२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पौरखी पाखुरा

उपाय

भनिन्छ-हारपछिको जित, आँसुपछिको हाँसो, बिछोडपछिको मिलन र दुःखपछिको सुखको स्वाद बेग्लै हुन्छ। अन्धकारलाई चिरेर उज्यालोमा आइपुगेकी पोखराकी ३३ वर्षीय एक युवतीको जीवन पनि त्यस्तै भएको छ। उनको विगत कहालीलाग्दो छ। उनका अनुसार परिबन्दले उनी कारागारमा परेकी थिइन्। त्यही बेला उनका पतिले परदेशमा विवाह गरेका थिए।

कारागारभित्रको जीवन संघर्षपूर्ण थियो। १४ वर्षकै उमेरमा विवाह भएकी उनी कारागार नपुग्दै दुई सन्तानकी आमा थिइन्। काखेबच्चालाई छोडेर कारागारको बास दयनीय थियो। उनको झोक्राएरै दिनचर्या बित्ने गर्थ्याे। नजिकै भएका साथीले बोलाएको आवाज पनि उनी सुन्दिनथिन्। कारागारमै कसैले तीनपटक बोलाउँदा उनी झस्किने गर्थिन्। उनी दिन प्रतिदिन सुक्दैगएकी थिइन्। दिन र रात छुट्याउन नसक्ने अवस्थामा उनी पुगिन्।

आफ्नै मृत्यु कुरिरहेजस्ता तीन वर्ष गुज्रेपछि उनमा नयाँ जीवनको पुनरोदय भयो। कारागारभित्रै गोमा ढकाल नामकी एक महिलाले हस्तकलाको तालिम लिएर आइन्। त्यो तालिम दुई महिनाको थियो। गोमाले दिएको तालिमलाई उनले एक ध्यानले केलाउन थालिन्। हो, उनलाई त्यही तालिमले ब्युँझायो।

‘गोमा म्याडम तालिम दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘म एकोहोरो उनको बोलीको हाउभाउ र हस्तकलासम्बन्धी विभिन्न तालिम हेरिरहन्थेँ। उनको सिकाइमा जादु थियो। उनले कारागारभित्रै सयौं महिलालाई तालिम दिँदा हरेक तालिम चाँडै सिक्नेमा अब्बल म हुन्थेँ। गोमा म्याडमको तालसँगै मेरा पनि हात चल्थे अनि मेरो कामको माग पनि बढ्दो थियो।’

उनले थपिन्, ‘दुई महिने तालिमले मलाई मान्छे बन्न सिकायो। राम्रो तान बुन्ने महिलामा आफू पहिलो हुन्थेँ। महिनामै २०/२२ वटा तान बुन्थेँ। कहिले त दिनमै एउटा तान बुन्थेँ।’ उनको मेहनत, इमानदारी र अनुशासनले कारागार मोहित थियो। उनले कारागारमा दिनरात नभनी काम गरिन्।

‘कारागारभित्र हरेक दिन अरू चिया पिउँथे, आफूसँग सुको पैसा थिएन,’ उनले भनिन्, ‘गाउँमा गाईभैंसी पाल्थेँ। दुधचियाको भोगी थिएँ। चिया खुब खानुपर्थ्याे मलाई। उनीहरूले चिया तान्दै गरेको सुरूपसुरूप आवाजले मलाई आहत बनाउँथ्यो। के गर्नु, उनीहरूलाई आफन्त भेट्न आउँदा केही पैसा, खाने कुरा छोडेर जान्थे, मेरो भने घरमा रोइरहेका छोराछोरीको आवाज कारागारभित्रै गुन्जिएझैं छाती भक्कानिएर आउँथ्यो।’

उनले थपिन्, ‘घरमा भित्र चाहिने सामानजस्तै त्यहाँ पनि चाहिन्थ्यो। महिनावारीका बेलामा प्याड, दाँत माझ्ने मञ्जन ब्रुस, चप्पल अन्य सामान चाहिन्थे। आफूसँग पैसा थिएन। एक महिना शौचालय सफा गरेको १५० रूपैयाँ पाइन्थ्यो। पैसा नहुनेले त्यही काम गर्नुपर्थ्याे। मैले पनि त्यही गरेँ।’

कारागारमा माइतबाट उनकी बुढी आमा भेट्न पुग्थिन्। घरतिरका कोही फर्किएर गएनन्। उनी कारागारका दुःखद क्षण बिर्सन सक्दिनन्। ‘महिलालाई माया गर्ने भनेको श्रीमान्ले हो,’ उनले भनिन्, ‘छोराछोरी, श्रीमतीलाई दिने खुसीको सपना बोक्दै बिदेसिएका श्रीमान् उतै बिहे गरेर बस्नुभएको थियो। घरपरिवार भनेर बसेकी श्रीमतीलाई खुसी दिनुपर्ने ठाउँमा पीडा मात्रै थुपार्नुभयो। त्यही पीडासँगै अर्को पीडा थपियो–कारागार।’

कारागार बसाइको तीनवर्षपछि मात्रै होसमा आएको उनले बताइन्। जब उनी होसमा आइन् तब अरूलाई बेहोस पार्ने गरेर काम गरिन्। कारागारभित्र उनले कामबाहेक अरू केही देखिनन्। कारागारभित्रको नीतिनियमलाई पूजा गरेसँगै आफ्नो इमान्दारी र धैर्यलाई ख्याल गर्दै चार वर्ष यसरी काम गरिन्, अरू सबै उनको काममा दंग हुन्थे। कारागारको सातवर्षको बसाइपछि घर फर्कंदा चारवर्षको मेहनतले १० लाख रूपैयाँ कमाइ गरेर निस्किइन्।

‘त्यहाँ म काम मात्रै गर्थें, कति पैसा कमाएँ भन्नेतिर कहिल्यै लागिनँ,’ उनले भनिन्, ‘गोमा म्याडम तान ल्याइदिन थाक्नु हुन्थ्यो। तर, म बुनेर कहिले थाकिनँ। सधैं मच्चिएरै काम गरेँ। हातले बुनेको सामानमा ४०/४५ थरी ब्याग, विभिन्न थरीका पर्स, हाते रुमाल अन्य धेरै सामान बुनेरै दश लाखभन्दा बढी भएको थियो।’

उनले थपिन्, ‘दश लाख लिएर आएको अहिले वर्ष दिन भयो। त्यो पैसा ब्याजमा चलाएकी छु। कारागारले सिकाएको सिपलाई अहिले पनि निरन्तता दिएकी छु।’

उनी अहिले पनि आफूले सिकेको हस्तकलासम्बन्धी सिपले बिहानबेलुका काम गरेर गुजारा चलाइरहेकी छन्। उनी हस्तकलाको कामबाहेक पोखराका विभिन्न कार्यालयमा सरसफाइको काम पनि गरिरहेकी छन्। आफ्नै व्यापार–व्यवसाय गर्ने अबको उनको चाहना छ। साथमा कोही नभएपछि उनी आफ्नै काममा रमाइरहेकी छन्।

कारागारमा अधमरो अवस्थालाई जीवित पारेर यहाँसम्म ल्याउने भनेकै पोखरास्थित लेकसाइडकी उद्यमी गोमा ढकाल हुन्। ढकालले रेनबो हेन्डिक्राफ्ट उद्योग सञ्चालन गरेको थुप्रै समय भएसँगै अहिले भने २० जनाभन्दा धेरैलाई रोजगारी दिँदैआएकी छन्।

ढकाल उद्यमी मात्रै नभएर विभिन्न ठाउँमा हस्तकलासम्बन्धी तालिम दिँदै हिँड्ने गर्थिन्। तालिम प्रदान गर्ने क्रममा कारागारकी ती महिलालाई तालिमपश्चात् काम पनि दिन सफल भएको ढकालले सुनाइन्। कारागारकी ती युवती कामदारमध्येकी मेहनती र परिश्रमी रहेको ढकालको अनुभव छ।

‘ती बहिनीसँग कारागारमा तालिम दिँदैगर्दा भेट भएको हो,’ उनले भनिन्, ‘मैले कारागारमा तालिम सिकाउँदा सबैभन्दा पहिला ती बहिनीले काम चाँडै सिक्ने गर्थिन्। उनलाई त आँखाले हेरे मात्रै पुग्थ्यो। टपक्कै टिप्ने। ती बहिनी काम साह्रै गर्थिन्। मलाई तान पु¥याउन भ्याइनभ्याई हुन्थ्यो। उनीलगायत कारागारमा अन्य १० जना महिलालाई हस्तकलाको रोजगारी दिएकी थिएँ।’

कारागारबाट निस्किएकी ती महिलालाई अझै पनि रोजगारी दिइरहेको उनले बताइन्। विशेष गरेर अप्ठेरोमा परेका, पतिबाट प्रताडित, एकल र परिवारविहीन बच्चा भएका महिलालाई पहिलो प्राथमिकतामा राखेर ढकालले रोजगार दिँदैआएकी छन्।

‘पहिलो रोजगारी दिने भनेकै महिलालाई हो। आमालाई रोजगारी दिएसँगै बच्चालाई पनि पढाइदिने गरेकी छु। एउटी महिलाले कमाएको पैसा घरखर्च गर्नै पुग्दैन। कहाँ छोराछोरी पढाउन पुग्नु ? गास, बास र कपासकै आवश्यकता परेका महिलालाई पूरै व्यवस्था गरेर रोजगार दिएकी छु,’ उद्यमी ढकालले भनिन्।

उद्यमी ढकाल आफ्नो व्यवसायले भरपुर साथ दिएर १३० प्रकारका ब्याग बनाउन सफल भएको बताउँछिन्। ‘कोभिड–१९ अघि धेरै राम्रो व्यापार हुन्थ्यो। मासिक ४/५ लाख नाफा हुन्थ्यो। तर, अहिले कोभिडपछि केही मात्रामा घटेको छ। सकिएको छैन।

केही हदसम्म व्यापार राम्रै भइरहेको छ,’ उनले भनिन्, ‘यही व्यापारले घरपरिवार चलाएर थुप्रैलाई रोजगारी दिइरहेकी छु। बच्चादेखि बुढासम्मले बोक्ने ब्याग छ। पोखरामा व्यापार राम्रै छ। विदेशी आएको बेला अलि धेरै फाइदा हुन्छ।’

‘घरमै बसिरहेका महिलालाई तालिम दिएर तान घरघरमै पुर्‍याउने गर्छौं। एउटा तान बुनेको सात सयदेखि एक हजार रूपैयाँसम्म हुन्छ। घरमै बसेर तान बुन्ने गरेका महिलाले पनि कम्तीमा १५ हजार रूपैयाँ मासिक कमाउने गरेका छन्। विदेश जाने महिला बढेका छन्। तर, स्वदेशमै काम सिकेर केही गर्छु भन्ने महिलाको पनि कमी भने छैन,’ ढकालले भनिन्।

हरेक व्यक्तिले आफ्नो श्रम, सिप, सिर्जनात्मकताको उपयोग गरेर नै देश समृद्ध बन्‍न सक्नेमा दुईमत नभएको उनले बताइन्।

‘देशमा रोजगारीका अवसर सीमित छन्। श्रमका लागि बिदेसिने युवालाई आवश्यक सिप तथा तालिमको व्यवस्था हुन सकेको छैन। जसले गर्दा अदक्ष कामदारका रूपमा बिदेसिन बाध्य युवाहरूको पारिश्रमिक पनि न्यून रहेको छ। सिपयुक्त व्यक्तिलाई देशमै परिचालित गर्न सके धेरै उत्कृष्ट हुन्छ,’ उनले भनिन्।

नेपाल मानो रोपेर मुरी फल्ने देश हो। त्यो भनाइमा मात्र सीमित छैन। देशमै मेहनत गर्ने मानिसलाई विदेश जानुपर्ने अवस्था छैन। काम गरे माम खान पाइन्छ भनेझैं मेहनत गर्नेलाई विदेश धाउन नपर्ने उद्यमी ढकालको उपदेश छ। त्यसैले यी युवाशक्तिलाई देशमा नै श्रम गर्न सक्ने वातावरण निर्माण आजको प्रमुख आवश्यकता रहेको उद्यमी ढकालले बताइन्।

उद्यमी ढकालजस्तै १० जनालाई रोजगार दिँदै आएकी मुस्ताङ, घरपोझोङकी सुकुन रसाइली विक पनि एक हुन्। उनी मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग सञ्चालिका हुन्। मार्फामा उत्पादन भएका स्थानीय सामग्रीमा उपभोक्ताको आकर्षण रहेको छ।

उक्त उद्योग सञ्चालन गर्नुपहिले २० वर्ष मुस्ताङमा होटल व्यवसायमा व्यस्त थिइन्। मुस्ताङमा प्रशस्त उत्पादन हुने भएकाले स्याउको सुकुटी बनाएर होटलमा बेच्ने क्रममा त्यसको माग बढेपछि मार्फा फलफूलको व्यवसाय सुरु गरेर उद्यमी भएको उनी सुनाउँछिन्।

स्याउको सुकुटी/जाम/क्यान्डी, मुस्ताङ आलु, आलुचिप्स, मसरुम, लोकल मुलाको चाना, गोलभेंडाको सुकुटी, फापरको पिठो, मुस्ताङको दाल, ओखर, सिस्नोको पाउडर, खुर्पालीको सुकुटी र जाम उत्पादन गर्दै आइरहेको उद्यमी बताउँछिन्।

कोठमाडौं, भैरहवा, बुटवल, कञ्चनपुर, बेनी, पोखरा र वीरगन्जमा हुने मेला महोत्सवमा उपभोक्ताहरूले खोज्दै स्टलसम्म आउने गरेको बताउँछिन्। लोकल उत्पादन तथा मार्फाका परिकारको देशविदेशमा समेत व्यापक माग हुने गरेको बताउँदै सुकुनले आफ्नो पेसाप्रति गर्व गर्दै भनिन्, ‘विभिन्न संघसंस्थाले हौसला प्रदान गरेका छन्।

सुरुमा होटलबाट व्यवसाय क्षेत्रमा लागेकी सुकुनकुमारीले स्याउका परिकारको माग आएपछि उद्योग गरेर सफल हुन्छु भन्ने लक्ष्य लिएर दश वर्षअघि ४५ लाख लगानी गरेर स्याउका परिकार बनाउन सुरु गरेँ।’

विभिन्न संस्था र राज्यको साथ, सहयोग र हौसलाका कारण अहिलेसम्म दुईतीन सयभन्दा बढी सम्मान तथा पुरस्कारले घर भरिइसकेको छ। उनी भन्छिन्, ‘हिमालपारिको जिल्लामा रहेर पनि सिजनमा धेरै जनालाई रोजगारी दिन पाएकी छु।

अहिलेसम्म एक करोड ५० लाखभन्दा बढीको लगानी भएको छ। अन्तर्राष्ट्रिय पुस्कार तथा सम्मानसमेत पाउँदा आफ्नै देशले चिन्न सकेको छैन। सरकारलाई अन्य नचाहिने काम गर्न बजेट हुन्छ। तर, हामी आफ्नै देशमा मेहनत गरेर धेरैलाई रोजगार दिन्छौं। देशको सान राख्ने गरेर केही काम गरौं भन्दा सरकारले वास्तै गर्दैन।’

यसमा एकातर्फ सरकारी प्रयासमा पनि केही र कहीं कमजोरी रहेका छन् भने रोजगारीको सन्दर्भमा नेपाली समाजको मनोविज्ञान पनि संकुचित घेरामा अल्झिएको उनी बताउँछिन्। चार सन्तानकी आमा भन्छिन्, ‘अनकन्टार मुस्ताङमा मैले मार्फा व्यवसाय गरेको देखेर १५ वर्षदेखि बिदेसिएका श्रीमान्लाई स्वदेश फर्काउन सफल भएँ। मेरो मेहनतमा उहाँ पनि धेरै खुसी हुनुहुन्छ।’ परिवार र व्यापार–व्यवसाय सँगै अगाडि बढाई सफल हुन सकेकोमा उनी गर्व गरेको बताउँछिन्।

सरकारले कृषि क्षेत्रका लागि राम्रो नीति बनाएर लागु गर्न सके देशको अर्थतन्त्र बलियो हुनुका साथै आत्मनिर्भर बन्न सकिने उनले बताइन्। ‘ऐतिहासिक महत्त्वको यस देशमा सम्भावनै सम्भावना भए तापनि पछि परेको देशलाई स्वरोजगारका माध्यमबाट अगाडि बढाउन सकिन्छ,’ उनले भनिन्।

युवा विदेश पलायन हुँदा त्यसले कृषि क्षेत्रमा ठुलो असर पुगेको छ। बेरोजगारी नेपालको प्रमुख समस्या भइरहेको बेलामा गोमा ढकाल र सुनकुमारी जस्ता वास्त उद्यमीलाई सरकारले राम्रो अवसर दिएमा उनीहरूजस्ता थुप्रै केही गर्न चाहनेलाई स्वदेशमै उपलब्धि प्राप्त हुन्छ।  

प्रकाशित: १० चैत्र २०८० ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App