५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन!

मुक्तक

१) मुक्तक

वारि पाखा पारि पाखा बिचमा छ खोला,

आजभोलि भन्दा भन्दै बित्दाे रैछ चोला।

कहिल्यै नै नभरिने मान्छेको मन साथी,

सधैं रित्तो रित्तै हुन्छ जिन्दगीको झोला।

२) मुक्तक

कस्तो हो नि तिम्रो मन घरी धार्नी घरी तोला,

कति साह्राे हुँइकिएको घरी पहाड घरी खोला।

यति लामो संगतले नि तिमीलाई चिन्न गाह्राे,

घरी ब्रह्मा घरी विष्णु घरी शिव शंकर भोला।

३) मुक्तक

धेरै पिर नगर्नु माया खोलाको तिरमा छु,

के हुन्छ कुन्नि थाह छैन प्रिय अक्करको भिरमा छु।

जन्म र मृत्यु बिचको खेला जिन्दगी रहेछ,

छामेर हेर भित्रको मन म तिम्रो शिरमा छु।

४) मुक्तक

कति हाँस्नुहुन्छ साथी अरू रुवाएर,

कैल्यै आफ्नो हुन्न सखे मान्छे खुवाएर।

मुटु कति पोल्दो हो नि पश्चातापले जल्दा,

दरबार बन्यो नीति मर्यो बिचार नुहाएर।

५) मुक्तक

भ्यूटावरको शिरबाट देखिएन उनको लीला,

पोखरीमा डुब्दा पनि भेटिएन उनको लीला।

शान मान राजा जस्तो रैती बन्दा हामी खुशी,

उपलब्धि नहुँदा नि मेटिएन उनको लीला।

६) मुक्तक

दुख लाग्छ ठुली कान्छी तिम्रो चाल देख्दा,

सबैलाई पार्न सक्ने शक्ति जाल देख्दा।

छान्दा छान्दै हातमा त शून्य पर्छ भन्छन्,

हामफाल्नु हुन्न नानु तल ताल देख्दा।

७) मुक्तक

जून तिमी र फूल उस्तै लाग्छ ठुली,

आमा माया र मूल उस्तै लाग्छ ठुली।

तिमी छौ र त जीवन तार्न सकिराछु,

बाटो माटो र पुल उस्तै लाग्छ ठुली।

८) मुक्तक

तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,

केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन।

हामीलाई उल्लु बनाई तिमी हाँसीहाँसी बाँच्छौ,

खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन।

९) मुक्तक

भ्यूटावर चढी हेर्दा मुलबाटोमा धुलो रैछ,

जताततै भत्किएको तल्लो राजकुलो रैछ।

मुटुभित्र छुरा हानी चोखो माया गरे जस्तो,

बल्न सारै गाह्राे पर्ने अन्तरेको चुलो रैछ।

१०) मुक्तक

मर्न पनि सकिएन बाँच्न पनि सकिएन,

धरोधर्म दिल खोलेर हाँस्न पनि सकिएन।

यसो गर्छु उसो गर्छु भन्दै जीवन बिती जान्छ,

आङ फुकाई कम्मर मर्काइ नाच्न पनि सकिएन। 

प्रकाशित: ३ चैत्र २०८० १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App