१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

ए भरिया दाइ!

कविता

ए भरिया दाइ,

भन न भन

ए भरिया दाइ,

भन न भन

तिम्रो मुस्कानको दाम

हिंड्दाहिंड्दा

फुटेका पैताला लिई

कहाँसम्म पुग्ने हो?

यत्रो बडेमानको दायित्व, 

बोकेर तिमी

ककसको सामु बिसाउने हो?

भन न भन

ए भरिया दाइ,

एक काँधमा गोलभेडा

अर्को काँधमा कोभीको क्यारेट

बोकेर तिमी

कति दुरीका लागि?

कहिलेसम्म कति दगुर्ने हो?

भन न भन

ए भरिया दाइ,

लोभलाग्दा तिम्रा रहरहरू

बनिसके आदिमकालका खण्डहरजस्तै

भग्नावशेष बनेका केही खुशीहरू

डोको र नाम्लोले कहिले सम्म बाध्ने हो?

भन न भन

ए भरिया दाइ,

असन चौकका

साँगुरा गल्लीहरू जस्तै तिम्रा सपनाहरू पनि त

खुम्चिन थालेका छन्

चर्चरी फाटे जसरी फाटेका

तिम्रा कुर्कुच्चाहरू जस्तै

फाट्दै छन् तिम्रा लोभलाग्दा रहरहरू

र बग्दैछन् अश्रुधाराहरू

फाटेका रहर र बगेका आँशु

कहिलेसम्म रोकिनेछ

भन न भन

ए भरिया दाइ,

एउटा हातमा खाजाको पोको

अर्को हातमा सपनाको पोको

बोकेर तिमी

कहिलेसम्म यसरी दगुर्ने हो?

भन न भन

ए भरिया दाइ।

प्रकाशित: ६ जेष्ठ २०८१ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App