३ असार २०८१ सोमबार
image/svg+xml
कला

प्रतीक ढकाल नियात्रा सौरभबाट राजकर्णिकार सम्मानित

पर्वतीय साहित्यका उन्नायक तथा वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा विधामा समर्पित स्रष्टाहरूका लागि स्थापना गरेको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ वर्ष २०८१ का लागि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई समर्पण गरिएको छ।

नियात्राकार राजकर्णिकारलाई साहित्यकार ढकालको जन्मदिनको अवसर पारेर ५१ हजार रूपैयाँ राशिसहितको उक्त पुरस्कार कमलपोखरीस्थित उनकै निवासमा समर्पण गरिएकाे थियाे।

राजकर्णिकारलाई उनको पचास वर्षभन्दा लामो वन्दनीय नियात्रा साधनाको कदर गर्दै यो पुरस्कार अर्पण गरिएको पर्वतीय साहित्य समाज नेपालकी सचिव भवानी खतिवाडीले जानकारी गराएकी थिइन्।

कार्यक्रममा प्रतिभा छनोट उपसमितिका संयोजक समालोचक महेश पौड्यालले राजकर्णिकारले शिशु अवस्थामा रहेको नियात्रालाई एक परिपक्व विधाको रूपमा स्थापित गर्न भूमिका खेलेको बताए।

समालोचक प्राडा कृष्णप्रसाद दाहालले आफूले यत्तिको लामो समयसम्म एउटै विधामा यसरी तल्लीन भएर लेख्ने अर्को नियात्राकार नदेखेको बताए।

 उनले साहित्यकार राजकर्णिकारको सफलतामा उनकी धर्मपत्नी शान्ता राजकर्णिकारको पनि हात रहेको बताए।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले खराब मान्छेको बाहुल्य भएको आजको समयमा असल काम गर्ने थोरै मान्छे भए, ठूलो उपलब्धि सम्भव हुने भन्दै पुरस्कार पाउने र दिने दुवै पक्षले असल र प्रेरणादायी कार्य गरेको टिप्पणी गरे।

पुरस्कार पाउँदाको खुसी पाेख्दै नियात्राकार राजकर्णिकारले आफू व्यावसायिक घरानाको भए पनि दुई कारणले साहित्यमा लागेको बताए। पहिलो कारण कृष्ण पाउरोटी र दोस्रो समालोचक माधवलाल कर्माचार्य रहेकाे उनले बताए। कृष्ण पाउरोटी उद्योगले नै उनलाई बेकरी सम्बन्धमा जर्मनीमा पढ्ने माैका मिलाएकाले आफूमा विदेश भ्रमण गर्ने, नयाँ मुलुक देख्ने र देखेको कुरा लेख्ने कुराको सूत्रपात गरिदिएको बताए।

सुरुमा धेरै विधामा छरिएका राजकर्णिकारलाई यात्रासंस्मरणतिरै केन्द्रित हुनचाहिं माधवलाल कर्माचार्यले प्रेरित गरेको बताए।

पुरस्कारका संस्थापक प्रतीक ढकालले आफ्नो सानो प्रयासले ठूला साहित्यकारलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे।

नेपाली यात्रा विधामा उल्लेख्य योगदान पुर्‍याएका नियात्राकार राजकर्णिकारका देश प्रदेशको भ्रमण (२०३४), विदेशको यात्रा: स्वदेशको सम्झना (२०३७), बौद्ध तीर्थयात्रा: नालान्दादेखि लुम्बिनीसम्म (२०६०), यात्रा अमेरिकाको माया नेपालको (२०६९), यात्राको लहरीमा हिउँफूलकी रानी (२०७४), घामै प्यारो आमै प्यारो (२०७७) लगायत महत्त्वपूर्ण नियात्राकृतिहरू प्रकाशित छन्। उनको लेखनमा विद्यावारिधि पनि भइसकेको छ।

यसअघि २०७६ सालमा नेपाली नियात्राका शिखर पुरुष डा. तारानाथ शर्मालाई, २०७७ सालमा शताब्दी वाङमय पुरुष डा. सत्यमोहन जोशीलाई, २०७८ सालमा नेपाली नियात्राका एक मानक देवीचन्द्र श्रेष्ठलाई, २०७९ सालमा नेपाली नियात्राका कुशल शिल्पी भुवनहरि सिग्देललाई र पाँचौं पटकको पुरस्कार प्रवासमा रहेर नेपाली नियात्रा साहित्यप्रति समर्पित संगठक स्रष्टा गीता खत्रीलाई समर्पण गरिएकाे थियाे।

प्रकाशित: १४ जेष्ठ २०८१ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App