२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

कवि बम बानियाँ र चित्रकार राई ‘टेम्के तुवाचुङ पुरस्कार’ बाट पुरस्कृत

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले कवि बम बानियाँ र चित्रकार सन्तोष राई ‘सन्जोस’ लाई ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ।

प्रतिष्ठानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका कवि बानियाँलाई ‘टेम्के तुवाचुङ पुरस्कार-२०७७/०७८’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका चित्रकार राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार-२०७९/०८०’ र प्रदान गरेको हो।

छैटाैं वार्षिक उत्सवको अवसरमा दिक्तेलको मुढेस्थित मुन्धुम रिसोर्टमा शनिबार कार्यक्रम गर्दै प्रतिष्ठानले पुरस्कृत बानियाँ र राईलाई जनही ११ हजार १११ रूपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो।

साहित्यका माध्यमबाट जिल्लामा पुर्‍याएको योगदानको कदर गर्दै बानियाँलाई र खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा राईलाई पुरस्कृत गरिएको टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पुरस्कृत दुई व्यक्तित्वलाई ताम्रपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।

पुरस्कृत कवि बानियाँका ‘जागै छन् शब्दहरू’ (२०६८) र ‘मान्छे जोत्ने शहर’ (२०७३) दुई कवितासंग्रह प्रकाशित छन्। उनी रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष हुन्।

ललितकलामा एमफिल गरिरहेका चित्रकार राई निसर्ग वाटिका र पाठशाला नेपाल फाउण्डेसनका कला प्रशिक्षक हुन्।

कार्यक्रममा जिल्ला तथा स्रष्टा पदयात्राका स्रष्टाहरूले आआफ्नाे सिर्जना सुनाएका थिए भने साइनाे कला केन्द्रका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुद लगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको छ।

यसअघि २०७२ मा कवि चन्द्र रानाहँछा, २०७३ मा सितोरियो कराँते खेलाडी सञ्जयकुमार राई, २०७४ मा गायक राधा राई र २०७५ मा मूर्तिकार रोजन राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरिएको थियो।

हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारहरूले २०७० सालमा स्थापना गरिएको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विद्याका प्रतिभालाई वार्षिक रूपमा पुरस्कृत गर्दै आएको छ।

प्रकाशित: ११ चैत्र २०८० १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App