३ असार २०८१ सोमबार
image/svg+xml
कला

राजधानीका प्रिय ‘फूलप्रेमी’हरू!

प्रकृति

न टिप्नू हेर कोपिला, नचुड्नू पाप लाग्दछ,

नच्यात्नू फूल नानी हो, दया र धर्म भाग्दछ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले वर्षौंअघि फूलको महत्त्व बुझाउँदै उपवन जोगाउन यी पंक्ति लेखे। तर मैतीदेवीस्थित देवकोटा निवास ‘कवि कुञ्ज’ नजिकैको धोबीखोला किनारमा यति बेला कविताकै धज्जी उड्ने गरी निरन्तर फूलहरू च्यात्तिँदै छन्।

रातो कुर्ता, सेतो सुरुवाल। निधारमा टिका, ओठमा लाली। उनी आफैं फूलजस्तै फक्रिएकी थिइन्। सोमबार बिहान धोबीखोला किनारमा फूल टिप्दै गर्दा क्यामराको लेन्स देखेपछि उनी एकाएक ओइलाइन्। ‘मन्दिरमा चढाउन टिपेको,’ उनले बिस्तारै भनिन्, ‘आजै मात्र आएको हो।’

उनी मात्र होइन, हरेक बिहान धोबीखोला किनारमा फक्रिएका फूल चुँडिरहने थुप्रै भेटिन्छन्। कसैले पूजा गर्ने बहानामा टिपेका छन् त कसैले घर सजाउने लहडमा। त्यसैले हरेक साँझको सूर्यास्तमा सूर्यसँग रमाउँदै गरेका फूलहरू बिहानको सूर्योदय देख्न नपाउँदै चुँडिन्छन्।

‘किनारमा फूलका मुन्टा चुँडिदै गरेको देखेर धेरैको मन पनि कुँडिन्छ। उनीहरू नटिप भन्दा पनि पछि हट्दैनन्। तपाईंको हो र? भन्ने जवाफ फर्काएपछि नाजवाफ हुन्छन्। ‘मन्दिरजस्तो सहरमा फक्रिएको यो फूल चुँडेर कुन पूजा कोठा सजाउने होला,’ भत्केको पुल नजिकै भेटिएका पुष्कर थापाले भने, ‘फक्रिएको फूल हाँगाबाटै भगवान्लाई चढेकै छ, फेरि चुँडेर कुन भगवान्लाई चढाउने हो?’

वर्षौंदेखि कुरूप धोबीखोला किनार यतिबेला विभिन्न रङका फूलसँगै दुलहीजस्तै सिँगारिएको छ। भलै, धोबीखोलमा दुर्गन्धित पानी बगेको छ। किनाराका यी फूलले त्यसमा सौन्दर्य भरेका छन्। यिनै फूलमाथि बिहानीपख निर्घात आक्रमण हुने गरेको छ। फूल टिप्नेले हाँगासमेत भाँच्ने गरेको कतिपयले बताउँछन्। ‘हातमा प्लास्टिकको झोला बोकेर आउनेहरू हाँगा लच्काउँदै फूल चुँड्छन्, ‘रातो पुल नजिकै भेटिएका महेश कार्की भन्छन्, ‘अघिल्लो साँझ ढकमक्क रहेको बोट बिहान हुन नपाउँदै रित्तो हुन्छन्।’

फूल टिप्नेको हात नपुगेर बचेका फूलले पनि यो किनारमा कम्ता सौन्दर्य दिएको छैन। तर कतिपयलाई यी फूल पनि चुँडिने डर छ। ‘फूलको संरक्षणमा कोही नदेखिँदा लाठो लिएर पनि बचेका फूल चुड्लान् भन्ने डर छ, ‘कार्की थप्छन्, ‘कसैले त फूलको पक्षमा बोल्दिनुपर्‍यो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर सार्वजनिक ठाउँमा रोपेका फूलका हाँगा भाँच्ने तथा चुँड्नेलाई सार्वजनिक मुद्दा लाग्ने बताउँछन्। ‘हामी त्यो क्षेत्रमा नगर प्रहरी पठाएर अवस्थाको अवलोकन गर्ने छौं,’ उनले भने, ‘सहरी सौन्दर्य बिगार्न कानुनले कसैलाई पनि अनुमति दिँदैन।’

धोबीखोला किनारमा मात्र होइन, सहरका अन्य ठाउँमा पनि पछिल्लो समय सौन्दर्य बढाउने काम भएका छन्। सहरका चोक र बगैंचामा थरी थरीका फूल रोपिएका छन्। तर ती ठाउँमा पनि फूलको नोक्सान पुर्‍याउने गरेको देखिन्छ।

 ‘साँझको अँध्यारोमा पार्कका फुलेका फूल मात्र होइन, बोटैसमेत पनि उखेलिने गर्छ,’ ललितपुर मंगलबजारका विजय शाक्य भन्छन्, ‘यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’

कतिपय भने कानुन लगाएर फूल जोगाउनेभन्दा पनि मान्छे आफैंले विवेकशील भएर फूल संरक्षणमा जुट्नुपर्ने सुझाउँछन्। फूलहरू तोडेर सुन्दरता जम्मा गर्न नसकिने भन्दै जहाँ फुलेका छन्, सौन्दर्य त्यहीं जम्मा हुने उनीहरूको बुझाइ छ। ‘भगवान्लाई खुसी बनाउन फूललाई किन मार्नु,’ मनिता बजगाईं भन्छिन्, ‘ती जहाँ फुलेका छन्, त्यहीं बाँच्न देऊ।’

सारा सृष्टि भगवान्कै हो भने तिनका निम्ति कुनै फूल चुडेर चढाइरहनु पर्दैन। हो, भगवान्लाई चढाउने हो भने बजारमा किनेर वा आफ्नै बगैंचामा फुलाउन सकिन्छ। त्यसो नगरी सार्वजनिक ठाउँको फूल टिप्नु भनेको भइरहेको सौन्दर्य बिगार्नु पनि हो।

तर अझै पनि फूल चुँडिन रोकिएको छैन। देवकोटाले फूल नच्यात्नु भनेर उति बेलै साना नानीहरूलाई सम्झाएका थिए। सायद साना नानीहरूले सम्झे। तर यति बेला सहरका ‘ठुला नानीहरू’ निर्धक्क फूल चुँड्दै छन्। यिनलाई कुन महाकविले सम्झाउने होलान्?

गोपाल सुचीकारले गाएको यो गीत फूल संरक्षणका निम्ति सुन्ने हो कि?

‘के पूजा गर्छौ मन्दिरमा गई

पहिले आफ्नो बानी सुधार।’

प्रकाशित: १२ जेष्ठ २०८१ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App