१७ असार २०८१ सोमबार
image/svg+xml
कला

वसन्तमा लुकेका ती याद

स्मृति

उमेरबारे बताउँदा यति वसन्त पार गरें भन्दै धेरैले बिम्बात्मक भाषा बोल्छन्। सायद हरेकलाई वसन्तले नै उमेरको अनुभूति दिन्छ। यस्तै अनुभूति मेरो जिन्दगीमा पनि छ। मैले यो क्रतुको नाम नसम्झेको दिन नै हुँदैन। सायद मेरा बुबालाई पनि वसन्त औधी मन पर्थ्याे र भाइको नाम राखिदिनुभएको थियो वसन्त। केही वर्षअघि भाइको असामयिक निधन भएपछि मैले हरेक दिन वसन्त नाम पुकार्न थालेकी हुँ। वसन्त भाइलाई पनि औधी मन पथ्र्यो। भाइसँग बाल्यकालमा वसन्तका पल बिताएकी छु, जुन कहिल्यै बासी लाग्दैन।

म जन्मेहुर्केको बागलुङ गल्कोट, जहाँबाट तल झर्नेबित्तिकै एउटा सानो बजार आउँछ। बजार नजिकै दरौंदी र चिउँदी खोला। खोलापारि पालेको वनको हावाले हरेक दिन स्पर्श गथ्र्यो। खोला, जंगल र बजार, तीनै कुरा नजिकै पाउँदा हामीले उहिले पनि आफूलाई सुगम ठान्थ्यौं।

गाउँमा मोटरबाटो पुगेको थिएन। हामी गाउँका खोला, खेत र जंगल चहाथ्यौं। वसन्तमा थकाइलो मुनामय हुन्थ्यो। थकाइलोका मुना खानुको मज्जै बेग्लै। मुना भेट्टाउनु र आफैंले काटेर खाँदा ठुलै कुरा पाएजस्तो लाग्थ्यो। खेतबारीमा चराले गुँड लाउने मौसम। ठुला चराले ठुलो रुखमा गुँड लगाउँथे। जुरेला र भँगेराले सानो रुखमा गुँड लगाउँथे। यही मौसममा जुरेलाको गुँड खोज्न भाइ र म तल्लीन हुन्थ्यौं। गुँड भेटेको दिन ठुलै खेल जितेजत्तिकै उन्मादले भरिन्थ्यौं।

एक दिन भाइले सानो रुखमा जुरेलाको रुख भेटेछ। गुँडमा अन्डा थिए। अन्डा घरमा लैजाऔं बुबाले गाली गर्नुहुन्छ, छोेडौं साथीहरूले देखेर लैजालान् भन्ने डर। सोच्दा सोच्दै उपाय देखेन र अन्डा काँचै निलेछ। निल्दा अन्डाभित्र बचेरा बनिसकेको रहेछ। थाहा पाएपछि भाइलाई बान्ता आउलाजस्तो भयो। म भाइलाई यो कुरा घिनलाग्दो गरी सुनाइदिन्थें।

हामी चैतवैशाखमा ऐसेलु र चुत्रो खाएरै मस्त हुन्थ्यौं। दिनभर ऐसेलु, चुत्रो र थकाइलोे खान हिँड्दा घर आउने समय नै बिर्सिन्थ्यौैं। खेतबारीमा फल्ने कोसा र जौको डाँठले पिपी बनाएर बजाउँदा पुलकित हुन्थ्यौं। हाम्रा लागि चैतवैशाखका हरेक दिन उत्सवमय हुन्थे। यही मौसममा नदीनाला सुकेर सानो बन्थे। सुकेर सानो बनेका खोलामा माछा मार्न हामीले बाल्यकालमै सिकेका थियौं। कहिले खोलामा पौडिनु, कहिले खोला सुकाएर माछा मार्दा आफूलाई बहादुरी ठान्थ्यौं।

छिटो सुत्ने र सबेरै उठ्न आमाले सिकाउनुभएको थियो। ‘छोरी मान्छे छिटो उठ्नुपर्छ, अरूभन्दा पहिला पूजा गर्नुपर्छ, चोखो पानी भाँडामा भर्नुपर्छ, बिहानै फूल चढाएर पूजा गरेपछि घरमा लच्छिन हुन्छ,’ यी कुरा मैले बुबाआमाको मुखबाट हरेक दिन सुन्थें। बालमस्तिष्कमा बुबाआमाले बोलेका कुरा सही र सत्य लाग्दोरहेछ।

रानीवनमा लालीगुराँस फुलेर जंगल राताम्मे हुन्थ्यो। घरपारि फुलेको गुराँसले मन फुरुंग हुन्थ्यो। होली पनि गुराँससँगै आउँथ्यो। फागुनको अन्तिमदेखि नै गुराँस फुल्न सुरु हुन्थ्यो। रुखमा चढेर गुराँस टिप्ने आँट थिएन। गुराँस होचा बोटमा फुलेको देख्दा मेरै लागि ती बोट होचा भएका होलान् जस्तो लाग्थ्यो। फूल घरबाहिर राखेपछि बासी हुँदैन र पूजा गर्न मिल्छ भनेर आमाले सिकाउनुभएको थियोे। नियमित पूजा गरेबापत परिवार र समाजमा प्रतिष्ठा मिलेको भान हुन्थ्यो।

                                                   ०००

एकाबिहानै गुराँसको फूलले पूजाका भाँडा सिँगारेपछि मक्ख पर्थें। लालीगुराँस खाँदै अनि लालीगुराँस देवतालाई चढाउँदै हुर्किएँ। मलाई गुराँसेपाखा घुम्न रमाइलो लाग्थ्यो। एक दिनको कुरा, पुनमसित जंगल गएको थिएँ। जंगल जानुको कारण गुराँस टिप्नु नै थियो। थरीथरीका गुराँस टिप्दा मक्खै थिएँ। हामीले लालीगुराँस पूजाका लागि मात्र टिपेनौं। त्योे दिन गुराँसको फूल यति खायौ कि साँझपख दुवै जनालाई फनफनी घुमाउन थाल्यो। कसोकसो घरसम्म आइपुग्यौं। मैैले गुराँस बान्ता गरें। त्यसपछि बिस्तारै घुमाउन छाड्यो। आमाले गुराँस धेरैै खाए लाग्छ भन्नुभयो। योे हामीलाई थाहा थिएन।

                                                    ०००

बागलुङ छोडेपछिको मेरो समय काठमाडौंमा बित्न थाल्यो। अध्ययनका क्रममा त्रिभुवन विश्वविद्यालयमा फुलेका पारिजात र ज्याकरान्डाका फूल मेरो मन तानिरहने दृश्य थिए। त्यतिबेला अहिलेजस्तो फोटो खिच्ने मोबाइल थिएन। मोबाइल भएको भए कति फोटा खिच्थें होला? पढाइपश्चात् पनि म घुम्नका लागि त्रिविवि परिसर पुग्थें। यसको कारण थियो विश्वविद्यालय परिसरमा रहेका मनमोहक बगैंचाहरू। बैजनी ज्याकरान्डा, रातो पारिजात, पहेंलो ..... र अरू थुप्रै फूलहरू। पालुवा पलाएर हरियो बनेका रुखका छायामुनि बसेर साथीसँग बदाम वा तितौरा खानुको मजा छुट्टै थियो। ती दिनहरू सम्झेपछि समय फुत्केर जान कत्तिबेर लाग्दो रहेनछ।

अहिले मेरो दिनचर्या काठमाडौं उपत्यकामै बित्छ। बिहानै ब्युँझिँदा चराचुरुंगीको आवाज आउँछ। घरपछाडिको बरन्डामा हरेक वर्ष चराले गुँड लगाउँछन्। चराको यो आवतजावतले मलाई वसन्तको याद दिलाउँछन्। सबेरै उठेपछि मेरो पहिलो काम फूलमा पानी हाल्नु हुन्छ। कतै जानुप¥योे भने फूलले पानी नपाएर सुक्लान् भन्ने चिन्ता हुन्छ। आजभोलि वसन्त आएको गमलामा फुल्दै गरेका थरीथरीका फूलले थाहा दिन्छन्। करेसामा हुर्किंदै गरेको तरकारीका बिरुवाले पनि यही मौसमको याद दिलाउँछन्।

केही दिनअघि सिंंहदरबारस्थित सर्वोच्च अदालतको पर्खालमा फुलेका फूलहरू, तीकुने–विमानस्थन सडकछेउ फुलेका आरुका फूलले मन्त्रमुग्ध बनाउँछन्। बिजुलीबजार र बानेश्वरका सडकमा फुलेका फूलले हरेक दिन ध्यान तान्छन्। आखिर फूलमा के छ, जुन यो मौसममा निर्धक्क फुल्छ?

धेरैथरी फूल वसन्तमै फुल्छन्। चराहरू वसन्तमै गीत गाउँछन्। बढ्दो गर्मी छेल्न वसन्तमै सिरसिर हावा चल्छ। गर्मी र शीतलको संयोजन प्रकृतिको संयोजन हो। फूलको अस्तित्व छोटो छ तर शक्तिशाली छ। चराहरूकोे गीत मान्छेको गीतभन्दा प्राकृतिक लाग्छ। प्रकृतिभन्दा सुन्दर चिज यो धरतीमा छैन। अरू सब बेकम्मा हुन् जस्तो लाग्छ, जब वसन्त आउँछ। धेरै वसन्तहरू पार गरेर आजको वसन्तलाई स्पर्श गर्न पाउँदा आफैंलाई भाग्यमानी लाग्छ। वसन्तले कर्मका लागि हरदिन प्रेरित गरिरहन्छ।  

प्रकाशित: २४ चैत्र २०८० ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App