९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

नेपथ्यको नयाँ वर्ष स्वागत बिर्तामोडबाट

फाइल तस्वीर

नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपाली सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले पूर्वी नेपालको बिर्तामोडमा सांगीतिक प्रस्तुति दिने भएको छ। नेपथ्य ब्याण्डलाई व्यवस्थापन  गरिरहेको नेपालयका अर्पण शर्माले आगामी चैत ३० गते बिर्तामोडमा लोक रक भाकाका गीत प्रस्तुत गर्ने जानकारी दिए।

‘बढ्दो व्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीव्र वृद्धि भएको बिर्तामोडमा यसअघि नेपथ्यले ट्राफिक व्यवस्थापनमा योगदान दिन कन्सर्ट गरेको थियो,’ उनले भने, ‘यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धि भएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो । त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै सुन्दर शान्त नेपाल अभियानअन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरू सुनाएको थियो।’

बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको  नेपथ्यले यसपटक बिर्तामोडको प्रमुख खेलकूद आयोजना झापा गोल्डकपलाई योगदान दिने उद्देश्यका साथ नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको हो।

‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रूपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक अमृत गुरुङले भने, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्याण्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौं।’

उनले नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि आफु सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमा बिर्तामोडका संगीतप्रेमीमाझ पुग्न व्यग्र भइरहेको बताए।

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो। आयोजक सुमन धिमालका अनुसार सदाझैं त्यहाँको कन्सर्ट पनि निर्धारित समयमा सुरू हुने बताए।

कन्सर्टमा नेपथ्यका गायक गुरुङलाई ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।

प्रकाशित: २७ चैत्र २०८० ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App