२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

माटोको माया

कविता

१) अभाव

जब म सियोले टालेको झोला भिरेर

शीतले फुटेका कुर्कुचा सुस्तसुस्त उचाल्दै

बन्दकी राखेको एकहल पाखोबारी उकास्न

नयन भिजाएर हवाइ वेगमा उडें

कसरी हाँस्न सक्छ

आगोले पोलेझैं भयग्रस्त मन

तापले पोलेका पैतलाका पीडा

तातोतातो बाफले डामेर

उम्लिएका मेरा भावना

हुरीले उडाएको याक्साको छानो

वर्षाले भिजेको ओछ्यान

नदीझैं बगेको कलकल मन

भावनाको उड्दै गरेको बतास

उखल्नै नसक्ने मायाको डोब

हरेक पटक

तारा उदाएपछिको साँझमा

सम्झेर पोख्दै छु पसीना

तातोतातो मेसिनमा

प्रत्येक साँझ वा बिहान

म एक छाक भोक मार्न

बग्दै गरेको उर्वर यौवन

स्वचालित तातो मेसिनमा

पोखिरहेछु आजभोलि

साँच्ची! कहिले भाँचिएलान्?

मेरा क्रूर सपनाका हाँगा

कहिले टुक्रेलान्?

मेरो अभावका खातहरू

म हरेक अभावलाई भत्काउन

झारिरहेछु तप्पतप्प पसीना

र फुटाइरहेछु

पानीका जिलजिल फोकाहरू

प्रिय!  

तर एकदिन फर्कनेछु

तिमीले सिएको झोला भरेर

अभावका बोटहरू निमोठ्न

आफ्नै देशको माटोमा

२) बुढो पीपलको रुख

एउटा बुढो पीपलको रुख

उदासउराठ वषैंदेखि

ठिङ्ग्रिङ्ङ उभिएर सुसाइरहेछ

मन्दमन्द हावाको सुस्केरामा

पातहरू आपसमा जुधेर प्याटप्याट

निस्केको मधुर आवाज र

बूढो रुखको शीतल पिउँदै

बटुवा टोपीले पसीना पुस्छ

भारी बोकेका यात्रुहरू

अलिकति चुहेको पसीना ओभाउन

नाम्लोले पोलेको थाप्लो

हल्का शीतल पार्न

ढाकर र तोक्माहरू

बुढो पीपलको फेदमा बिसाउँछन्

डोको बोकेका घाँसेहरू

कोदालो भिरेर उक्लेका श्रमिकहरू

हलो-जुवा काँधमा बोकेर

सिढी चढेका कृषकहरू

चैतवैसाखको घामले डढेर

पसीना पुछ्दै दौडिएको व्यक्ति

बुढो पिपलको फेदमा उभिएर

शीतलताको अनुभव गर्छ

शीतलताको उन्मादले कुनै यात्रु

फेदमा बञ्चरो बजार्छ

खुकुरीले हाँगाहरू लछार्छ

रुखमा पातहरू सुकेर

उजाड भएको छ आफ्नै चौतारो

हाँगा र फेदका चोटबाट

रगतका सेता थोपाहरू पोखेर

दुखिरहेछ एउटा बुढो पीपलको रुख।

३) माटोको माया

माटोमा उभिएका पुखौं सिमानाका बाँधहरू

भत्कनै नहुने माटोमाथिका पिल्लरहरू

टुक्राटुक्रा पारेर भत्काउन खोज्छन् कुरूप अनुहारहरू

तर, रुन्छन् माटोको स्नेहमा धेरैधेरै मनहरू

अनि, अलिकति त्रास बोकेर उभिन्छन् सडकमा

र खोज्छन्-

आमाको न्यानोन्यानो स्नेहको घाम

विशालविशाल भूगोलको एउटा अस्तित्व

माटोको गन्धले उम्लिएका तरङ्गित आवाजहरू

माटोका आस्थामा पोतिएका ह्रदयका स्वरहरू

पिल्लरको रक्षार्थ बग्न खोज्छ रातोरातो रगत

अनि चिच्याउँछ एक मुठ्ठी स्वासको अस्तित्व  

तर माटोलाई टुक्राएर धूलो बनाउन खोज्नेहरू

काट्न खोज्छन् सिमानाका सडकहरू

भत्काउन खोज्छन् सिमानाका पिल्लरहरू

ती भत्काउन खोज्ने हातहरूसँग

म रगत दिएर बदलामा विश्वास माग्छु

एउटा अस्तित्व र आस्थाको भरोसा माग्छु

तर हातहरू हरेक पटक पिल्लरहरूलाई

भत्काउन/मेटाउन उद्यत हुन्छन् सधैंसधैं

हरक्षण मान्छेहरू सगरमाथाको फेदमा टेकेर

सगरमाथा जस्तै शिर उच्च पार्न खोज्छन्

तर आस्थाका घाउमा नुन छर्कनेहरू

चर्‍याउँदैचर्‍याउँदै तड्पाउन खोज्छन्  

र, घाम झुल्केपछिको तापले तातेर  

पग्लँदै बगिरहने हिउँ जस्तै

बगाउन खोज्छन् सगरमाथाको फेदको माटो

माटोलाई धूलो-धूलो पार्न खोज्ने विचारहरू

हातहरू आवश्यक छैन माटो फुटाउन

हामीलाई इच्छा पनि छैन

माटोको मृत्युको खबर सुन्न

हामी चहन्छौ-

हिमाल र त्यसमुनिको सम्म माटोको तस्वीर

सीमासम्म टाँगिएका अस्तित्वका रेखाहरू

प्रत्येक मस्तिष्कमा छापिएको पूरैपूरै भूगोलको नक्सा

चिम्टीचिम्टी माटोको वतर्मान बस्ती

इतिहासइतिहाससम्म सुरक्षित चाहन्छौ

वर्षैंवर्षसम्म सुरक्षित चाहन्छौ।

(कवि  हाेमशंकर बास्ताेलाकाे कवितासंग्रह भाेका सपनाहरूमा सङ्गृहीत।)

प्रकाशित: २५ जेष्ठ २०८१ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App