२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

परिवारले थाहा नपाएको मेरो प्रेग्नेन्सी

एक दिन घरमा ससुरा बुबाको श्राद्ध परेको थियो। हामी सबै छोराबुहारी, छोरीज्वाइँहरू बिहानैदेखि ठुला जेठाजुका घरमा जम्मा भएका थियौं। छोराहरू गफगाफ, आउने पाहुना, भान्जाभान्जी, आफन्तको स्वागतमा व्यस्त थिए। हामी बुहारीहरु भान्छामा प्रसाद बनाउने, खानाको तयारी, पूजा सामग्रीको तयारी यस्तैमा व्यस्त थियौं।

पितृ कार्यमा बुहारी सक्रिय भएर शुद्धरूपमा विधि गरेमा पितृ खुसी हुन्छन् भन्ने मान्यता छ। यसमा हामी सबै बुहारी खुसी भएर गर्छौं पनि। छोरी, भान्जीहरू साथमा सहयोग गर्न तत्पर हुन्छन्। यसलाई राम्रो संस्कारका रूपमा लिन्छौं। त्यो दिन मेरो कार्यालयमा विशेष मिटिङ परेको र छुट्टी लिने अवस्था नभएकाले मलाई बिहान १० बजे नै कार्यालय पुग्नुपर्ने थियो। म त्यतिन्जेलमा भान्छामा सघाउने काम सकी कार्यालय जान तयार भएँ। श्रीमान् मलाई छोड्न जान तयार हुनुभयो।

भर्‍याङबाट तल जाँदै थियौं, मेरा साहिँला ससुराका छोरा (सबैभन्दा जेठा जेठाजु) ले ठुलो स्वरमा ‘बुहारीलाई के ख्वाएर पठायौ ?’ भन्दै भान्सातिर गएर सबैसँग मुखामुख गर्नुभयो। सबै आश्चर्यमा पर्नुभयो र भन्नुभयो, ‘दाइ, बुहारीले श्राद्ध नसकी खान हुन्छ र ?’ दाइ फेरि बोल्नुभयो, ‘उसको अवस्था हेर्नुपर्दैन ? यो अवस्थामा उसले कुनै विधि गर्नुपर्दैन। उसलाई तातो दुध एक गिलास र फलफूल खुवाएर पठाओ।’ अझै पनि कसैलाई किन भन्ने पत्तो थिएन।

म लाजले भुतुक्क भएको थिएँ। ‘होइन दाइ, म जान्छु, काम सकेर आएर खाउँला नि।’ दाइले नखाई जान दिनुभएन। तर मेरा जेठानी, आमाजूहरू सबैलाई आश्चर्य लाग्यो र सबैले मलाई हप्काए-‘कति महिना भयो दुई जिऊ भएको ? थाहा दिनुपर्दैन ?’ फेरि मलाई जेठाजुले सपोर्ट गर्नुभयो-यो थाहा दिने कुरा हो ? देखेर थाहा हुन्न ? आफैं थाहा पाउने कुरा हो।

मेरो गर्भको शिशु आठ महिना पुगेर नौ महिना लागिसकेको थियो। मेरा श्रीमान्ले कतिपटक दाइभाउजूहरूलाई त भन्नुपर्छ भन्दा पनि मलाई अप्ठ्यारो लाग्थ्यो र भन्थें-समय आएपछि थाहा भइहाल्छ नि।

हुर्कंदै गरेको गर्भ, मेरो लवाइ, मैले व्यवस्थापन गरेको पहिरन र व्यवहारले आठ महिना पूरा हुँदासम्म आफ्नै परिवारका सदस्यलाई समेत थाहा नहुँदा पनि मलाई खासै असजिलो महसुस भएको थिएन किनभने त्यो प्राकृतिक अवस्थालाई लाजको घुम्टोले छोपेर राख्न नै मलाई सहज लाग्थ्यो।

मेरो खुसीलाई सारीको पल्लाभित्र लुकाएर मनमनै खुसी व्यक्त गर्न मन लाग्थ्यो। मेरो गर्भमा हुर्किइरहेको शिशु छोरा थियो कि छोरी ? भिडियो एक्सरे गरेर हेरेको पनि थिइनँ। जे भए पनि मेरो सृष्टिलाई स्वागत गर्ने तयारीमा हृदय तरंगित हुन्थ्यो। उसको र मेरो संवाद मनमनै हुन्थ्यो।

एक अर्कालाई प्रेमको आदानप्रदान गर्थ्याैं हामी। कतिपय खुसी आफैंभित्र र आफैंसँग रहे पनि आनन्द आउँछ भन्ने मेरो सोच थियो। समय बित्दै जाँदा कसरी व्यवस्थापन गर्ने, के गर्ने ? श्रीमान् श्रीमतीबिच र मेरी आमासँग भलाकुसारी हुन्थ्यो।

स्वस्थ खाना, सकारात्मक सोच र सम्यक् व्यायामलाई निरन्तरता दिँदै आफ्नो काम पनि नियमित नछोडेर प्रेमिल र खुसी भावका साथ दिन बितिरहेका थिए। किताब पढ्ने, पूर्व तयारीबारे आमासँग र कार्यालयका सिनियर साथीहरूसँग जानकारी लिने गर्थें, ताकि प्राकृतिक र सहज रूपमा जन्म दिन सकूँ भनेर सचेत रहन्थें।

मंसिरको जाडो, खाना खाएर, सरसफाइ सकेर आराम गर्छु भनेर सोफामा बसेको थिएँ। दसपन्ध्र मिनेटपछि (रातको १० बजे) श्रीमान्लाई भनें-अब अस्पताल जानुपर्छ, भाउजूलाई बोलाउनुपर्ला। जेठानी दिदी पैदल १० मिनेटको दुरीमा हुनुहुन्थ्यो। ‘भाउजू, अस्पताल जानुपर्ला कि जस्तो पो छ त।’

उताबाट जवाफ आयो, ‘होइन होला, यो जाडोमा, यो राति। उसलाई के थाहा छ र पहिलो पटक हो। आत्तिएर होला। भोलि बिहानै जाउँला नि हुन्न ?’ मेरो मुखमा हेर्दै श्रीमान्ले इसारा गर्नुभयो-के गर्ने ? मैले भनें, ‘ट्याक्सी बोलाउन जानुपर्छ।

ट्याक्सी आउन लाग्यो भाउजू, तब जेठानी दिदी दौडेर आउनुभयो। श्रीमान् मोटरसाइकलमा जानुभयो। हामी ट्याक्सीमा टिचिङ अस्पताल लाग्यौं। ट्याक्सीभित्रै दिदीले भन्नुभयो-‘अनि यो तयारी सबै कहिले गरेको ? एक्कासी अस्पताल जानुपर्छ भनेर कसरी जान्यौ ?’

दिदी मैले सबै पूर्व तयारी गरेर बसेको थिएँ। सबै कुराको जानकारी राखेको थिएँ। अस्पताल पुगेको दुई घण्टा नबित्दै सहज रूपमा बच्चा जन्मियो। दिदी र श्रीमान् बाहिर निदाइसक्नुभएको रहेछ।

नर्स कराउँदै आएर यो सुत्केरीको कुरुवा को हो ? बच्चाको लुगालगायत सामान चाहियो भन्दा ब्युँझेर हेर्न आउनुभयो। यो पंक्तिकारको आफ्नो यथार्थता थियो, समय र सोचअनुसारको कुरा थियो। म जस्तै धेरैको परिस्थिति र समय यस्तै थियो होला।

बेबी सावर र सामाजिकता

केही वर्षयता बेबी सावरको संस्कृति अरू नयाँनयाँ रूपमा विकसित हुँदै गएको छ। यो ठिक कि बेठिक भन्ने प्रश्न र तर्क भन्दा पनि यसलाई कसरी लिने प्रत्येक व्यक्तिको आफ्नो सोचाइमा भर पर्छ। सोच सबैको एकै हुन्छ भन्ने जरुरी छैन। आजकल त झन् जेन्डर सेन्सेटिभिटीको ख्याल गर्नुपर्ने समय छ। अरूको विचार र जीवनशैलीमा के, किन, कसरी सोध्ने र निजतामाथि प्रश्न उठाउन पाइने छैन।

हरेकको जीवनशैली, ढाँचा, तरिका र निजताप्रतिको स्वतन्त्रतामाथि आफ्नो तर्क र प्रश्न गर्नु उचित मानिन्न। त्यसो त सामाजिक सञ्जालमा पोस्ट हुने विभिन्न सामग्रीले सामाजिक प्रश्न उठ्दा सहज मान्नुपर्ने पनि हुन सक्छ र बेबी सावरका, प्रेग्नेन्सीका पोस्टहरू आउँदा कतिलाई चित्त बुझ्छ, कतिलाई बुझ्दैन अनि सामाजिक सञ्जालमै बहस हुन थाल्छ।

बेबी सावरले सामाजिक मित्रता, हेरचाह, सहयोग र सुरक्षामा सघाउ पुर्‍याउँछ भन्ने मनोसामाजिक भावना पनि हो। आफन्त या साथीको प्रेग्नेन्सी थाहा पाएर त्यसलाई उत्सवका रूपमा मनाउनु खराब पक्ष पक्कै होइन। तर, व्यक्तिगत जीवन र खुसीलाई सामाजिक सञ्जालमा छताछुल्ल पार्दा त्यो व्यक्तिगत नभई सामाजिक विषय बन्न पुग्ने हुँदा सामाजिक सञ्जालको कसरी सदुपयोग गर्ने भन्ने कुरामा चाहिँ सचेत हुँदा राम्रो होला कि ?

अभिभावकत्वको महसुस

कतिपय आमाबुबालाई प्रेग्नेन्सी र बेबी सावर उत्सवबाट आफू आमाबुबा बन्न लागेको खुसी साट्न मन लाग्नु नितान्त व्यक्तिगत खुसीको कुरा हो। यसले जिम्मेवारी बोध, जीवनको नयाँ आयाम, नयाँ साहस, हौसला र अनुभवलाई सेयरिङ गर्दा कतिपय सहयोग र सुझाव पनि मिल्छ। त्यसकारण पनि यो व्यावहारिक र वैज्ञानिक दुवै मान्न सकिन्छ।

तथापि प्रकृति, संस्कृति र विकृतिलाई नजान्दा जीवनमा राम्रो गर्न खोज्दाखोज्दै कतिपय देखासिकी र प्रतिस्पर्धामा जीवन मोडिएको हुन्छ। गर्भावस्था, शिशुको जन्म, यी सबै रीति प्राकृतिक हुन्। मन, विचार र कर्मले परिपक्व हुन दिने कोसिस गर्नु प्राकृतिक जीवनशैली हो।

तर विकसित भौतिकता र प्रविधिका कारण जीवनशैली अप्राकृतिक हुँदै गएको र बनाउने कोसिस गरिएको पनि छ। प्राकृतिक चिजलाई यथावत कायम राख्दा संस्कृतिको विकास हुन्छ भने त्यसलाई तोडमोड गरेर प्रतिस्पर्धा र देखासिकीको जीवनशैली विकास भयो भने विकृतिलाई अँगाल्न पुगेको थाहै हुँदैन।

सुरक्षित मातृत्व शिक्षा र सहयोग, आवश्यक पोषण, हेरचाह, हौसला, मनोबल विकास, सामाजिक परामर्शजस्ता धेरै आयामबाट नव गर्भवतीहरूलाई र परिवारलाई सहयोग गर्न जरुरी हुन्छ। यो व्यक्तिगत र सामाजिक दायित्व पनि रहन्छ।

जीवनको नयाँ आयाम र खुसीमा सबैले साथ र सहयोग दिनु मानवीय धर्म पनि हो र पनि यसलाई कसरी व्यावहारिकता र निजता दिने भन्ने आआफ्नो सोचमा निर्भर हुने हुँदा ठिक र बेठिक भन्ने बहस जरुरी छैन। खुसी, प्रेमिल र सौहार्द जीवन जिउनु जीवनको उद्देश्य हो। त्यो जुनसुकै समय र परिस्थिति किन नहोस्।

प्रकाशित: २२ वैशाख २०८१ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App