१) मुक्तक
आफ्नै पौरखको भरमा कोही जीवन सुधार्न खोज्छन्,
लालची, ईर्ष्यालुहरू अरूलाई सधैं तल झार्न खोज्छन्।
परिश्रम बेचेर स्वाभिमानी, आत्मनिर्भर बन्नेलाई यहाँ,
कोखिलामा छुरी बोकी कोही बाहिर ठिक्क पार्न खोज्छन्।
२) मुक्तक
निम्छरालाई पनि सुन्दर जीवनको आस हुन्छ,
गरिखाने अवसर मिले जिन्दगी खास हुन्छ।
नङ्ग्रा जोत्ने ठाउँ छैन देशभरि खै कतै पनि,
सुनौलो सपना देखी विदेशिंदा यौवन लास हुन्छ।
३) मुक्तक
समान सृष्टि गरेको छ प्रकृतिले कसैलाई भेद छैन,
विभेद गर्नुपर्छ भन्ने लेखिएको दस्तावेज वेद छैन।
आस्था, श्रद्धा र ज्ञानको भण्डार वेदमै नभएको कुरा,
विकृति बनाएर भित्र्याउँदा समाजलाई खेद छैन।
४) मुक्तक
भित्रभित्रै दुर्गन्ध हुनेले बाहिर अत्तर छरेर हुँदैन,
गिद्धले झैं आफ्नो स्वार्थका लागि तल झरेर हुँदैन।
अनित्य छ मानव चोला मर्नुपर्छ एक दिन पक्कै,
अमरत्वको बाटो रोजौं नीच कर्ममा परेर हुँदैन।
५) मुक्तक
पहाडको छाती फोडेर झर्ने शक्ति हेरौं छहराको,
सधैं दृढ र अटल स्वाभिमानी शिर हेरौं पहराको।
विवेक र चेतनाको बिस्कुन छ मान्छेको मगजैभरि,
बगरको बग्रेटो हैन अघि बढ्न सिको गरौं लहराको।
६) मुक्तक
अभावै अभावले आफूलाई भुङ्ग्रोमा हालेको छु,
भाग्य खोटो रहेछ तुच्छ कर्ममा जीवन फालेको छु।
घर छोडेर विदेशिनु परेको सधैं गरिबीले डसेर हो,
श्रम बेचेरै भए पनि गौरवसाथ परिवार पालेको छु।
७) मुक्तक
पीडा र यातना लुकाएर भित्रभित्रै जल्नुपर्छ नारीले,
पितृसत्ताको कुकृत्य इशारामा सधैं चल्नुपर्छ नारीले।
धर्तीको शालीनता आकाशको विशालता भए पनि,
बाध्य भएर समाजको बेथितितिर ढल्नुपर्छ नारीले।
८) मुक्तक
समाजका विकृति कति थिचिएर मर्नुभयो,
महँगीको पहाड खसेर किचिएर मर्नुभयो।
भुइँ मान्छे भुइँको भुइँ सपनाहरूका चाङ छन्,
साँढेका बिचमा बाछाहरू मिचिएर मर्नुभयो।
९) मुक्तक
गर्विलो वात्सल्य चौतारीकी वैभव खानी हुन् आमा,
संस्कार र संस्कृतिकी प्रथम गुरु ज्ञानी हुन् आमा।
त्रिलोक चौध भुवनकी साक्षात्कार अधिष्ठात्री हुन्,
सन्तानका कुकृत्य बगाइदिने निर्झर पानी हुन् आमा।
१०) मुक्तक
विश्वास र भरोसा गर्न सके मातृभूमि नै संसार हो,
पौरखको बल र पैतालाको भर जीवन किनार हो।
सुनचाँदी, हिरामोती सबै फल्छ यहीं उर्वर भूमिमा,
पोखौं श्रम आफ्नै देशमा बाँच्ने प्रमुख आधार हो।
प्रकाशित: ३ जेष्ठ २०८१ ०७:४७ बिहीबार