१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

लाेकमा ल्याइयाे रमेन्द्र कोइरालाकाे जडौरी

नारी स्रष्टा समाज नेपालले साहित्यकार रमेन्द्र कोइरालाको जडौरी लघुकथासङ्ग्रहकाे लोकार्पण गरेकाे छ।

नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुलकाे सभाध्यक्षता तथा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण गरिएकाे हाे।

पानसमा बत्ती बालेर शुभारम्भ भएकाे कार्यक्रममा सभाध्यक्ष ममता मृदुल, प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, विशिष्ट अतिथि प्राडा गोविन्दमान सिंह कार्की, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसिहरि कोइराला, नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथाकार खगेन्द्र बस्याल लगायतले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सुरूवाती घडीमा उपेक्षा गरिएकाे लघुकथा विधा फस्टाउँदै गएकाेमा खुसी व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि तथा समालाेचक प्राडा गोविन्दमान सिंह कार्कीले ऐतिहासिक अवस्था बताउँदै लघुकथा पुरानै र स्थापित विधा भएकाे बताए।

लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइरालाले लघुकथा कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले लघुकथाकार आफैं विश्लेषक भएकाले संग्रहका लघुकथा उम्दा रहेकाे बताए।

त्यस्तै अर्काे समीक्षक दीपक लोहनीले लघुकथामा समाजका विविध पक्षकाे चित्रण गरिएकाे बताए। उनले संग्रहका प्रायः सबै लघुकथाकथा छाेटाेमीठाे, रूचिकर र कुतूहलमय भएकाे बताए।

लाेकार्पित कृतिका कृतिकार रमेन्द्र काेइरालाले जीवनमा शिक्षाकाे ज्याेति छर्ने प्रथम शिक्षक आफ्नाे बाबा कपिलमनि काेइरालाकाे वार्षिक पुण्य तिथिकाे अवसरमा कृति लाेकार्पण गरेर पुर्खाकाे सम्मान गरेकाे बताए।

कार्यक्रममा नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, साहित्यकार खगेन्द्र बस्याल र गङ्गा भेटवालले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा कृतिबाट तुलसीहरि कोइराला जडौरी, दिपक लोहनी हतार, रन्जना पराजुली लम्साल महिनावारी, शान्ता तिम्सिना गोसाई, खगेन्द्र बस्याल हाई र रामकुमार पण्डितले जन्मदिनको उपहार लघुकथा वाचन गरेका थिए।

नारी स्रष्टा समाजका सचिव रञ्जना पराजुली लम्सालले सञ्चालन गरेकाे कार्यक्रममा समाजका काेषाध्यक्ष विन्दु अधिकारी ढकालले स्वागत मन्तव्य दिएकी थिइन्।

कार्यक्रममा लघुकथा समाज नेपालका सचिव श्रीबाबु कार्की, दिव्य गिरी, लघुकथा केन्द्र वाग्मती प्रदेशका अध्यक्ष इन्दिरा चापागाई, भूगाेल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, लघुकथा साैन्दर्यका संस्थापक श्रीराम राई, कात्यायन, विष्णुप्रसाद उप्रेती, निर्मला बराल, कल्पना भण्डारी, विक्रमभक्त जोशी, पवन बुढाथोकी, प्रार्थना खनाल, नवराज पोखरेल, अन्जु शर्मा, कमला पराजुली, एन्जल नीलु, शान्ति भण्डारी दाहाल, सावित्रा कोइराला, सुनिता निरौला पौडेल, रमेश सुवेदी, गायत्रीकुमार चापागाईं लगायत दर्जनाैंकाे उपस्थिति रहेको थियाे।

कार्यक्रमको सभाध्यक्ष ममता मृदुलले मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरेकी थिइन्।

प्रकाशित: १ जेष्ठ २०८१ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App