यति बेला चक्र बम ढुक्क छन्। किनभने पछिल्लो समयका उनका जुनसुकै गीतले साङ्गीतिक बजारमा राम्रो स्थान पाइरहेका छन्। नयाँ पुस्ताका चर्चित देउडा गायक चक्र बम जुनसुकै गीतलाई पनि व्यवसायीक बनाउन सफल भइरहेका छन्।
केही दिन अगाडि मात्रै उनले सामाजिक सञ्जाल युट्युबमा सांस्कृतिक पर्व होलीको गीत सार्वजनिक गरे। सुदूरपश्चिमको पहाडी जिल्लामा गाइने गीत र तराईको राना थारुलाई मिसाएर प्रस्तुत गरिएको ‘कति राम्रो होली फागुनमा’ बोलको उक्त गीतबाट उनले सकारात्मक प्रतिक्रियासँगै उलेख्य सङ्ख्यामा दर्शकको साथ पाइरहेका छन्।
उसो त कुनै चाडपर्व लक्षित गीत सृजना गर्नु र त्यसभित्र व्यावसायिकता खोज्नु कलाकारको धर्म र कर्म नै हो। तर यो गीत एक सांस्कृतिक पर्वलाई लक्षित गरी व्यावसायिकता खोज्नु भन्दा सुदूरपश्चिमको लोपोन्मुख परम्परागत होली गीतको संरक्षण गर्नु रहेको बमको बुझाइ छ।
यो गीतमा सुदूरपश्चिमको संस्कृतिसँगै राना थारु समुदायको परम्परागत रूपमा मनाउने होलीको वर्णन गरिनुका साथै देशको रोजगारीको अवस्थालाई समेत यसमा समेटिएको छ। भिडियोमा धेरै फुल बुट्टा भर्नुभन्दा मौलिक वस्तु झल्किने गरी ठेट शैलीलाई प्रस्तुत गर्न खोजेको गायक बमले बताए।
‘यो होली पर्वको गीत हो। विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने यो एउटा लय र ताल हो। त्यससँगै तराई जिल्लामा राना थारुमा गाइने अर्को होली पर्वको मेलोडी दुवैलाई बाँधेर एउटै ट्याकमा बुन्ने प्रयास गरेको छु’ गीतको वर्णन गर्दै बमले भने।
पुर्ख्यौली घर डोटी, जन्म र हुर्काइ सबै तराइको कैलालीमा राना थारु समुदायसँगै बिताएका चक्रको मानसपटलमा पहाड र तराईको संस्कृतिको अमिट छाप बस्यो। विद्यालयदेखि नै कहिले राना थारु त कहिले देउडा खेलेर आफ्नो प्रस्तुति दिने गरेका चक्र दुवै संस्कृतिसँग हुर्के, बढे र अहिलेको अवस्थामा पुगे।
‘धेरै वर्ष अघि देखिको मेरो योजना पनि थियो। तराईका राना थारु र पहाडको हाम्रो होलीको गीतमा एकै साथ काम गर्ने। होलीको गीतमा शैली पनि मिल्यो। त्यसकारण एकै साथ गाउन सम्भावना भयो’, अगाडि भन्छन्, ‘यो गीत सुन्दा एउटै गीत हो कि भन्ने बुझाइ समेत हुन्छ। त्यसैले काम गर्न पनि सजिलो भयो।’
यसअघि पनि देउडामा ‘फ्युजन’ शैली मिसाउने गरेका चक्र बम यो गीतमा भने मौलिकता कायम राखेको बताउँछन्। ‘हिजोका दिनदेखि नै मैले एक अर्काको सङ्गीतलाई एउटैमा जोड्ने प्रयास समेत गरिरहेको हुँ। यो एक विशुद्ध पर्व र त्यहाँको संस्कृतिसँग जोडिएको गीत हो’, उनले भने, ‘अन्य गीतहरूमा मैले दुई वटा गीतबिच फ्युजन गर्ने गरेको थिए तर यस गीतमा मौलिकता भित्र रहेर काम गरेको छु। भिडियो र अडियो दुवैमा त्यो पस्किने प्रयास गरेको छु।’
देशभित्र धेरै विविधता छ, धेरै किसिमका संस्कृति छन्। सबैका मौलिक सङ्गीत छन्। त्यसमा पनि सुदूरपश्चिम भित्र अझ धेरै विविधता छ। बाहिरबाट विशेष गरेर सुदूरपश्चिम भने देउडाले मात्रै चिनिन्छ। तराईमा राना थारु, चौधरी, पहाडतिर सबै जिल्ला अनुसार फरक विविधता छ। यो देशको सम्पत्ति हो। त्यसलाई एक अर्काले सुन्नुपर्छ। सबैले देख्न पनि जरुरी छ र आत्मसात् पनि गर्नुपर्ने बमको बुझाइ छ।
सुरुवाती चरणमा चक्रले के बाँकी राखेनन् र ? देउडामा र्याप मिसाए, पहाडी भाकामा राना थारु वा चौधरी घुसाए, हुँदा हुँदा सीमा पारि नै पुगेर गढवाली र आसामी समेत मिसमास गरेर देउडालाई रिमिक्स बनाए। देउडाको परम्परागत स्वाद बिगार्यो भन्ने आरोप समेत लाग्यो। तर उनका गीत भने चलिनै रहे। अर्को पट्टी आरोप पनि झेलिनै रहे देउडा बिगारेको भनेर।
‘गीत सङ्गीतको कुनै भौगोलिक सीमा हुँदैन। यो एक धुन हो विश्वव्यापी रूपमा संसारको जुनसुकै कुनाबाट जुनसुकै मान्छेले सुन्न सक्छ। गढवालको संस्कृति त हाम्रो सुदूरपश्चिमसँग मिल्दोजुल्दो छ। त्यो त मेरो जिन मै भएको कुरा हो,’ उनले भने, ‘गढवालसँग म हरेक कुरामा प्रभावित छु। मलाई काठमाडौँ अनि नेवारको संस्कृति बुझ्न अलि समय लाग्यो बरु त्यहाँको संस्कृति बुझ्न समय लागेन। किनभने म हुर्कँदै सिक्दै आएको हो। गीत सङ्गीतको माध्यमबाट जोडिनु राम्रो कुरा पनि त हो।’
‘आँठ दश वर्ष अगाडि हो देउडा बिगारेको भनेको। अहिले भन्नुभएको छैन। अहिले उहाँहरूले नपुगेको ठाउँमा देउडा पुग्यो भनेर भन्नुहुन्छ। अहिलेसम्म देउडामा र्याप हालेको छैन,’ देउडामा र्याप मिसाएको आरोपको खण्डन गर्दै भने, ‘भाषामा हालेको हो। देउडाको आफ्नो छुट्टै गहनता छ। आफ्ना ठेट शब्दहरू ल्याएर नयाँ प्रयोग गरेको मात्रै हो। मासमा पुग्न पनि यो गरेको हुँ।’
कुनै एक गीत मात्रै ३० मिलियन अर्थात् तीन करोड पटकसम्म हेरिएको उनको आधिकारिक युट्युब च्यानलमा प्रायः सबै गीतको दर्शक सङ्ख्या दश लाख माथिकै छ। तर पनि उनलाई कुनै एक क्षेत्रभन्दा माथि उठ्न नसकेको कुनै एक भेगमा मात्रै सीमित रहेको भन्ने आरोप लाग्ने गरेको छ। त्यसमा पनि उनी खुसी छन्। भविष्यमा अन्य भेगका समेत साङ्गीतिक क्षेत्रमा काम गर्ने उनको इच्छा छ।
‘अहिले पूर्व झापाको मान्छेले देउडा सुन्छ, मलाई चिन्छ। भोलिका दिनमा म अरू भेगका गीतमा काम पनि गर्छु। अहिले यति धेरै व्यस्त भइयो कि अन्य काम नै गर्न सकिएन। एउटा दुईटा भन्दाभन्दै काम गर्न धेरै बाँकी रहेछ। फेरी मैले गरेको काम मानिसले रुचाएका पनि छन्। उहाँहरूको अपेक्षालाई मैले मार्नु पनि त भएन। अझ भन्नु पर्दा म त्यहाँ फिट पनि भइरहेको छु,’ बमले प्रस्ट पारे।
तर आफूलाई क्षेत्रीय कलाकार भन्न भने पटक्कै रुचाउँदैनन्। आफू नेपाली सांगितीक जगतको मूलधारमै काम गरिरहेको उनको दाबी छ। ‘मैले गरिरहेको काम नै मूलधारको काम हो। भोलिका दिनमा यो भाषा नै केन्द्रमा हुनसक्छ। नेपाली भाषा खसबाट आएको भन्ने अवगत नै छ। अहिले बाहुल्यता कम भएको मात्रै हो। यसमा विविध ढङ्गबाट मूलधारमा काम गर्न सकिन्छ,’ बमले भने। ७/८ वर्ष अगाडि सीमित क्षेत्रको भाका र सङ्गीतको रूपमा चिनिने देउडा पछिल्लो समय सबैले स्वीकारी सकेकोको उनको बुझाइ छ। ढुक्क हुँदै उनले भने, ‘भोलिका दिनमा पुरा देशको लोक सङ्गीतको नेतृत्व त्यसले पनि गर्नसक्छ।’
कला सङ्गीत क्षेत्रमा चक्र बम सब थोक गर्छन्। गीत लेख्छन्, गाउँछन्, नाच्छन्, सङ्गीत भर्छन्, भिडियोको निर्देशन पनि गर्छन्। गर्छन् मात्रै होइन परिपक्व रूपमा निपुण छन्। यो कुरा दर्शकको मायाबाट देखिन्छ। यो सबै कसरी सम्भव भयो ?
उनी भन्छन्, ‘प्रयास हो। कतिपय कुरा त भगवानले पनि साथ दिनुभएको छ। कला दिनुभएको छ। मिहिनेत हो, काम हो, लगाव हो। कला क्षेत्रका विभिन्न हाँगामा काम गर्न सकिँदो रहेछ। लगनशील रूपमा काम गरे अगाडि बढिँदो रहेछ। साधनाबाट नै सम्भव भएको हो।’
पाँच जना दाजुभाइमध्ये चक्र बम अन्तिमबाटको दोस्रो अर्थात् आमा बुवाका काइँलो सन्तान हुन्। सेनामा असफल, कोरिया जान भाषा परीक्षामै अनुत्तीर्ण चक्र घरपरिवारलाई छलेर करिब दश वर्षअघि सांगितीक क्षेत्रमा प्रवेश गरेका हुन्। अहिले उनले नाम र दाम मज्जाले कमाइरहेका छन्।
त्यो समय आफ्नो आर्थिक पक्ष मजबुत बनाउन विभिन्न प्रयास गरेको उनी स्मरण गर्छन्, ‘समय र समाजको तत्कालीन अवस्था अनुसारको प्रयास गरेको हुँ। सेनाको अमलदार कर्मचारीमा दर्खास्त दिएको थिए। केही त्रुटिका कारण मैले काम गर्ने मौका पाइन। अहिले दश वर्ष भयो सङ्गीत क्षेत्रमा काम गरेको हिजो अस्ति जस्तै लाग्छ। यो क्षेत्र भन्दा बाहिरको क्षेत्र भएको भए यो दश वर्षको समय लामो समय जस्तो हुन्थ्यो होला। जे गरे राम्रो गरे जस्तो लाग्छ।’
सेनाको जागिर र कोरियाको रोजगारको प्रयासपछि मात्रै सङ्गीत क्षेत्रमा कदम बढाएका चक्र अन्य क्षेत्रमा भएको भएपनि सङ्गीतमा आफू कुनै न कुनै रूपमा रहने नै थिए भन्ने आत्मविश्वास अहिले पनि छ। तर अहिलेको जस्तो यो निरन्तरता, लगनशीलता हुँदैन थियो होला भन्ने डर पनि छ।
यतीबेला सांगितिक क्षेत्रका कलाकारलाई आयस्रोतका हिसाबले कुनै कुराले जीवित राखेको छ भने त्यो हो ‘स्टेज सो’। देश विदेशमा नेपालीले गर्ने मेला महोत्सवबाट राम्रो आयआर्जन गर्ने मध्येका एक कलाकार हुन् चक्र बम। यस्ता मेला महोत्सवबाटको कमाई नै आफ्नो पनि मुख्य आर्थिक आयको स्रोत भएको उनी बताउँछन्। यस बाहेक युट्युबबाट समेत राम्रै कमाइ हुने गरेको उनको अनुभव छ।
सीमित राष्ट्रिय कलाकारले मात्रै यस्ता मेला महोत्सवमा स्थान पाइरहेका बेला सानो क्षेत्रको जनसङ्ख्यासँग जोडिएर आएको कलाकारलाई अझ गाह्रो हुने गरेको उनका समकालीन साथीको समस्या सुनाए।
‘एक त देशभर नै म्युजिकको अडिएन्स् कम छन्। युट्युबबाट कमाउन धेरै भन्दा धेरै भ्युज आउनुपर्छ। निरन्तर काम गर्नुपर्छ। त्यसमा पनि अडिएन्स् नै कम छन्। पप सुन्नेले लोकगीत सुन्दैन, कसैले देउडा सुन्छ, कसैले चलचित्रका मात्रै सुन्छ। यो सबै सीमित क्षेत्रमा बाँधिएको छ। झन् सुदूरपश्चिमको सङ्गीतमा त दर्शक श्रोता एकदमै कम छन्,’ हिजोका दिन देखि कलाकारहरूको निरन्तरता नहुनुको मुख्य कारण यो पनि भएको उनको बुझाइ छ।
‘मेरो प्रवेशकै समयमा पनि यस किसिमको हतोत्साहित हुनुपर्ने अवस्था थियो। त्यो अवस्था मैले आँखै अगाडि देखेको हो। यस्तो अवस्थामा लाग्थ्यो देउडामा हात हालेर के गर्नु ? यसका दर्शक श्रोता कति नै छन् र ? के नै गर्न सकिएला र ? सुदूरपश्चिमकै पनि आधा जनसङ्ख्याले देउडा सुन्दैन। झन् पछिल्लो युगले त्यो गीत नै मन पराउँदैन। कसरी बाँच्ने, एक दुई वटा गीत रेकड गर्ने, जाने फेरि एक दुई वर्षपछि आउने। यो क्रम चलिरहेको थियो। तर लगातार काम गर्न अप्ठेरो थियो भन्ने अवस्थामा मेरो प्रवेश भएको हो। त्यति बेलै मैले सोचे त्यसको व्यवसायीक रूपमै जानुपर्छ,’ विगत सम्झँदै भावुक मुद्रामा उनले भने।
माथिका कुरा पुनः दोहोर्याउँदै उनले भने, ‘जति पनि मान्छेले मलाई देउडा बिगारे भन्ने आरोप लगाए नि मैले अडिएन्स् बनाउन लागेको हो। बजार विस्तारका लागि मैले त्यो काम गरेको हुँ।’ त्यसकै कारण नेपालमा मोटो रकम लिने गायक, प्रफमर वा मेला महोत्सवका मुख्य आकर्षककै हैसियत बनाउन सकेको उनको बुझाइ छ। त्यसको स्वाद आफूले पनि चाख्न पाएको उनी बताउँछन्। दर्शक श्रोताकै कारण अहिले देउडा देश विदेशमा सुनाउन पाइरहेको र कुनै एक भेगभन्दा पनि सबैले यसको धुन मन पराइरहेको उनको अनुभव छ।
तर एउटा गुनासो भने उनको मनमा गडेको छ। उनी भन्छन्, ‘पूर्वेली गीत गाउँदा राष्ट्रिय हुने तर देउडा गाउँदा क्षेत्रीय हुने। यो हुनुहुँदैन। हामी राष्ट्रिय कलाकार नै हो। राष्ट्रिय स्तर वा क्षेत्रीय भन्ने शब्द लादिएको शब्द मात्रै हो। यो केही पनि होइन,’ उनी थप्छन्, ‘जुनसुकै लोक गीत गाउने गायक पनि राष्ट्रिय कलाकार नै हो। समातेको धुन र काम गर्ने तरिका लवज मात्रै कुनै एक भेगको होला। तर राष्ट्रिय स्तरमा जान लायककै काम गरिरहेका छौँ।’
प्रकाशित: १२ चैत्र २०८० १८:५९ सोमबार