३ असार २०८१ सोमबार
image/svg+xml
कला

अमादब्लमको काखमा हराइरहेका हिमाल प्रेमीहरू

यात्रा निबन्ध

सगौरव उपस्थित सर्वाेच्च चुलीचुचुराहरूलाई मनको क्यानभासमा आकृतिबद्ध गरेर। म यतिबेला अमादब्लमको काखमा छु। कल्पनातीत प्रकृतिले चुमेर हृदय स्पन्दित भइरहेछ। हर्ष र आनन्दले म विभोर भइरहेछु।

यतिबेला म सुखद मिलनको घडीमा छु। धेरै वर्षपछि आमाको प्रेममा रमाउन पाएको छु। हार्दिकपन र प्रकृतिप्रेमले मदहोस छु। आमाको काखजस्तो प्यारो र ममतामयी स्थानजस्तो स्नेह अन्त कहीं पाइँदैन रहेछ।

अमादब्लमको काखमा यसरी लुट्पुटिन पाउनु अहोभाग्यकै कुरा हो। जहाँ मिल्छन् खुसीका मिठा–मिठा भेटहरू। जहाँ भेटिन्छन् जीवनभरिकै मिठा–मिठा यादका कोसेलीहरू। अमादब्लमको पृथक् आकृति र आयाम साँच्चै मौलिक छ। मनकारी र मनमोहक पनि उत्तिकै लाग्छ।

अविस्मरणीय मिलनका सौगातले भरिभराउ मन। एउटा प्रेममय दिन ! एउटा अलग्ग प्रणयोत्सवको प्रहरजस्तो। पदयात्राका यात्रीहरू अमादब्लमको सुन्दर संरचनामा हराइरहेको देख्छु। अमादब्लमको काखमा निदाइरहेको हेर्छु। अनेक देशका अनेकौं यात्रीको भिडभाडमा पनि सन्नाटा व्याप्त छ। बिनाभाषा पनि प्रकृतिको विराट वैभव सामु चुपचाप एकै भावना, एउटै कामना र उही चाहनाले सबै एकाकार छन्। खोजेको दृश्य देख्न पाएर खुसीले अवाक् छन्।

सौन्दर्यको सागरमा म चुर्लुम्म। प्रकृतिको काखमा म आनन्द। यात्रा यस्तो होस्, पाइला टेक्दा ठक्कर लागे पनि जहाँ पुग्नुपर्ने गन्तव्यले आराम दिलाओस्। पुगेपछि खुसीले मन भित्रैबाट चिच्याउन थालोस्। सोचेभन्दा फरक र देख्न पाइनेभन्दा अझ मनमोहक दृश्यले अँगालोमा बेर्न आओस्।

खुसीहरू दुधकोसीसँगै पोखिएर बगे बगून्। बिस्तारै ती सगरमाथाजस्तो अग्लो र सबैको आकर्षणको गन्तव्य बनून्। यात्राका यादहरू मनभित्र सुरक्षित रहिरहन सकून्। जसलाई सम्झिँदा सिलसिलाबद्ध सर्लक्क आँखैअघि भर्खर देखेजस्तो दृश्य देखियून्।

मात्र अक्षरमा पढेको अमादब्लमलाई। मात्र तस्बिरमा देखेको अमादब्लमलाई। मात्र वृत्तचित्रमा हेरेको अमादब्लमलाई। मात्र अनुभूतिमा महसुस गरेको अमादब्लमलाई। सधैं उही र उस्तै तिमी। तर हरेक पटकको हेराइमा तिम्रा रङ–संरचनाको आकर्षणले म वशीभूत। तिम्रो रूप–सौन्दर्यको सौरभ–समष्टिले आकर्षित।

तिमी रहस्यको भण्डार। तिमी अनुभूतिको सागर। तिमी पदयात्राको सारथि र यात्री। तिमी कहिल्यै नटुङ्गिने बाटो। हेरेर कहिल्यै धित नमर्ने तिम्रो सौन्दर्य। प्रथम स्पर्शमा मैले भेटेको हिमाल। प्यारी–प्यारी अमादब्लम तिम्रो काखमा बस्न पाउनुको सौभाग्य मेरो।

अमादब्लम तिम्रो कस्तो जादु हो ? कस्तो मन छुने दृश्यको खानी हो ? फर्केर आएका यात्रीहरू पनि फेरि फर्कीफर्की हेरिरहेका। हिँडिरहेका यात्रीहरू पनि आँखा जुधाएर रमाइरहेका। हेरेर नअघाइने रहेछ अमादब्लमलाई। दृश्य ओझेलमा नपरुन्जेल हेर्न मन लागिरहँदो रहेछ अमादब्लम तिमीलाई। अमादब्लमको आकर्षण। हिमालको आकर्षण। सौन्दर्यको आकर्षण। प्रकृतिको आकर्षण।

प्रेममय अनुभूतिहरूको आलेखमा अमादब्लमका प्रत्येक इन्द्रेणी रङ–किरणहरू ! मधुरो, धमिलो रङहरूको लाली पोत्दै अस्ताउँछन्। अनि हिमालको शिरलाई सुनले लेपन गर्दै बिहान भएर उदाउँछन्। क्रमशः चाँदी रङमा बदलिँदै फेरि निलो रङमा रूप फेर्दै हिमाली छविको बहुरूपी रङ–सौन्दर्य सम्प्रेषण गर्दै।

हिमाली ताँतीहरूमा बेग्लै रूप–लावण्यले युक्त। घामको लालीमा तिम्रा अङ्ग–अवयवका रङहरूका सुन्दरता बिछट्टकै बिम्बमा रूपान्तरित हुने रहेछ। दिव्य अनुभूतिहरूको खानीमा अमूल्य ज्वाहरत तिमी। मुस्किलले यहाँसम्म आइपुग्नेहरू भाग्यमानी नै हुन्।

जसले सर्वाधिक सुन्दर हिमाललाई आँखाकै सामुन्ने देख्न पाए। र, उनैको काखमा लुटुपुटु लुट्पुटिँदै जीवनको ठुलो सफलता भेट्न सके। जहाँ भनेजति खुसीको बाढी आउने रहेछ। पुग्न सकेजति र हिँड्न सकेसम्म पाइला दौडाउँदै अमादब्लमको काखैमा घुप्लुक्क निदाइने रहेछ। चिसो तापक्रममा पनि साह्रै न्यानोपनको आभास।

वास्तवमा अमादब्लमसँगको ‘मिलन–महसुस’ एकप्रकारले स्वर्गीय सुखको सुस्केरा र शान्ति हो। जहाँ मिल्छ जिन्दगीकै असीम आनन्द र खुसीहरू। जहाँ भेटिन्छ प्राकृतिक दृश्यावलीका लस्कर मार्गहरू।

अमादब्लमको सन्निकट काखैमा टुसुक्क बसेर निलो आकाशमा आँखा डुलाउनु, अनुभूतिहरूको वेगमा बतासिँदै भावनाको ढुङ्गा चढ्नु, नवीन अनुभवका कोसेली चाख्दै र चखाउँदै सुस्तरी हिँड्नु, आहा ! यिनै हुन् प्रिय जीवनको मन छुने क्षणका बसिबियाँलाहरू। यही हो लामो यात्रापछिको गन्तव्यको दृश्य–परिदृश्य।

नवोदित प्रेमको प्रथम मिलनजस्तो। बिनाबोलचाल मौन संवादका कति मायालु बुझाइहरू। समय गुज्रिँदै जाँदा आँखाको हेराइमा प्रणय–संलापको एक अव्यक्त पलजस्तो। घाम ओरालिँदै झर्दा, दिन ढल्किँदै गर्दा, थकाइ बिर्सिंदै बस्दा, हेराइमा भुलिँदै रमाइरहँदा अमादब्लमसँगको हेराहेरको क्रम झन् गहिरो, झन् आत्मीय र आकर्षक हुँदै जाने रहेछ।

वास्तवमा अमादब्लमको काखमा बस्नु भनेको आमाकै काखमा बस्नुजस्तो। स्वयम् अमादब्लम पनि आफ्नो प्यारो बच्चालाई काखमा लिएर बसिरहेजस्तो। दिव्य आकृतिको उपस्थिति।

निर्मिमेष हेराइ। हेर्नुको घडी गुज्रिएको पत्तो छैन। प्रणयपथको अविराम यात्राजस्तो। यौवनका उन्मादले भरिएको उन्मत्त अंगजस्तो। तथापि उत्ताउलो उपस्थिति छैन। सरल, सामान्य यौवनका बहाव तर त्यसमा छ मन हर्ने, आँखा लोभिने अनेकौं दृश्य–संसारको संरचना! सभ्य, सुस्वादु र सुन्दर। सम्भ्रान्त सौन्दर्यले सुसज्जित अमादब्लम तिमी!

अमादब्लम एक अनुपम प्राकृतिक विरासत–बिम्ब। हरेक यात्रीका आँखामा स्पर्श गर्न आउने। हरेक यात्री अमादब्लमलाई देख्न र भेट्न व्याकुल। अमादब्लमकै काखमा आफूलाई विश्राम गराउन आतुर।

अमादब्लमसँग साक्षात्कार भई सर्वोत्तम सन्तुष्टि र सुखको प्राप्तिमा हराउन अग्रसर। आमाको पवित्र ममता खोज्न आएका यहाँसम्म। आमाको काखमा लुटुपुटु हुन मरितरी आजसम्म। आमाको वात्सल्य पाउन लालायित मजस्तै सयौं यात्रीहरू दिनदिनैको पैदलयात्रामा आइरहेका।

अतः सभ्यताको साकार साक्षात स्वरूप तिमी। तिमीसँगको देखा–भेटमा कति आह्लाद। कति हर्षका आभासहरू अघाउँजी भएर पनि फेरि भोकै। जति हेरे पनि, जहिले हेरे पनि अतृप्ति नै अतृप्ति। बाँकी नै रहिरहने हेर्नलाई।

हेरेर घटघटी जति पिए पनि आँखाको प्यास काकाकुल नै रहने। कस्तो अचम्मको आकर्षण अमादब्लम तिम्रो? तिमीसँग नजिकिएर कहिल्यै नअघाइने रहेछ। तिम्रो काखमा सधैं बसिरहन मन लाग्दोरहेछ।

सीमाहीन खुसीहरू। कल्पनातीत दृश्यहरू। अनुभूतिमय पलहरू। हर्षका आँसुहरू। निःशब्द मनका सन्नाटाहरू। हेराइका आआफ्ना आँखा र मनहरू। बुझाइका आफ्नै अवधारणाहरू। कति कल्पिनु, कति सम्झिनु, कति बिर्सिनु? अथाह यात्राका आयामहरू जस्तै। पुगेर कहिल्यै नसकिने बाटो उस्तै उस्तै।

कति प्रिय अमादब्लम तिमी। हेर्नेहरूको आँखाको प्यास नबुझ्ने। हेर्नुको धित नमर्ने। हेराइको भोकले पेट नभर्ने। जति हेरे पनि, झन् झन् हेरिरहन मन लाग्ने। अमादब्लमको साक्षात् स्वरूप कति मनमोहक!

बाटोकै छेउ, दुधकोसीपारि, पहाडकै पल्लोपट्टि, आँखाकै नजिक प्राकृतिक स्वरूपमा तिमी। सदैव सजीव, हरदम जीवन्त तिमी। प्रचण्ड घामको तापमा पनि पग्लिएर नसिद्धिने हिउँ। हिमपातको अविरल भेलबाढीमा पनि बगेर नरित्तिने हिमाल। अटल, अमर हिमाल ! शानले उभिएको। गौरवले धपक्क बलेको। ७९८० मिटर उचाइमा चुलिएर बसेको। हजारौं वर्षदेखि उस्तै, आज पनि त्यस्तै। र, भोलि पनि उस्तै रहिरहने छ।

अमादब्लमको काखमा सौन्दर्यको आकाश छ। सौन्दर्यको महासागर छ। त्यसैले छिमेकी देशसँगै समद्रपारिका साहसी यात्रीहरू यहाँ आउँछन्, आइरहन्छन्। हिमाललाई नजिकैबाट देख्नुको मज्जा लिन्छन्। अमादब्लमको काखैमा रमाउनुको आनन्दले लोभिएर जान्छन्।सुन्दरताको वर्णन र विवरणको हिसाब छैन। शानमानले भरिएको हिमाली वैभव। आउने र जाने पर्यटकहरूको गन्ती छैन। पाहुनापासा यात्रीजनलाई निम्त्याउनै पर्दैन। कसैले बोलाउनुपर्दैन। यात्री आफैं हुलका हुल आइरहेका छन्।

भिडमा भिड अमादब्लम हेर्ने र आरोहण गर्नेहरू। एकै देश, एउटै महादेशका होइनन् यात्री। तिनीहरू देश देशका छन्। पटकौं आएर पनि हेर्न अझै नपुगेका अतिथि आत्माहरू। एउटै देशका पनि अनेकौ सहर र गाउँका प्रकृतिप्रेमी मनहरू ठुलो उत्साहले ओइरिएका छन्।

हरेक यात्री घुम्नुको नाउँमा घुम्नु मात्रै मनसाय छैन उनीहरूको। अनेक उद्देश्यले आएका छन्। अनेक रहरले, अनेक चाहना बोकेर, अनेक अभिप्रायले अभिमुख भएर आएका छन्। जैविक विविधताको रहस्य उस्तै। स्थानीय जीवन र संस्कृतिको जिज्ञासा त्यस्तै।

कठिन र लामो यात्राको निरर्थक उपलब्धी होइन। सार्थक र समृद्ध सुखद प्राप्तिका निम्ति यात्रीका लस्कर बाटैभरि हिँडिरहेको भेटिन्छ। हिँड्नुको हैरानी केही होइन। पुग्नुको उपलब्धी धेरै ठुलो हुने रहेछ।

अमादब्लमको बेग्लै छाप, अर्कै अनौठो छवि। अमादब्लमको काखमा सुखमय भावनाका चाङहरू। अटेसमटेस अनुभूतिका भेलहरू। लिन सक्नेले लिइरहेका छन् प्रकृतिको स्वाद। ग्रहण गर्नेले गरिरहेका छन् प्रकृतिका मिठा मिठा दृश्यहरू। अनुभूति गरेर मनको क्यानभासमा आकृतिबद्ध गरिरहेका छन् पदयात्रीहरूले।

त्यसैले अमादब्लमकै काखमा भेटिन्छन्– आँखाले पिएर अघाउनेहरूको जमात। तस्बिर खिचेर रमाउनेहरूको जमात। मनमा राखेर सजाउनेहरूको जमात। जीवनभरिका लागि हृदयमा राख्नेहरूको जमात। यो जमात सच्चा अमादब्लमप्रेमी मनहरूको हो।

हिमाल प्रेमीहरूको प्रेम हो। प्रकृतिप्रेमीहरूको समर्पण हो। हेर्नु र हेराइको, बुझ्नु र बुझाइको अलग्गै दर्शन। कतिपय यात्रीहरू हिँड्छन्, हिँडिरहन्छन्। उनीहरूलाई कुनै कुराको, दृश्य–दर्शनको मतलब छैन। ती दिनदिनै ओहोरदोहोर गरिरहने भरिया हुन्। जसलाई भारी बोक्नु र त्यसबापत् ज्याला पाउनुसँग मात्रै मतलब छ।

अमादब्लमको आकर्षणले तिनको पेट भरिँदैन। तर जो खास धोको लिएर हिँडेको हुन्छ, उसका लागि परिकल्पनाको तस्बिरजस्तो। सपनाको सुन्दर संसारजस्तो। आरोहणपछिको खुसी र मिलेको अलौकिक अनुभूतिजस्तो।

अन्ततः अमादब्लमको सौन्दर्यले मन्त्रमुग्ध आँखाहरू ! स्वयम् नतमस्तक शिर। बिछट्टै राम्रो सुन्दरताले शोभित अमादब्लम। महालङ्गुर हिमशृङ्खलाको प्राङ्गणमा। दैवीशक्ति हो कि जस्तो गरी अद्वितीय विशिष्ट स्वरूप लिएर उपस्थित। अमादब्लम तिम्रो काखमा म मिठो सपनामा हराइरहेको छु।

प्रकाशित: १२ जेष्ठ २०८१ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App