विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएकाे छ। शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको चर्चा गर्दै निबन्धका अतिरिक्त उनले कथा, अन्तर्वार्ता जस्ता विधामा पनि छुट्टै र विशिष्ट किसिमको काम गरेको उल्लेख गरेका थिए।
प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यले आफू लामिछानेका निबन्धबाट प्रभावित भएको बताए।
समालोचक प्रमोद प्रधानले लामिछानेले लगभग एकै समयमा एब्स्ट्याक्ट चिन्तन प्याज र गोधूलि संसार जस्तो फरक शैलीको निबन्ध लेखेको बताउँदै उनको जन्मशताब्दी आउन लागेकाले त्यसलाई फरक र विशेष रूपमा मनाइनुपर्ने बताए।
अर्का समालोचक ज्ञानु अधिकारीले लामिछानेका निबन्धका विशेषताबारे विस्तृत विवेचना गर्दै उनका निबन्धबारे अनुसन्धानमूलक काम गरिनुपर्नेमा जोड दिइन्।
अध्यक्षको आसनग्रहण प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले निकट भविष्यमा शङ्कर लामिछानेबारेको कृति प्रकाशन हुने जानकारी दिए।
कार्यक्रममा विशेष अतिथि हङकङका विधायक पी के जोन, साहित्यकार उषा शेरचन, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले पनि लामिछनेको योगदानमाथि प्रकाश पारेका थिए भने साहित्यकार डा.दामोदर पुडासैनीले लामिछानेबारे आफूले लेखेको निबन्धको अंश सुनाएका थिए। साथै प्रतिष्ठानका संरक्षक सविता ढुंगानाले स्वागत गरेकी थिइन्।
कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरू हिरण्यकुमारी पाठक, रमेशनाथ खनाल, श्रीओम श्रेष्ठ रोदन, नरेन्द्रराज पौडेल, भुपेन्द्र खड्का, मोमिला, ध्रुव वासिष्ठ (डा. भरतकुमार पौडेल), मन्जिला अनिल, सुवासचन्द्र पौडेल, संगीता शर्मा, डा. शान्तिमाया गिरी, विजयध्वज थापा, भानुप्रकाश जोशी, किशोर श्रेष्ठ, रन्जना निरौला, रुद्र अधिकारी, जीवन श्रेष्ठ, हरिष कल्पित, डिल्लीरमण सुवेदी, समिना खनाल पृथा, निर्मलमणि पराजुली, डा.बुनु दाहाल, विन्दु ढकाल, रत्नलक्ष्मी श्रेष्ठ, ममता मृदुल, द्वारिका ढुंगाना, सुमन वर्षा, पवित्रा अधिकारी, लक्ष्मी अप्सरा पाण्डे, हरिष कल्पित, पारु तिमिल्सिना, राजेश खनाल, गायक नरहरि प्रेमी, गायिका रितु कडेल, सपना तिमिल्सिना, हरि गिरी लगायतको उपस्थिति रहेकाे थियो।
प्रमुख अतिथिले दीप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा लामिछानेको हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो। कार्यक्रममा हङकङका विधायक पीके जोनलाई शङ्कर लामिछानेको कृति उपहारस्वरूप प्रदान गरिएको थियो। कार्यक्रम निबन्धकार श्रीबाबु कार्कीले कार्यक्रम संचालन गरेका थिए।
प्रकाशित: ६ चैत्र २०८० १३:२९ मंगलबार