युद्ध
म निदाएको थिएँ
सायद कि तिम्रा र मेरा कल्पनाहरूले
मलाई सताउन थाले।
आखिर जीवन सदैव चलिराख्ने धारावाहिक शृंखला न हो
जुन मेरा मनसपटलभरि
तीता सम्झना बनेर छरिएका छन्।
कहिले दिवास्वप्न बनेर
मेरा मगजका द्वारहरूलाई
अर्धचेतन सम्झनाका फोहोराले हिर्काउँछन्
अनि झसङ्ग भएर
म आफ्ना कुण्ठाहरू याद गर्छु
त्यो कालचक्रको खेल कस्तो रहेछ
कि कलिलो उमेरमा नै युद्धको आगोले पोलेका
मेरा हातहरू धनुष उचाल्दा कामे।
के मेरा हत्केलाका भाग्यरेखा
युद्धमैदानको डढेलोले पोलेका
मेरा आँखाका नानीले पहिचान गरेनन् र।
युगौंदेखि चलिआएका
राष्ट्रबीचका युद्धमा कसले कति आर्जन गर्यो
कसले कति गुमायो भन्ने प्रश्नले मथिंगल हल्लाउँछ।
खोजखबर गर्ने कसको फुर्सद
युद्धभूमिमा मिल्काइएका लासका खप्परका
तस्करी गर्दा हुन कोही देशद्रोहीले
इतिहासको कलमले नाम नलेखेका शहीद र तस्करका आकृतिहरू
याद आउँछन् कहिले त।
कुरु क्षेत्रमा पसारिएका
निर्दोष गंगालाल र धर्मभक्तका वंशावलीहरू
विश्वयुद्धको आगोले किन सर्लक्कै निल्यो।
शाहजहाँको ताजमहल र जोधा अकबरको
राजमहलका पर्खालहरू बनाउँदा
थिचिएका लासहरू किन चिच्याउन सकेनन्।
के हिंसाका आँसु बग्न नपाउँदै
वीरहरूका चिता भित्रभित्रै सुक्छन्
के ईश्वरले निर्दोष र दोषीहरूको सूचीपत्र बनाउन भुलेका हुन्
यी कुरा ओझेलमा परे या सञ्जोगवश इतिहासले बिर्सियो।
-सुरभि रेग्मी
प्रकाशित: २८ फाल्गुन २०८० १०:३५ सोमबार