२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

म महिला कि मानव!

कविता

म महिला कि मानव!

भन्छौ धनकी देवी लक्ष्मी हौ तिमी

तर किन धन दिएर विदा गर्छौ मलाई

भन्छौ विद्याकी देवी सरस्वती हौ तिमी

तर, किन विद्याबाट वञ्चित गर्छौ मलाई

भन्छौ आदि शक्ति दुर्गा हौ तिमी

तर किन शक्तिहीन मानी तिरस्कार गछौ मलाई

भन्छौ सामर्थ्य र धैर्यकी देवी पृथ्वी हौ तिमी

तर किन यसरी यातना दिई सामर्थ्यहीन बनाउँछौ मलाई

भन्छौ पूर्ण चन्द्रमाझैं उजेली र उजागर छौ तिमी

तर किन औंसीको रातझैँ अन्धकारमा राख्छौ मलाई

भन्छौ तिमीबाहेक केही चाहिंदैन मलाई

तर किन दाइजोमा तौलिँदै स्वीकार्छौ मलाई

भन्छौ जे चाहयो त्यही गर्न सक्छौ तिमी

तर किन मेरा चाहना दबाई

एक्लो बनाउँछौ मलाई

भन्छौ महिलालाई सम्मान गर्छौ तिमी

तर किन बारम्बार हिंसा गर्छौ मलाई

भन्छौ लैंङ्गिक समानतामा विश्वास गर्छौ तिमी

तर किन हकअधिकारबाट वञ्चित राख्छौ मलाई

भन्छौ महिलाहरूको मान र प्रतिष्ठा जोगाउँछौ तिमी

तर किन दिवसीय नारामा सीमित राख्छौ मलाई।

के म तिमी जस्तै मानव हैन र?

के अनेकौ हिंसा सहनै पर्ने हो र मैले?

के स्वतन्त्र र सम्मानपूर्वक बाँच्न

अनि खान, खेल्न, बोल्न, हिंड्न र सहभागी हुन

तिम्रो आदेश कुर्नुपर्ने हो र?

यो मेरो भावनाको प्रश्न हो, म महिला कि मानव

जुन दिन यस प्रश्नले तिम्रो कोमल हृदय छुने छ

र त्यस दिन म अधिकार सम्पन्न मानव हुने छु।

प्रकाशित: २५ फाल्गुन २०८० १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App