टेका देउरानी–जेठानी र नन्द–आमाज्यूको लाञ्छना त छँदै थियो। दुई सासूहरूको शोषण आफैमा डरलाग्दो र भयानक थियो।
उनलाई हाँस्ने अधिकार थिएन, राम्रो लगाउने हक पनि खोसिएको थियो। तीज, दसैंमा सबै झिलिमिली कपडा लगाएर घरका हरेक सदस्य र सासूहरू ठाँटसँग बस्थे। उनी घरको कामदारजस्तै थिइन्। सासूका पुरानै कपडाले धेरै चाडपर्व बिते।
आजादीको दिन उनले कहिल्यै देखिनन्। बिहानदेखि साँझसम्म उनी घरकै कामधन्दामा व्यस्त हुन्थिन्। खानसम्म फुर्सद हुँदैनथ्यो। पकाउने, खुवाउने धन्दा गर्ने, कपडा धुने, दुई सासूका जुम्रा मार्ने, कपाल मालिस गर्ने, नङ काट्ने, आङमा तेल घस्ने अनि साँझ सासूहरूको हातखुट्टा मिच्ने उनको दैनिकी थियो। तर पनि उनले कसैबाट सम्मान पाउँदिनथिन्।
४० वर्षसम्म उनले आफ्नै घरमा शोषित भएर बिताइन् तर पनि उनले सकारात्मक प्रतिक्रिया भने कहिल्यै पाइनन्। घरमै सितैको कामदारजस्तो भएर उनको जीवन बित्यो। उनीमाथि सबैले हैकम चलाए।
मैलै देखेको थिएँ, उनलाई कसैले खाऊ न पनि भनेन, राम्रो लगाऊ पनि भनेन। यतिसम्म कि तँ थाकेकी छस्, केहीबेर आराम गर् पनि कसैले भनेन। उनको निद्रासम्म पनि पूरा हुँदैनथ्यो। पचास वर्षसम्म उनले कहिल्यै सुख पाइनन्। आधा पेट खाइन्, आधा निद्रा सुतिन्। सासूको शोषणमा र शासनमा उनको जिन्दगी बित्यो।
चार दशक लामो यात्रामा उनले मन गह्रौं नपारी सासूलाई आमा सम्झेर सेवा गरिन् तर सासू कहिल्यै उनकी आमा बन्न सकिनन्। सासूबाट उनले कहिल्यै इज्जत पाइनन्।
सासूको शोषणले उनको मुस्कान सबै हराएको थियो। आफ्नो निर्णय गर्ने अधिकार कहिल्यै पाइनन्। उनी घरभित्र १५ वर्षमा छिरेदेखि नै एउटा बन्द जेलभित्र थिइन्, मात्र हातमा हतकडी थिएनन्।
उनले दिनदिनै अरूबाट आलोचित मात्र भइरहनुपर्यो। अरूको टोकसो सहिरहनुपर्यो। अरूकै योजनामा उनको जीवन चल्यो। जिम्मा लगाएको एउटालाई तर उनीमाथि शासन अरूकै चलिरह्यो।
आज ज्वरो आयो। ‘तातो पानी खा’ भनेर कसैले भनेन। सानैमा टुहुरी भएर पनि होला, उनले आफ्नी सासूलाई आमा सम्झेकी थिइन् सायद। आमाहरू यस्तै हुन्छन् भन्ने उनलाई लागेको थियो। यसैले पनि होला, उनले सासूका हरेक अपहेलनालाई बेवास्ता गरेकी थिइन्। उनले कहिल्यै आवाज उठाइनन्, कहिल्यै स्वतन्त्रताको माग राखिनन्। समय र परिस्थितिले जस्तो बनायो त्यस्तै बनिरहिन्।
आज मेरी आमा ६० वर्षको उमेरमा सासू बनेकी छिन्। उनी धेरै खुसी छिन्। उनको ठाँट बेग्लै छ। उनको मुहारमा चमक छ, उसाह छ। कतैकतै चाउरी परेका गालामा निराशाजनक रेखाहरू छन्।
४० वर्षसम्म सासूको यातना र खटन सहेकी मेरी आमाको अब ओहोदा बढेको छ। उनी पनि कसैकी छोरीलाई शासन गर्ने सोचमा छिन्जस्तो लाग्थ्यो। समय पनि उस्तैउस्तै थियो तर उनको व्यवहार फरक थियो। कहिल्यै सुख नपाएकी सासूको मुहारमा सुनौलो हाँसो थियो।
उनकी बुहारी अफिस जान्छिन्। आधुनिक पनि छन्। स्कुटर चलाउँछिन्। पढाइमा डिग्री हासिल गरेकी छन्। विवाहमा दाइजो पनि टन्नै लिएर आएकी छन्। उनको हाउभाउ विदेशीभन्दा कम छैन। रैथानेकी छोरी बेग्लै रबाफ छ।
मेरी आमाले पनि उनीमाथि हैकम चलाएर शासन गर्नुपर्ने थियो। कसैको यौवनको मुस्कान र जवानी लुट्नुपर्ने थियो, जसरी उनको जवानी लुटिएको थियो। आफूमाथि भएको अन्यायलाई ऊर्जा थप्नुपर्ने थियो तर उनले त्यसो गरिनन्। आफूमाथि थपिएको जिम्मेवारी उनले बोध गरेकी थिइन्।
मेरी आमाले कसैमाथि शासन गर्न पाउनुभएन, खाली शासित मात्र बन्नुभयो। कुनै बेला उनको चाहना कसैले बुझेनन्, अहिले अरूको चाहना उनी बुझिरहेकी छन्। समाज परिवर्तनसँगै हिँडेकी छिन् मेरी आमा। साथ, सहयोग र प्रेरणाकी खानी हुन् उनी। यसैले त सासूले अगुल्टाले हानेको ठुटो हातले नाति हेरेकी छिन्।
कार्यालयबाट आएकी बुहारी थाकी होली भनेर चिया नास्ता दिन्छिन्, छोराबुहारी थाकेका छन् भनेर बिहानबेलुकीको खाना बनाउँछिन्। उनलाई थकाई लागेको छैन। आज पनि उनको सोही काम छ, बिनाभुक्तानी चलिरहेको छ।
उनलाई सन्चो भयो कि भएन? खायौ कि खाएनौ? तिमीलाई कहाँ जान मन छ? कस्तो लगाउने रहर छ? सोध्ने फुर्सद भने कसैको छैन। तर पनि उनको चाउरिएको अनुहारमा चमक घटेको छैन। मेरी आमालाई अभागी भनौं भने उनी हातमा नाति खेलाएको देख्दा खुसी देख्छु। उनको छिया छिया परेको हात हेर्छु, छरेको दाँतभित्र पसेका गाला, सेतै फुलेको कपाल, उजाड शरीर, फुस्रो कपडा, उनको आजको परिचय।
मेरी आमाले जीवनभर कसैलाई शासन गर्न पाउनुभएन। पाँच दशक लामो सासूको शासनमा पशुझैं बाँधिएकी थिइन् भने अहिले उनी रहरमा बाधिएकी छन्। म यसो सम्झन्छु, यो अभागी सासूको कथाजस्तो लाग्छ। सासूहरूको कथा पनि विचित्रको छ। कुनै सासू देवीजस्ता हुन्छन्, कुनै अमानवजस्ता। जसको भागमा जे लेखेको छ, त्यही पर्छ। मेरी आमा सासूको ओहोदामा देवी थिइन् भने बुहारीका हकमा उनी अभागी भइन्।
बुहारी हुँदा धेरै कष्ट सहेकी आमालाई सासू हुँदा निकै गर्व लागेको छ किनकि उनलाई कुनै हतियार उठाउनुपरेको छैन, बुहारीलाई शोषणको गुन तिर्नुपरेको छैन, बुहारीको चेतना गुमाउनुपरेको छैन। उनले एक नारीलाई सम्मान दिएकी छन्, बुहारी पनि छोरी नै हुन् भन्ने चेतना छ उनीभित्र। बुहारीलाई पनि दुःख लाग्छ, शरीर थकित हुन्छ भन्ने राम्ररी बुझेकी छन्। यसैले होला, बुहारी पनि आँखामा राखे पनि नबिझाउने जस्ती छिन्।
उनी आफू भाग्यमानी बुहारी साबित हुन नसके पनि असल सासू बनेकी छिन्। यसैले बुहारी भन्ने गछिन् -मेरी सासू मेरी आमा नै हुन्। आमा पनि भन्छिन्-बुहारी मेरी छोरी नै हुन्।
प्रकाशित: २६ जेष्ठ २०८१ ०९:३२ शनिबार