कवि प्रफुल्लकुमार सधैं घरबाट बाहिरिंदा झोलामा आफ्नो काव्य कृति लिएर हिंड्थे। उनको कवितासङ्ग्रह भर्खरै प्रकाशन भएको थियो। उनी बेरोजगार भएकाले घरमा प्रायः उनको आलोचना हुने गर्थ्यो। कमाइ नहुने काममा घोत्लिने गरेको भनेर उनलाई बेलाबेलामा जहानपरिवारले व्यंग्यको लौरो प्रहार गर्ने गरेका थिए। त्यसैले अचेल उनी बेचैन थिए। उनी केही आर्थिक उपार्जनको काममा लाग्ने विचार पनि गर्दै थिए।
हुन त शहरको चोकमै उनको घर थियो। घरले प्रशस्तै बहाल कमाउँथ्यो। घरबाट प्रशस्त आम्दानी भए पनि त्यसमा उनको हक पुग्दैनथ्यो। कुनै कामले कतै जानु पर्दा उनी श्रीमतीका अगाडि निरीह हुन्थे।
एकदिन उनले श्रीमतीलाई भने, “मलाई आज बाहिर जानु छ, बाटाखर्च दिन्छ्यौ कि!’’
उनले यति के बोलेका थिए, श्रीमती पड्किहालिन् ,“के चाहियो रे? फेरि कविता सुनाउन जान लागेको होला, होइन? पाँच रुपैयाँ कमाउने हुति छैन! बाटाखर्च चाहिएको छ।’’
उनी केही नबोली बाहिरिए अनि चिनेको मान्छेसँग बाटोमा उभिएर घण्टौं गफिए र छुट्टिने बेला झोलाबाट कविताको किताब निकालेर उनको हातमा थमाउँदै किनिदिन आग्रह गरे।
“तपाईंको कवितासङ्ग्रह किन्न पनि मन छ। पढ्न पनि मन छ कविज्यू तर गोजीमा रकम छैन। मलाई एउटा किताब त्यत्तिकै दिन मिल्दैन?’’ उनको पल्लो गाउँका परिचित व्यक्तिले उनले समाएको समस्याको हात छुटाउँदै भने।
“तपाईं जस्तो साहित्यको पारखीलाई एउटा किताब त त्यत्तिकै दिनुहुन्थ्यो तर किताब बिक्रीको सबै रकम प्रकाशकलाई बुझाउनुपर्छ अनि कसरी दिनु त्यत्तिकै।’’ उनले आफ्नो विवशता दर्शाए।
“को हो नि तपाईंको किताबको प्रकाशक?’’ ती परिचित व्यक्तिले जिज्ञासाको पंखा हम्कँदै सोधे।
“प्रकाशक त अरू को हुन्थ्यो र! आफ्नै श्रीमती हुन्!’’ अनुहारमा उदासीको लहर सजाउँदै उनले तत्काल वार्ता टुङ्ग्याए।
-लीलाराज दाहाल
प्रकाशित: ११ चैत्र २०८० ११:२० आइतबार