१७ असार २०८१ सोमबार
image/svg+xml
कला

कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पा’को!

पाँच गजल

१) गजल

फूल पनि ओइलिएसी फोहोर बन्छ सानु,

फोहोर पनि समयमा मोहोर बन्छ सानु।

पालो सबको आउँछ सानु हेलाहोचो गर्नु हुन्न,

चोर साधु बन्छ कैले साधु नि चोर बन्छ सानु।

धर्ती हाम्रो बिसौनी हो दुई दिनका पाहुना हामी,

थाहा हुन्न कैल्यैको जोर कैल्यै विजोर बन्छ सानु।

ऐल्यै भर्खर जस्तो लाग्छ बिताएका पलहरू,

थाहै नपाई घडी पला फेरी पोहोर बन्छ सानु।

२) गजल

मान्छे वर्ग माटोभन्दा हजुरलाई कुर्सी प्यारो,

हिजोको त्यो बाटोभन्दा हजुरलाई कुर्सी प्यारो।

शहीदको अपमान भो रगत ठान्यौ पानी जस्ताे,

विभेदको टाटोभन्दा हजुरलाई कुर्सी प्यारो।

कहाँ गए सपनाहरू खै त श्रम हाँस्न पाको,

वर्गीय त्यो पाटोभन्दा हजुरलाई कुर्सी प्यारो।

कति बग्यो सप्तकोशी, गण्डकी र कर्णाली त,

गरीवको साटोभन्दा हजुरलाई कुर्सी प्यारो।

३) गजल

आमा भोकै गाउँमा बस्छिन् पटुकीले पेट कसी,

प्यारी छमछम डिस्को पस्छिन् पटुकीले पेट कसी।

घरी भिर, घरी पाखा डोकोनाम्लो खेप्दैखेप्दै,

छाती पिटीपिटी रुन्छिन् पटुकीले पेट कसी।

रातोदिन हल्लाएको पुरानो त्यो कोक्रोलाई,

मेरा नानीबाबू भन्छिन् पटुकीले पेट कसी।

लालीपाउडर केहीको नि आमालाई मतलव छैन,

खरानीले मुख धुन्छिन् पटुकीले पेट कसी।

४) गजल

कस्ले लेख्छ लुटिएकी ठूल्दिदीको कथा,

सबैसँग छुटिएको ठूल्दिदीको कथा।

हुरी, बतास, आँधी चल्दा पनि नढलेकी,

मकैजस्तै भुटिएकी ठूल्दिदीको कथा।

गाउँघर मेलापात सबै एक्लै भ्याउने,

गिट्टीसँगै कुटिएकी ठूल्दिदीको कथा।

सबैको हाइहाइ त बल-बैंस हुँदा रै छ,

मनमुटु चुटिएकी ठूल्दिदीको कथा।

५) गजल

आमा, रित्तो छ मन भरौ कसरी,

बुवा,उर्लियो खहरे तरौ कसरी!

दुईचार वर्ष बाँच्न नै मन छ हजुर,

नहुत्याउनु न पहरो छ झरौं कसरी!

उस्तै छ जीवनगाथा फेरिएन किन होला,

तिम्रा ती चिप्ला कुरा विश्वास गरौं कसरी!

लाऊँलाऊँको उमेर खाऊँखाऊँको उमेर,

काका छोडेर लालाबाला मरौं कसरी!

प्रकाशित: २० चैत्र २०८० ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App