२४ असार २०८१ सोमबार
image/svg+xml
कला

बैंसालु वसन्तमा उमङ्ग भर्ने पर्व

संस्कृति

फागुन शुक्ल अष्टमी तिथिमा हनुमानढोकाको वसन्तपुर दरबारसँगै जोडिएको गद्दी बैठकको दक्षिणमा रंगीबिरंगी कपडाका टुक्राले सजिएको टिनको छत्र भएको चीर धलासिक्व मानन्धर सनाःगू खलः धलासिक्व असं त्यःरका मानन्धरहरूले  ठड्याउँछन्। यस दिनदेखि फागुको विधिवत आरम्भ भएको मानिन्छ। यस अवसरमा हनुमानढोका दरबारको गुर्जु पल्टनको पनि सहभागिता रहन्छ।

फागुन वसन्त ऋतुमास भएकाले यसलाई आनन्द र उल्लासको महिना पनि भनिन्छ। यस पर्वका लागि नेपालमा पहाड र तराईमा छुट्टाछुट्टै दिनमा बिदा दिने गरिएको छ। फागुन पूर्णिमाका दिन पहाडी क्षेत्रमा र यसको भोलिपल्ट तराईमा यो पर्व मनाउने गरिन्छ भने नेवार जातिमा यो पर्व मनाउने आफ्नै मौलिक परम्परा रहेको पाइन्छ।

फागुनमा मनाउने पर्व भएकाले यसलाई फाल्गुणी पनि भन्ने गरिन्छ भने संस्कृत कोशअनुसार यसलाई होली भन्ने गरिन्छ। ‘संस्कृत कोश’अनुसार अग्निमा डढाइएको अन्नलाई ‘होलिका’ भनिन्छ। प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी यज्ञभस्म शिरमा लगाई मनाइने गरेकाले केही विद्वानहरू यस पर्वलाई वैदिककालीन पर्व पनि भन्ने गरेका छन्।

पौराणिक कथनअनुसार यस उत्सवको आरम्भ रघु राजाबाट भएको हो। बराहपुराणमा फागुन पूर्णिमालाई पटवास विलासिनी भनिएको छ। साथै यस पुराणमा मदनोत्सव तथा वसन्तोत्सवका रूपमा मनाइने यस पर्वमा अबिरजस्तो चूर्णको प्रयोग गरी क्रिडा गरिन्छ भनिएको छ।

विभिन्न रङ लगाई गाउँदै नाच्दै हिँड्ने जमातलाई शिवगणको भेष बनाई शिवको जन्ती गएको पनि मानिन्छ। यस्तै यसलाई होलाका, होरी र फागु नामले पनि चिनिन्छ।

‘फाल्गुने पूर्णिमायां तु दुग्धा भवति होलिकाः। पश्चात् प्रातः समुत्थाय क्रियते होलिकोत्सवः’ अर्थात् फागुन पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ। त्यसको अर्को दिन बिहानै उठेर होलिकोत्सव मनाइने कुरा हिन्दु शास्त्रमा उल्लेख गरिएको छ। त्यस्तै फागुन शुक्ल पूर्णिमा तिथिमा सायम्कालमा भद्राको मुख छलेर होलिकाको पूजा गर्नुपर्ने निर्णयसिन्धुसारमा भनिएको छ।

फाग अर्थात् मैथिलीमा गुलाल लगाएर यो पर्व मनाउने गरिन्छ। यस मौसममा बगैंचाको फूलको आकर्षण रुखविरुवाका नयाँ मञ्जरीले मानिस, पशुपन्छी सबैतिर परिपूर्ण एवम् उल्लासमय वातावरण बनाउने भएकाले यसलाई मित्रताको पर्व पनि मान्ने गरिन्छ।

धार्मिक तथा सांस्कृतिक चाडका रूपमा मनाइने यो पर्व पौराणिक कथा प्रसङ्गसँग जोडेर मनाउने गरिन्छ। होली वसन्तको आगमनसँगै रङको प्रयोग गरी उल्लास, उमंग र खुसियालीसाथ मनाउने गरिन्छ।

वर्षभरिका दुःखपीडा भुलेर आउने दिनमा सुखी र खुसी हुन मनाउने यस पर्वको सामाजिक र धार्मिक आस्था पनि छ। छोरा प्रह्लादको भगवान् विष्णुप्रतिको आस्थाका कारण बाबु हिरण्यकशिपु आजित थिए। प्रह्लादलाई मार्नका लागि हिरण्यकशिपुले अग्निले दहन नगर्ने वरदान पाएकी बहिनी होलिकालाई उपयोग गर्ने योजना बनाउँछन्।

यसै योजनाअनुसार प्रह्लादलाई काखमा राखेर अग्निमा होमिन होलिकालाई अह्राउँछन्। परिणाम भने उल्टो आउँछ। आगोले होलिका भस्म हुन्छिन् भने प्रह्लादलाई केही पनि हुँदैन। यही खुसियालीमा होली मनाइन्छ। यस कथाको दार्शनिक भावमा होलिका मानिसको स्थूल शरीरको प्रतीक र प्रह्लाद सत्यको प्रतीकका रूपमा देखिन्छन्।

त्यस्तै रामले रावणको वध गरेको खुसियाली अर्थात् असत्यमाथि सत्यको विजय उपलक्ष्यमा मनाइने पर्वका रूपमा पनि यसलाई लिइएको छ। द्वापर युगमा व्रजमा कृष्णको राधा र गोपिनीसँगको रासलीलाको महिमासमेत यस पर्वसँग जोडिएको छ।

यस्तै यस पर्वलाई कतिपयले बालक कृष्णलाई दुध पिलाउन आएकी पुतना नाम गरेकी राक्षसनीलाई कृष्णले मारेको खुसियालीमा व्रज र गोकुलका नरनारीले मनाएको उत्सवका रूपमा पनि यस पर्वलाई लिने गरिन्छ।

यस पर्वमा राम्रो तरिकाले तयार पारिएको रङ प्रयोग गरी होली खेल्दा यसले छालाको रोग पनि निको हुने विश्वास गरिन्छ। यस्तो रङ प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र चीरको धुवाँबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यस पर्वको आयुर्वेदिक महत्त्व रहेको पनि विश्वास गरिन्छ।

पहिलेपहिले इन्द्रचोक, भेडासिंतिरका मारवाडीहरू होलिका दहनको खरानी लिन मरिहत्ते गर्ने गरेको यहाँका स्थानीय बताउँछन्। उनीहरूले भोलिपल्ट त्यसै खरानीको होली खेल्ने गरेको भनाइ पनि छ। शिव, कृष्ण, प्रह्लादका कथा प्रसङ्ग यस पर्वको धार्मिक आधार रहे तापनि यसको महत्त्व प्राकृतिक वातावरणसँगै मानिसमा आउने उल्लाससँग गासिएको छ।

यस पर्वमा विशेषगरी रातो, हरियो, पहेंलो र निलो रङको प्रयोग हुने गरे तापनि आजभोलि अरू रङको पनि प्रयोग भएको देखिन्छ। यस पर्वमा रातो, हरियो, पहेंलो, निलो र सेतो रङ विशेष प्रयोग गरिन्छ। यी रङ हिन्दु तथा बौद्ध धर्मका धार्मिक सूचकका रूपमा पनि प्रयोग हुने गरेका छन्।

रातो: रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले विशेषतः देवीले रातो रङको पहिरन लगाएको देखाउने गरिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीक रातो रङलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ।

हरियो: हरियो रङलाई प्राण, जीवनशक्ति एवम् मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ पनि भनिन्छ। पहेँलो: पहेँलो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यस रङको सम्बन्ध खुसी र हर्षसँग रहेको मानिन्छ।

निलो: निलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नील वर्णका भगवान् विष्णु र शिवले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ।

होली दैहिक र लौकिक आनन्दोत्सव, रसिक मानिसका लागि प्रणयोत्सव पनि हो। प्रकृतिमा हिउँदको अन्त्य र वसन्तको सुरुवातमा नयाँ पुष्प पल्लवित भई वातावरणमा उत्साह र उमंग भर्ने यो याम कृषकका लागि सम्पन्नता र सांसारिक सुखप्राप्तिको पुण्य बेला हो।

रङमा रंगिँदै, रंगिन पानीमा भिजेर रिसद्वेष पखाल्न एक आपसमा भाइचारा आदानप्रदान गर्ने समय पनि हो यो। प्रकृतिमा पल्लवित नयाँ पालुवाको स्वागत गर्दै युवायुवतीको जोसमा रंगिने पर्व पनि यसलाई मानिन्छ।

होलीको सन्दर्भमा चलेका पौराणिक कथनहरू भए पनि यसको वास्तविक विषय भनेको मानिसको जीवनमा थप ऊर्जा प्राप्त गर्नु हो। पृथ्वीमा मानिस मात्र नभई वनस्पति अनि जीवजन्तु पनि छन्। सबैलाई प्रकृति परिवर्तनको प्रत्यक्ष असर परिरहेको हुन्छ। शीतकालमा कक्रक्किएको शरीर र चिसोका कारण भएको रोगव्याधीलाई हटाउन यो पर्व मनाइने विश्वास छ।

वसन्तको आगमनसँगै भालेले आफ्नो सुन्दरताबाट पोथीलाई आर्कषित गर्नु, मानवदेहमा शीतकालले कठ्याङ्ग्रिएको निरुत्साहमा नयाँ उत्साह र उमङ्ग पाउनु, रुखविरुवामा नयाँ पालुवा आउनु प्रकृतिको वरदान हो।

रङमा रंगिएर आमोदप्रमोद, खेलकुद, नाचगान गर्दा शरीरमा आउने उत्साहले मानिसलाई ऊर्जा दिइरहेको हुन्छ। मानिसमा सामाजिकताका साथै धार्मिक स्वभाव पनि रहने हुनाले कुनै पनि उत्सवउमङ्ग मनाउनुभन्दा पहिला धार्मिक अनुष्ठान गरिन्छ।

काठमाडौंमा यस पर्वमा चीर उठाउनुको धार्मिक महत्त्व छ साथसाथै भोलिपल्ट हुने रङको रौनकका साथै चकंद्यः जात्रा पनि रोचक छ। ठबहिलको चक्रमशील महाविहारबाट सुरु हुने यस जात्रामा चक्रमणशील देवताको पूजा गरिन्छ।

चकंद्यः जात्रालाई सिंहसार्थवाहले ल्हासाबाट व्यापार गरेर धन कमाई ल्याउँदा नगरवासीले सिन्दूर जात्रा गरेर स्वागत गरेको कथासँग जोड्ने गरिएको देखिन्छ। तर सिंहसार्थवाह र चकंद्यःको के सम्बन्ध छ भन्ने सन्दर्भ अहिलेसम्म अध्ययनकै विषय रहेको छ। संस्कृत शब्द ‘सार्थवाह’मा ‘सिंह’ जोडेर ‘सिंहसार्थवाह’ बनेको हो।

सार्थवाहले व्यापारी नाइकेलाई बुझाउँछ। उसबेला ल्हासाको व्यापार गर्नु साहसको काम थियो। व्यापारका लागि पैदल तथा घोडचढीको यात्रा हुन्थ्यो। पहाडी डरलाग्दो मार्गमा चोरीडकैटीको भय हुन्थ्यो। जस्तोसुकै कठिन यात्रामा पनि निडर भएर व्यापार गरी सकुशल नेपाल फर्किनु बहादुरीको काम भएकाले यी व्यापारीको सम्मानमा गरिएको सिन्दूर जात्रा पनि होली पर्वको कारक तत्त्व मान्न सकिन्छ।

नेवार समाजमा राम्रो गर्ने मान्छेलाई देवतासमान मान्ने परम्परा छ। यो नेवार समाजको मौलिक परम्परा पनि हो। नेपालभाषामा कुराकानी गर्दा पनि कसैले समाजका लागि राम्रो काम गरेको छ भने  ‘द्यः थें भिंम्ह मनू’ अर्थात् ‘देवताजस्तै असल मान्छे’ भन्ने चलन छ।

यहाँको भिंद्यः परम्परामा पनि राम्रो कामका लागि थकू जुजुलाई सहयोग गर्ने सहयोगी नै देवतामा पनि असल भन्ने अभिप्रायमा लिने गरिन्छ भने सिंहसार्थवाहको मूर्ति पनि बोधिचित्तका जस्तै रातो देखाएर देवतासमान मान्नुको कारण पनि यही हो कि भनी अनुमान गरिएको छ।

काठमाडौंको वसन्तपुरमा अष्टमीको साइतमा लगभग २० फिट अग्लो चीर ठड्याइन्छ। यसलाई नेपालभाषामा ‘चीर स्वायेगु’ भन्ने गरिन्छ। बाँसको टुप्पामा तीन तह बनाएर विभिन्न रङका कपडा झुन्ड्याइन्छन्। यो काम मानन्धरहरूको गुठीबाट हुने गरेको छ। पौराणिक कथ्यअनुसार द्वापरयुगमा गोपिनीहरू निर्वस्त्र भई यमुनामा नुहाउन जाँदा भगवान् कृष्णले सबैको वस्त्र रुखमा झुन्डाइदिए।

यी रंगीन कपडाका टुक्रा गोपिनीका वस्त्रका प्रतीक मान्ने गरिन्छ। भगवान् कृष्णले गोपिनीका वस्त्र यसरी रुखमा झुन्डाउनुको अर्थ उनीहरूलाई पाठ सिकाउन हो भन्ने गरिन्छ। हिन्दु धार्मिक मान्यताअनुसार नदी पवित्र स्थल भएकाले निर्वस्त्र नुहाउनुहुन्न भन्ने गरिन्छ। यसैको प्रतीकमा हनुमानढोका दरबारको मोहनकाली चोक र दरबारको मुख्य ढोकाअगाडि मयलको रुखको हाँगा गाडी त्यसमा रंगीन कपडा झुन्ड्याउने चलन छ।

गुह्येश्वरीको वनबाट मयलको रुखको हाँगा काटेर गुह्येश्वरी मन्दिर र पशुपतिनाथलाई चढाउने गरिन्छ। होली सुरु भएपछि मयलको रुखको मूल हाँगा चढाउने परम्परा छ र बाँकी हाँगा त्यहाँबाट हनुमानढोका दरबारअगाडि ठड्याउने गरिन्छ।

मोहन चोकमा बाँसुरी बजाइरहेका कृष्ण र गोपिनीका काष्ठ मूर्तिहरू पनि प्रदर्शनमा राख्ने गरिन्छ। यहाँ प्रदर्शनीमा राखिने गोपिनीका काष्ठ मूर्ति पनि अर्धनग्न अवस्थाका छन्। यसै चोकमा रहेको अभिलेखमा फागुपूर्णिमामा वंशीधरको पूजाका साथै वसन्त कामदेवको पूजाका विषयमा यहाँको शिलापट्टमा उल्लेख छ। उक्त शिलापट्टमा ‘पञ्चमीकुन्हु श्री ३ वसन्त कामदेवन पूजा यायेमाल’ भनी वसन्तमा कामदेवको पूजा गर्ने विषयमा लेखिएको छ।

वसन्त पञ्चमीमा मनाइने पर्व र यसै ऋतुमा मनाइने मन्मथोत्सवमा कामदेवको पूजा गरिन्छ। त्यस्तै यसै दिन यस चोकको पनि वर्षवर्धन पूजा गर्नुपर्ने कुरा यसै अभिलेखमा लेखिएको छ। यस चोकमा फागु उत्सवको थालनीदेखि नै गोपिनीसहितको कृष्णको मूर्ति प्रर्दशनीमा राख्ने गरिएको छ। यी मूर्तिहरू प्रताप मल्लकालीन हुन्।

राजा प्रताप मल्ल यस चोकमा होली खेल्ने गरेको कलाकार हरिप्रसाद शर्माले बताए। राजा प्रताप मल्लले यहाँ होली खेलेको परिकल्पनामा तैलीय चित्र पनि कोरेका छन्। जुन चित्र अहिले हनुमानढोका दरबारको गोल घरमा प्रदर्शनीमा राखिएको छ।

हनुमानढोका दरबारअगाडि मयलको रुख गाडी त्यसमा अबिर छरेर होलीको सुरुवात गर्नु मल्लकालीन चलन हो। होलीमा वसन्तपुरमा गाडिने तीनछत्रे चीरका सम्बन्धमा उसबेला बाइसेचौबीसे राज्य हुँदा सबैले मयलको रुख दरबारको प्राङ्गणमा गाडेर होली मनाउँथे।

पर्वत राज्य बलवान् भएको समयमा यस राज्यले मात्र मयलको रुख गाडेर होली मनाउँथ्यो। अरू राज्यले यसो गरेमा तुरुन्त आक्रमण गरी छत्र च्यातिदिने गरेको कुरा इतिहासमा लेखिएको पाइन्छ।

गोरखा राज्य बलवान् भएपछि पृथ्वीनारायण शाहले दरबारको प्राङ्गणमा एक छत्रे चीर गाडेर होली मनाउन थालेका थिए र काठमाडौं उपत्यका विजय गरेपछि यही चलन काठमाडौंमा पनि चलाएको मानिन्छ तर काठमाडौंमा तीन छत्रे चीरको प्रचलन रहेको मानिन्छ।

वसन्तोत्सवको अर्को नाम मन्मथोत्सव हो। मन्मथ अर्थात् मायाका देवता कामदेव। यसलाई फागु वसन्तोत्सव र मन्मथोत्सव पनि मानिन्छ। यो नेपालको मौलिक परम्परा पनि हो, जसलाई सिर्जना र प्रगतिसँग सम्बन्धित मानिन्छ।

वसन्तपुर दरबारमा सडकतिरको भागमा रहेको पृथ्वीनारायण शाहको १८२६ सालको अभिलेखमा ‘श्री गणेशाय नमः धरानवत्र्तुभूमिते शके सुमासि माधवे सितेथ शनौ विधातृभे तिथावहेः विचित्रजालमण्डतं विलासमन्दिरं मुदा विधाय मन्मथोत्सवं व्यधान्महीशकेशरी’ अर्थात् वसन्तको पूर्णिमामा अनौठो सजावटले सज्जित विलासी घरमा खुसी भएर सिंहजस्ता राजाले मन्मथोत्सव मनाए भनी लेखिएको छ। यसबाट वसन्तपुर दरबारमा शाहकालमा मनाइने मन्मथोत्सवको विलाससम्बन्ध मन्दिरसँग देखाइएको छ।

चीर स्वायेगु (होलीको बाँसको चीर ठड्याउनु) पछि विधिवत होलीको सुरुवात भएको मानिन्छ। पहिले पहिले यस दिनपछि रंगीन पानी भरिएको बेलुनका लोला हान्ने चलन थियो। अझ पहिले पहिले त चीर उठाउनुभन्दा अघिदेखि नै उत्ताउला केटाहरूले रङ भरिएका लोलाले बाटोमा हिँडेका केटीहरूलाई प्रहार गर्ने गर्थे। जसका कारण होलीमा उमङ्गको पर्वभन्दा पनि युवतीहरूका लागि त्रासको वातावरण हुन्थ्यो।

आजभोलि भने यस्तो वातावरण छैन। नेपाल सरकारको कडाइसँगै यस्ता कार्य रोकिएका हुन्। आजभोलि विधिवत् चीर उठाए पनि होलीचाँहि पूर्णिमाको दिन मात्र खेलिन्छ।

द्वापरयुगमा भगवान् कृष्णले सोह्रसय गोपिनीसँग खेलेको होलीको प्रसङ्ग र यसबेला युवकलाई आफूले मन पराएकी युवतीलाई बलजफ्ती सिन्दूर लगाइदिएर आफ्नो बनाउन सक्छ भन्ने पनि विषयमा चर्चा गरिएको पाइन्छ। यसप्रकारको धार्मिक मान्यताबाट उत्प्रेरित भएर नै होला, होलीमा केही युवकले यसलाई नकारात्मक रूपमा मनाउने गरेको भए पनि आजभोलि यस किसिमको वातावरण छैन। होली पूर्णिमाका दिन वसन्तपुरमा विभिन्न स्थानबाट जम्मा भएर मानिसहरू होली खेल्छन् भने आआफ्ना घरमा पनि होली खेल्ने गरिन्छ।

नेवार समाजले भने यस पर्वलाई प्रेम दिवसका रूपमा पनि मनाउने हुनाले यससँग सम्बन्धित प्रेम भावका पुराना गीतहरू पनि छन्। ‘अबिरया होलि तंचाया ला ल्यासे, अबिरं छंगु ख्वाः हिसि देयका बी’ अर्थात् अबिरको रङ होली हो। अबिरले तिम्रो अनुहार रंग्याइदिऊँ कि भनी युवकले युवती जिस्काउँने भाव व्यक्त गरिएको पाइन्छ। यस पर्वलाई प्रेम दिवसका रूपमा मनाउने हुनाले यस दिन युवायुवतीहरूले एकअर्कालाई मन पराएको स्विकार्ने दिनका रूपमा पनि लिने गरिन्छ भने पहिले पहिले यस दिन आफूलाई मन परेकी केटीलाई सिधै सिन्दूर लगाउन पाउने भन्ने पनि मान्यता थियो।

कुनै पनि खुसीको उत्सव र जात्रामा अबिर, सिन्दूर लगाएर मनाउने चलनलाई विजय र खुसियालीको प्रतीकका रूपमा लिने गरेको पाइन्छ। धेरैजस्तो जात्रापर्व अबिर लगाएका मानिसहरूको भिड जम्मा भएर मनाउने गरेको पाइन्छ।

हावामा सिन्दूर÷अबिर छरेर, एकआपसमा रङ दलेर खुसियाली मनाउने परम्परा होलीमा मात्र नभई धेरैजस्तो जात्रा पर्वमा छ। ठिमीमा मनाइने बालकुमारीको जात्रालाई भइँसिन्ह जात्रा अर्थात् सिन्दूरको जात्रा भन्ने गरिन्छ।

होली समापनको राति टुँडिखेलको दक्षिणपूर्व कुनामा रहेको रुखको तलतिर गुरुमापाका लागि भात राख्ने चलन छ। गुरुमापाका लागि भात राख्ने गुठी छ। इटुम्बहालबाट कहीं पनि नबिसाईकन पकाएको भात खर्पनमा राखी ल्याउने गरिन्छ। यसबेला भातका साथै एउटा सिंगै राँगाको मासु पनि चढाउने चलन छ। भात खुवाइसकेपछि महाकालअगाडिको पाटीमा गुरुमापाको मुख चुठाउने चलन छ।

भक्तपुरमा दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर नेवारहरू नेवारी भाषाको गीत गुन्जाउँदै पर्व मनाउँछन्। यस बेला व्यापारका देवता भीमसेनको पूजा हुन्छ। भीमसेन मन्दिरमा काठबाट बनेको भीमसेनको लिंग र द्रौपदीको योनीको प्रतीक प्वाल बनाइन्छ। रातो कपडा मन्दिरमा झुन्ड्याएर यौन समागमका रूपमा एकसातासम्म प्रदर्शनमा राख्ने गरिन्छ।

विशेषतः व्यापारी वर्गद्वारा यसको पूजा गर्ने चलन छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास गरिन्छ। चीर ठड्याएपछि यहाँका नेवार समुदायमा भीमसेन मन्दिरमा गई गुठी भोज खाने चलन छ। साथै पूर्णिमामा उक्त लिंगलाई बोकेर ब्रह्मायणी नदीमा लगेर धोएमा छोरा जन्मिने जनविश्वास पनि छ। यही विश्वासका आधारमा लिंग बोक्न चाहनेहरूको भिड हुने गरेको छ।

 साथै यहाँका स्थानीय सुरेश लाखेका अनुसार फागुमा पहिले पहिले टोल टोलमा दाफा भजन गाउने टोली आमनेसामने बसेर बाजागाजाका साथ होली गीत दोहोरीका रूपमा गाउने गरिन्थ्यो। यस बेला मानिसहरू टुक्रुक्क बसेर उफ्रँदै अबिर छर्दै जाने गरेको देखेको लाखेको अनुभव छ।

पाटन दरबारमा अष्टमीमा कृष्ण मन्दिरअगाडि मयलको रुखको हाँगा गाडेपछि यस पर्वको विधिवत् आरम्भ मान्ने गरेको छ भने पूर्णिमाको दिन यसै प्राङ्गणमा मानिसहरू जम्मा भएर होली मनाउने गरेको पाइन्छ।

थारु समुदायमा होलीलाई ‘फगुवा’ भन्ने चलन छ। नेपालका भित्री मधेस तथा तराईका थारु समाजमा यो पर्वलाई नयाँ वर्षको उत्सवका रूपमा पनि लिने गरिन्छ। फागुन पूर्णिमाको रात होलिकाको पूजा गर्ने विधान पनि छ।

जीवनलाई स्वस्थ रूपले चलाउन प्राकृतिक वातावरण अपरिहार्य हुन्छ। ऋतु परिवर्तनले मानिसको शरीरमा आउने परिवर्तनलाई सहज गराउनका लागि पनि ऋतुअनुसार मनाउने पर्वको ठुलो भूमिका रहन्छ।

हिउँदमा मानिसको शरीरमा सञ्चित भएर रहेको कफ शिशिरमा भित्रसम्म गढेर रहेको हुन्छ। शिशिरको अन्त र वसन्तको आरम्भमा बाहिर निकालेन भने यसले धेरै किसिमको रोगव्याधि ल्याउन सक्ने हुनाले होलीमा पर्व मनाएर उत्सव, नाचगान, ख्यालठट्टा गरी शरीरको विकार निकाल्न यो चाड मनाउनुपर्छ भनी आयुर्वेदमा उल्लेख छ।

अष्टमीका दिन हनुमानढोकाको वसन्तपुरमा फागुको चीर गाढेर विधिवत् पर्वको सुरुवात गरिएपछि पूर्णिमाको दिन एकआपसमा रङ लगाएर पर्व मनाइसकेपछि सोही रात चीर ढाली टुँडिखेलमा दहन गरेपछि विधिवत् रूपमा सो वर्षका लागि पर्व समापन हुन्छ। चीर विसर्जन गरिपछि यसमा राखिएको रंगीन कपडाको टुक्रा लिन मानिसहरूको तँछाडमछाड हुन्छ।

यो कपडाको टुक्रा घरमा राख्नाले र बच्चालाई लुगा सिलाई लगाइदिनाले नराम्रो आत्मा अर्थात् भूतप्रेतबाट बचाउन सकिन्छ भन्ने विश्वास रहेको छ। यस्तै चीर जलाएको आगो घरमा लगे घर पवित्र हुने र यसको खरानीको टीका लगाउनाले पनि भूतप्रेतबाट बच्न सकिन्छ भन्ने मान्यता छ।

प्रकाशित: १० चैत्र २०८० ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App