१) मुक्तक
ए चिकित्सक, आउनुस् म बाँचेको प्रमाण जुटाउन,
पत्थरकै बनेको छ यो दिल सक्नुहुन्छ त? टुक्राउन।
हजार सपना देख्ने यी आँखाहरू फेर्नुपरेको छ मलाई,
सक्नुहुन्छ त? रहर नै नजाग्ने कुनै औषधि त्यो दिलाउन।
२) मुक्तक
पहिले त तिम्रो ईशारा पनि छुरा हुनुपर्छ,
यो आँखा र त्यो आँखाको कुरा हुनुपर्छ।
साटिन्छन् पक्कै मुटुसँग मुटु यो हाम्रो,
याद राख चाहना मेरो नि पूरा हुनुपर्छ।
३) मुक्तक
लहरझैं उर्लिएर चाहनाले जीवनको किनार छोइदिन्छ,
ममता भरिएको आमाको चुम्बनले निधार छोइदिन्छ।
मलाई गर्व छ नेपाली नारी हुनुमा यसकारण सधैंभरि,
व्यथाको पहाड रोकेर हर मुस्कानले संसार छोइदिन्छ।
४) मुक्तक
सक्छौ लड्न? यो मनसँग लडेर देखाऊ।
सक्छौ पढ्न? आँखाको भाव पढेर देखाऊ।
मृत्यु बाँचिरहेको जिन्दगीको भर छैन केही,
सक्छौ चढ्न? त्रासको पहाड चढेर देखाऊ।
५) मुक्तक
टाढिंदा मबाट गाँठो नपरोस् मुटुमा, मन भारी नहोस्,
सुखको अनिकाल खनिएर आँसुको महामारी नहोस्।
मै सहूँला सारा अविश्वासको रोदन तिमी हाँसेर बाँच्नु,
नपोलोस् शान्तिले भतभती पीडाको भकारी नहोस्।
६) मुक्तक
लगाउन मिल्ने खोट जोसँग नि हुन्छ,
दिलमा अनेकौ चोट जोसँग नि हुन्छ।
संसारकै दुखी म भन्दै नहिंड यहाँ तिमी,
आफ्ना लागि एक भोट जोसँग नि हुन्छ।
७) मुक्तक
चराले आफ्नै स्वतन्त्र उडानमा खुशी भेट्छ,
मान्छे आफ्नो बेग्लै पहिचानमा खुशी भेट्छ।
यहाँ सबै खुशीकै पछि दगुरेको देख्छु अचेल,
प्रकृति पनि वासन्ती परिधानमा खुशी भेट्छ।
८) मुक्तक
अलिकति प्रेमी बन्नु, अलिकति पागल बन्नु,
समेटी मेरै प्यार बर्सने तिमी फेरि बादल बन्नु।
पुग्छ मलाई तिम्रो दिलको स्वच्छ मायाले मात्र,
सक्छौ भने आसुँ रोक्ने आँखाको गाजल बन्नु।
९) मुक्तक
धेरै मुस्किलले भ्रमपूर्वक जिउनु छ यहाँ,
तृप्त हुनलाई नै आँसु सारा पिउनु छ यहाँ।
हाँसेका मुहारहरू देखिन्छन् सबैको हजूर,
मुस्कानकै लागि यो अभाव सिउनु छ यहाँ।
१०) मुक्तक
अथाह तरल भावनाको बन्ध्याकरण हुन्छ कि नाइँ,
जीवनमा सम्बन्धको नयाँ वर्गीकरण हुन्छ कि नाइँ।
कोही जित्छन्, कोही जिताउँछन् यहाँ खेल मैदानमा,
सोच्छु चाहनाको पुन: सरल नवीकरण हुन्छ कि नाइँ।
प्रकाशित: ३ जेष्ठ २०८१ १२:२८ बिहीबार