१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

जोमसोमपारि ‘नीलगिरि’

प्रकृति

हामीमा इच्छाशक्ति र मन भएमा प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण हाम्रो देश नेपालमा पुग्नुपर्ने र घुम्नुपर्ने धेरै ठाउँ छन्। नेपालको भूगोलको मात्रै कुरा गर्ने हो भने पनि अन्य मुलुकका भन्दा पृथक् छ। हिमाल, पहाड र समथर तराई मिलेर बनेको नेपाली भूभाग आफैमा एउटा अनुपम प्राकृतिक विशेषता हो।

यी प्राकृतिक सौन्दर्य छोडेर हामी व्यस्त सहरको कोलाहलबिच पनि यदाकदा देखिने दृश्यहरूमा रमाउँदै मोबाइलको क्यामेरामा आफूलाई कैद गरेर टिकटक र फेसबुकमा व्यस्त बनाउने गर्छौं, मानौं योभन्दा सुन्दर दृश्य नेपालमा कतै पनि छैन। हामीमध्ये धेरैलाई नेपाली भूगोल र यसको प्राकृतिक सौन्दर्यबारे किताबी ज्ञानबाहेक अरू थाहा नहुन सक्छ। तब पनि आफ्नो भावी पुस्ताका लागि यसरी मरिमेटेर लागेका हुन्छौं कि मानौं हामीलाई फुर्सद नै छैन। नेपाली भूगोलको प्राकृतिक सौन्दर्यलाई हामीले नजरअन्दाज गर्नु युक्तिसंगत हुन्छजस्तो लाग्दैन।

दक्षिण एसियाको भूपरिवेष्टित देश नेपालको दक्षिणी भूभाग भारतसँग सिमाना जोडिएर रहेको तराईको समथर जमिनी भू–बनावट रहेको छ भने उत्तरमा हिमालय पर्वत शृङ्खलाले सीमाङ्कन गरेको छ, जुन छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको छ। त्यसमा पनि पूर्वमा मेचीदेखि पश्चिममा दार्चुलासम्मको उत्तरी भूभागको सिमाना चीनसँग कठिन भौगोलिक हिमाली धरातलले घेरिएको छ। जसमा साना हिम शृङ्खलादेखि सगरमाथा अञ्चलको सोलखुम्बुमा पर्ने विश्वको ८,८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा पनि उत्तरी शृङ्खलामा नै पर्छ। यसै जिल्लामा आठ हजार मिटर माथिका कञ्चनजङ्घा लगायतका अन्य हिमालहरू पनि पर्छन्, जुन नेपालको पर्यटनको बलियो आधारका रूपमा रहेका छन्।

गण्डकी प्रदेशमा पर्ने ११ वटा जिल्लाहमध्ये मुस्ताङ सबैभन्दा उत्तरमा पर्ने उच्च हिमाली जिल्ला हो। यो हिमालपारिको जिल्ला, सबैभन्दा कम पानी पर्ने जिल्ला र विविध भौगोलिक बनावटको जिल्ला आदि नामबाट पनि परिचित छ। मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरबिचमा अवस्थित छ।

सायद पानी कम पर्ने र प्रयाप्त वनजङ्गल नभएका कारणले गर्दा पनि यस जिल्लालाई मरुभूमिको जिल्ला भनिएको होला। यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अवस्था हेर्दा धरै अघि यो क्षेत्र नेपाल र तिब्बतबिचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ। मुस्ताङको उत्तरी सिमाना मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको लोमान्थान गाउँपालिकामा पर्ने कोरोला नाकासम्मको भूभाग उच्च पहाडी र कठिन हिमाली शृङ्खला मिलेर बनेको छ।

कतिपयलाई लाग्न सक्छ कि नेपालको उत्तरी सिमाना भनेको नै अग्लो पहाडी बनोटमा सेता हिमालले घेरिएर बनेको हिमाली शृङ्खला हो भन्ने। गण्डकी प्रदेशमा पर्ने मनाङ र मुस्ताङबाहेकको हकमा त यो ठ्याक्कै मिल्न जान्छ। तर यी दुई जिल्लामा पुग्न सेतै देखिने हिमाली रेखाहरूबिचको खोंच पार गरेर गर्नुपर्छ।

जाडो याममा फूलचोकी र चन्द्रागिरिलगायतका अग्ला डाँडाहरूमा बेलाबखत पर्ने हिँउमा रमाउन काठमाडाैं लगायतका सहरमा बसोबास गर्ने मानिसहरूको लगभग घुइँचो नै लाग्ने गर्छ। तर नेपालको दोस्रो ठुलो सहर पोखराबाट नजिकमा रहेका विविध प्राकृतिक बनावट तथा उच्च हिमाली शृङ्खलाले भरिपूर्ण मनाङ र मुस्ताङ भ्रमण गर्ने स्वदेशी आन्तरिक पर्यटकको आँकडालाई हेर्ने हो भने यति धेरै हिउँ नै हिउँले बनेको हिमाली शृङ्खलालाई नजिकबाट हेर्ने रहर हामीमा नपलाएको देख्दा कहिलेकाहीं मन कुँडिएर आउँछ। त्यसमा पनि मुस्ताङ त अन्य विविध कारणले पनि प्रसिद्ध छ।

बौद्ध र हिन्दु धर्मावलम्बीहरूको आस्थाका रूपमा रहेको मुक्तिनाथ मन्दिर, प्रसिद्ध स्थल दामोदर कुण्ड तथा शालिग्रामका लागि प्रख्यात कालीगण्डकीको महिमाको कारण पनि यसको तुलना अन्य जिल्लाहरूसँग हुनै सक्दैन।

हामीमध्ये नेपालको दोस्रो ठुलो सहर पोखराबारे जानकार नहुने त सायदै कोही होलान्? भुटेका मकैका सेता फुलाजस्तो हिमाली शृङ्खलाको खोंचबाट बगेर आउने विभिन्न नदी तथा खोलाहरूबाट बनेका फेवा, रूपा तथा बेगनास तालहरू पोखराका गहना नै हुन् भन्दा पनि फरक नपर्ला।

शिरमाथि रहेको अन्नपूर्ण र माछापुच्छ्रे हिमाल त झन् भर्खर विवाह गरी ल्याएकी बेहुलीले टाउकोमा लगाएको सुनको चन्द्रमाभन्दा कम्ती सुन्दर देखिन्न। अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सौन्दर्य पोखराबाट हेर्दा जति मनमोहक देखिन्छ, त्यसलाई नै माथ गर्नेगरी मुस्ताङको सदरमुकाम जोमसोमबाट देखिने नीलगिरि हिमालको सौन्दर्य झल्किन्छ।

पोखराबाट जोमसोमका लागि हुने हवाई यात्रा अन्य जिल्लाको जस्तो सहज भने छैन। हिमालको खोंच भएर यात्रा गर्नुपर्ने भएको र जोमसोममा दिउँसो वेगसित हावा चल्ने हुँदा नेपालका अन्य भूगोलमा जस्तो जतिखेर पनि जहाजले उडान गर्न सक्दैन। हाल तारा र समिट एयरले बिहानको समयमा नियमित उडान गर्ने गरेका छन् त्यो पनि पुस र माघभरका लागि। हाल चिसोका कारण उडान बन्द छ। फागुन लाग्दै गर्दा दुवै एयरले उडान भर्ने तालिका निर्धारण गरेका छन्।

यहाँनेर एउटा गीत सम्झना आउँछ, ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’। सायद प्राकृतिकतासँग साक्षात्कार भएर नै होला यस गीतको रचना भएको। पर्यटकीय सहर पोखराको पुरानो विमानस्थलबाट हवाईजहाज चढेर जम्माजम्मी २० मिनेटको हवाई यात्रामा धवलागिरि र नीलगिरि हिमालको खोंच भएर बग्ने कालीगण्डकी नदीमाथि हुँदै मुस्ताङको सदरमुकाम जोमसोम पुग्न सकिन्छ। सदरमुकाम जोमसोम घरापझोङ गाउँपालिकामा पर्छ।

 नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कालीगण्डकी करिडोर पर्वत म्याग्दी हुँदै मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेपाल–चीन सिमाना नाका कोरोलासम्म पुग्छ, जुन सदरमुकाम जोमसोम हुँदै अगाडि बढ्छ। सडक यातायातको पनि सर्वसुलभ उपलब्धता रहेको कारण त्यहाँ पुग्न पोखरादेखि बस तथा जिपमा सवार भई बिहान पोखराबाट यात्रा थालेमा करिब साढे छ घण्टामा कास्कीको पर्यटकीय तथा रमणीय स्थल लुम्ले, पर्वत जिल्लामा रहेका विविध प्राकृतिक मनोरम दृश्यहरू र म्याग्दीमा रहेको तातोपानी र लेतेबाट देखिने धवलागिरि हिमाल र मानापाथी हिमालको पूर्वी मोहडाको मनमोहकताको असीम आनन्द लिँदै कालीगण्डकी किनारै किनार करिब १५९ किलोमिटर पक्की र कच्ची सडकको यात्रा पार गर्दा मुस्ताङको सदरमुकाम जोमसोममा गोधुली साँझ अगावै पुगिन्छ।

सदरमुकाम जोमसोमबाट पूर्वदक्षिणमा आँखा पर्नासाथ शिरमा लगाएको भादगाउँले टोपीजस्तो चिटिक्क मिलेर सेतै हिउँले ढाकिएर भर्खर विवाह गरेर दुलही घरमा भित्र्याउँदा मुस्कुराइरहेको बेहुलोजस्तो ७,०६१ मिटर उचाइको नीलगिरि देख्न सकिन्छ। अझ नीलगिरि हिमालको ठ्याक्कै माथि जस्तो देखिने सफा निलो आकाश र यस हिमालको दृश्यले प्रभावित नहुने सायदै कोही नहोला।

सदरमुकाममा जो कोहीले पनि पाइला टेक्नेबित्तिकै घाँटीमा भिरेको क्यामेरा होस् वा खल्तीमा रहेको मोबाइल होस्, पहिलो क्लिक जोमसोमको पूर्वमा सेतै मिलेका दाँत देखाएर मुसुमुसु हाँसेकी सुन्दरीजस्तै अटल अवस्थामा रहेको नीलगिरिकै हुने गर्छ। त्यसमा पनि सदरमुकाम जोमसोमबाट करिब पाँच किमि सडकमार्ग र दुई घण्टा पैदल मार्गबाट पुग्न सकिने याराजुङ डाँडामा पुगेर हेर्दा नीलगिरि हिमालको सौन्दर्य सायदै मनबाट हराउला?

नीलगिरिको नजिकको गाउँ घरापजोङ गाउँपालिकाको ठिनी र धुम्बा गाउँ हो। धुम्बा र ठिनी गाउँको बिच हुँदै नीलगिरि हिमाल नै मुख्य स्रोत भएर ठाडो ठिनी खोला बग्छ, जुन जोमसोम छेउमा कालीगण्डकी नदीमा आएर मिसिन्छ। पहिला तल ठिनीसम्मै हिउँले ढाकिएको हुन्थ्यो। अहिले हिमालकै फेदीसम्म हरियालीले ढाकेको छ। यसको पश्चिमतर्फ थासाङ गाउँपालिकाको ताक्लाङ झिप्रा देउराली पर्छ भने त्यही गाउँछेउमा घाना खोला बग्दै बग्दै कालीगण्डकीमा नै गएर मिसिन्छ।

यस हिमालको दक्षिण–पश्चिमतर्फ भने म्याग्दी जिल्ला पर्छ। हिमालको चुचुरोले जिल्लाको सिमाना छुट्याएको छ। बिहान झुल्किने घामको पहिलो किरण म्याग्दीको चुचुरोतर्फ पर्छ, हिमाल तलको गाउँ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नाख्याङको बास्कोट गाउँ पर्छ। जुन गाउँ भएर नीलगिरि हिमालकै नामबाट बनेको नीलगिरि खोला बग्छ।

नीलगिरि खोलामा हाल करिब १०० मेघावाटभन्दा बढी मेघावाटका विद्युत् आयोजनाहरू केही सम्पन्न र केही निर्माणाधीन अवस्थामा छन्। तर मुस्ताङतर्फ कुनै आयोजनाहरू निर्माण हुने मेसो छैन। नीलगिरिलगायतका हिमालहरूको खोंच भएर बग्ने खोलाहरूको पानी अत्यन्त कञ्चन र सफा देखिन्छ तर कालीगण्डकीमा मिसिनेबित्तिकै त्यसको रङ परिवर्तन हुन्छ।

नीलगिरि हिमालको भौगोलिक बनावट अत्यन्त कठिन छ। अत्यन्त ठाडो र उच्च शिखर भएकाले नै यस हिमालमा पनि माछापुच्छ«ेजस्तै आरोहण अनुमति छैन। यसै कारण पनि होला, नीलगिरि हिमालको फेदीसम्म पनि अरू हिमालको हिउँ पग्लिसक्दासम्म पनि सेतै हिउँले ढाकिएर रहेको हुन्छ।

पहिलेपहिले जोमसोम नजिक रहेको ठिनी गाउँ र धुम्बा गाउँसम्म पनि सेतै हिउँले ढाकिन्थ्यो भने जलवायु परिवर्तनको असरले यो हिमाल पनि अहिले अछुतो रहन सकेको छैन। जोमसोमको शिरमा नीलगिरि हिमाल रहेको भए तापनि गर्मी याममा जोमसोममा सवारी साधनमा यात्रा गर्दा एसी चलाउनु पर्ने अवस्था छ।

सदरमुकाम जोमसोमदेखि करिब १६ किमि टाढा नीलगिरि हिमालको फेदीमा प्रसिद्ध छेमा ताल छ। वरिपरि सालघारीको बिचमा रहेको छेमा तालको बेग्लै महत्त्व छ। कतिपयले यसलाई तालहरूको आमा पनि भन्ने गरेका छन्। नेपालमा रहेका अरू तालहरूको नामकरणपछाडि त्यस्तो कुनै विशिष्ट कारण देखिँदैन। तर यसको छुट्टै महत्त्व रहेको छ। मानिस जन्मनुभन्दा अगाडि नौ महिनासम्म आमाको कोखमा रहेको हुन्छ।

आमाको कोखमा रहने क्रममा विकासक्रमको अवस्थामा चल्दा आमाको पेटमा खुट्टाले हानेको हुन्छ। त्यसरी अन्जानवश आमाको पेटमा खुट्टाले लागेको कारण पेटमै हुँदा जुन पाप र गल्ती मानिसले गरेको हुन्छ, त्यसको मोचनका लागि छेमा तालको दर्शन वा भ्रमण गरेमा आमाको पेटमा हुँदा अन्जानवश गरेका पाप तथा गल्तीहरू क्षमा हुन्छ अथवा त्यस्ता पाप तथा गल्तीहरूबाट मोक्ष प्राप्ती हुन्छ भन्ने भनाइ रहेको छ।

त्यसैगरी नीलगिरि हिमालको अलि तल जोमसोमको पारिपट्टि प्रसिद्ध धुम्बा ताल छ। तालको पानी यति निलो देखिन्छ, हिमालको मात्र नभई तालको नाम पनि नीलगिरि ताल पो हुनुपथ्र्याे कि? ताल छेउमा पुग्दा बेलुकी पख नीलगिरिको छाया देख्न सकिन्छ। तालको कञ्चन र सफा पानी, त्यसमा पनि विभिन्न प्रजातिका माछा देख्दा जो कोहीको मन रमाउँछ।

जोमसोम आउने स्वदेशी तथा विदेशी पर्यटक एकपटक पुग्नै पर्ने ठाउँ हो धुम्बा ताल। माथि शिरमा नीलगिरि हिमाल, तल फेदीमा चर्को स्वरमा सुसाएर बग्ने कालीगण्डकी। मानौं जोमसोमको सौन्दर्यको मध्यस्थकर्ताको जिम्मा धुम्बा तालले लिएको छ।

यसका अलावा मुस्ताङ पर्यटकीय हिसाबले जति महत्त्वपूर्ण छ, त्यति नै सांस्कृतिक, भौगोलिक, जैविक हिसाबले पनि आकर्षणको केन्द्र रहेको छ। यस जिल्लामा रहेका लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटीवाला, मुक्तिनाथ मन्दिर क्षेत्र, टुकुचे, धवलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक, टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथाङ खर्क आदि प्रसिद्ध पर्यटकीय स्थल हुन्।

विविध जैविक विविधता तथा जडिबुटीको आधार क्षेत्र रहेका कारणले गर्दा पनि यस जिल्लाको महत्व अन्य जिल्लाका तुलनामा बढी नै छ। पितृहरूको सम्झना र दिवंगत आत्माको पुण्य तिथि तथा सोह्रश्राद्धमा कागबेनीमा श्राद्ध गर्न र तर्पन दिन हिन्दु धर्मावलम्बीहरूको असीमित घुँइचो नै लाग्ने गर्छ। त्यसकारण पनि मुख्य सिजनमा मुस्ताङ जिल्लामा भ्रमणका लागि नेपालको विभिन्न स्थानहरू र विदेशी पर्यटकको घुइँचोले गर्दा यदाकदा ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा कार्यसमेत चुनौतिपूर्ण बन्ने गर्छ।

प्रकाशित: २४ चैत्र २०८० ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App