२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

सूर्यको तापबाट शीतलता प्रदान गर्न जुडशीतल

मधेसका जिल्लामा शनिबार सतुवाइन (सातु खाने) पर्वको समापनसँगै आइतबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ। यो पर्वमा बिहानै घर र वस्तीका मान्यजन (जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जल सिञ्चन गरी थपथपाएर आशिर्वाद दिने चलन छ।

सूर्यको तापबाट व्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ। जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शीतल जलले ‘जुडाउनु’ को कारण हो-मस्तिष्कले शीतलता पाई वर्षभरि काममा सफलता पाइरहुन्।

यो पर्वमा सूर्य उदाउनुअघि आमा–बुवा, काका–काकी र हजुरबुवा तथा हजुरआमाहरूले एक हातमा चोखो पानी भरेको लोटा बोक्छन् र अञ्जुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आशिर्वाद दिने चलन छ।

‘जुडशीतल प्रकृति पूजाको पर्व हो,’ मैथिली भाषाका प्राध्यापक उमेशकुमार झा भन्छन्, ‘जुडशीतलमा मानव मात्र नभई रुख बिरूवासमेतलाई जल सिञ्चन गर्ने चलन छ।’

वैशाख सक्रांन्तिका दिन सुरु हुने यो पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ। मधेसमा कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्छ। यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कुलदेवता)लाई चढाउने परम्परा छ।

बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ। त्यसैगरी, गुणकारी मुन्गा (शीतलचिनी) को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, भिन्डी, फर्सी, भान्टा, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन्।

वैशाख सक्रांन्ति अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशीतल’ पर्वको पहिलो दिन चना (बदाम), जौ, मकै, कँगनो , गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गर्ने प्रचलन छ। यद्यपि यो सम्पूर्ण प्रचलन मधेसमा खुम्चिए पनि चनाको सातुग्रहण गर्ने चलन अझै व्यापक छ।

बढ्दो गर्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन्। पहिलो दिन सातु खाइने विधिलाई मधेस र मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ। पर्वको दोस्रो दिन अर्थात् वैशाख–२ गते घरघरमा परिवारका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घजीवनको आशीर्वाद दिँदै नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने कामना गर्छन्।

जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस पर्वलाई मिठो खाने पर्वको रूपमा समेत लिइन्छ।

विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनीलगायतका परिकार पकाई इष्टदेवलाई चढाएपछि मात्र भोजन गर्ने गरिन्छ। सो दिन  (वैशाख २ गते) राति चुल्होमा आगो बालेर खाना पकाउन नहुने मान्यता चलिआएको छ। बिहान पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाउँदै आएको छ।

जुडशीतलकै दिनदेखि तुलसी चौरा वा शिवलिंगको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ। कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ। यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ। सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गर्ने गर्छ। यो पर्वको साइत पारेर इनारको पानीमा चुना राखी स्वच्छ बनाउने ग्रामीण चलन छ। यद्यपि इनार गाउँमासमेत कमै भेटिन्छ।

आरामको क्षणमा आत्मीयता बडाउनका लागि मनाइने यो पर्वले भ्रातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ। जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईवस्तु, रुख बिरुवासहित सबै जीवप्राणीलाई पानीले सिञ्चित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भ्रातृत्व, सद्भाव र प्रकृतिको पर्वको उपमा दिने गरिएको छ।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ। विक्रम संवत्का आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ। जुडशीतल दुई दिवसीय पर्व हो। दोस्रो दिन अर्थात् वैशाख २ गते अति नै भव्य र धुमधामका साथ मनाइन्छ।

यो दिन पारेर सिरहाको महेशपुर पतारी गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक पताल पोखरीमा सन्तानको भाकल गर्दै नुहाउन आउनेको भीड लाग्छ। त्यसैगरी, ब्रम्हान, पडकडियागढ, मानिक दहमा, सिरहाको सलहेश मन्दिरमा मेला लाग्छ। वैशाख १ गते फूलबारी मेला भर्न आएका भारत र अन्य जिल्लाका श्रद्धालु मेला भरेर घर फर्कन्छन्।

नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले दशकौंदेखि शुभकामनासँगै ‘फूल’ उपहार दिँदै आएको छ। लहान नगरपालिकास्थित सलहेस फूलबारीमा फुल्ने माला आकृत फूल यसपालि फुलेन। प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार फूल हेर्न लागेको मेला अवलोकन गर्न आएकाहरू निराश भएर फर्केका छन्।

सलहेस फूलबारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दसकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्। यसपालि पनि दर्शनार्थीको भीड फूलबारीमा उर्लियो तर उनीहरू फूल हेर्न नपाएपछि निराश भएर घर फर्के।

लहान बजारदेखि तीन किलोमिटर पश्चिम–दक्षिणमा अवस्थित सलहेस फूलबारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक नयाँ वर्षमा अकर्षण बन्ने गरेको थियो। यस फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्षसँगै माला आकृत फूल फुल्थ्यो। यही दिन लाग्ने फूलबारी मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गरेको थियो।

नयाँ वर्षको दिन मिथिलावासीको मन फूलबारीमा तानिन्थ्यो। सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’को विशेष प्रजाति भएको बताइन्छ। यद्यपि यसबारे वैज्ञानिक अध्यन अझै ओझेलमा छ। मालिनी मन्दिरका पूजारी नागेश्वर धामीका अनुसार नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो। दसौं पुस्ताका पूजारी धामी भन्छन्, ‘सुरुवातदेखि जुन रूखमा यो फूल फुल्यो अहिलेसम्म उही रूखमा उस्तै स्वरूपमा फुल्दै आएको छ।’

अरू फूल मुर्झाएर तिनका पात भूँइमा झर्छन् तर, यो फूलको एउटै पत्र भूइँमा नझर्ने पूजारी धामी बताउँछन्। यसपालि तिथिको हेरफेर र मलमासका कारण फूल फुल्ने समय अघिपछि भएको हो,’ उनले भने।

फूलबारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न देशका विभिन्न स्थान तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट समेत श्रद्धालु आउने गर्छन्। भारत बिहारबाट आउनेहरूमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पूजारी बताउँछन्। राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीयमा यो जातिको संख्या उल्लेख्य हुन्छ।

लोकविश्वास

फूलबारीमा फूल शृंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेससँंग औधी प्रेम गर्थिन्, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रूपमा प्रकट हुने लोकविश्वास छ। नयाँ वर्षसँगै फुल्ने यो फूल द्वैविक शक्तिको प्रतिक हो, धार्मिक उपज हो, वा कुनै वनस्पतिक विशेषता यसबारेमा ठोस अनुसन्धान भएको छैन। यो फूल नयाँ वर्षमा पूर्णरूपमा फुल्छ भने नयाँ वर्षको दोस्रो दिनदेखि विस्तारै हराउँदै जाने पूजारी धामीको दाबी छ।

यसपालि फूलबारीमा फूल नफुलेपछि मानिसमा कारणबारे कौतुहलता छ। फूल नफुल्नुमा धार्मिक, लोकविश्वास, तिथिमितिको हेरफेर, मिथकलगायतका तर्क प्रस्तुत भइरहेका बेला यसका वैज्ञानिक कारणसमेत औंल्याइएको छ।

डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले यसपालि फूलबारीमा फूल नफुल्नुमा वातावरण प्रदूषण र जलवायु परिवर्तण मुख्य कारण रहेको बताए। उनका अनुसार सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्ग निर्माण हुँदैछ।

चाइना रेल्वे नम्बर २ ग्रुप कम्पनीले तीन वर्षदेखि राजमार्ग निर्माणको काम गरिरहेको छ। सो क्रममा उनले प्रदूषण नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीका उपाय नअपनाइएको पाइएको छ।

सावधानी नअपनाउँदा धुलोका कणहरू हावा र सवारीसाधनसँग व्यापक उडिरहेको छ। सो कण वातावरणमा मिसिएर यस भेगका व्यापक प्रदूषण फैलाएको छ। जसको प्रभाव फूल नफुल्नुमा पनि परेको झाको भनाइ छ।

धुलो र प्रदूषणका कारण फूलका कोपिला परिपक्व हुन बढ्ता समय लाग्ने उनले बताए। अर्को जलवायु परिवर्तणको प्रभावले पनि यस्तो भएको हुनसक्ने उनी बताउँछन्। फूलबारी जंगलभित्रको सिमसार क्षेत्र पनि खुम्चिँदै गएको छ।

जंगल वरपर सहर विकसित हुँदै गएपछि चराचुरुंगीसमेत बासस्थान परिवर्तन गर्न थालेका छन्। जसका कारण परागसेचनमा ढिलाइ भएर फूल फुल्न समय लागेको उनको भनाइ छ। 

प्रकाशित: २ वैशाख २०८१ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App